कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसका १२ केन्द्रीय सदस्यले ५ बुँदे माग अघि सार्दै भने- 'महाधिवेशन हुने सुनिश्चितता गरियोस्'

काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्यहरुले १४ औं महाधिवेशनको सुनिश्चितताका लागि पाँच बुँदे मागसहित पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । १२ जना केन्द्रीय सदस्यहरुले सामूहिक विज्ञप्ति जारी गर्दै अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केन्द्रीय कार्यालयमा धर्ना र अनसन चलिरहनुलाई सुखद मान्न नसकिने भन्दै पार्टीको विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन सुरु हुन नसकेकाप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेसका १२ केन्द्रीय सदस्यले ५ बुँदे माग अघि सार्दै भने- 'महाधिवेशन हुने सुनिश्चितता गरियोस्'

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशनको तालिका संशोधन गरी स्थानीय तहको अधिवेशनहरु पर सारिएकाप्रति समेत ध्यानाकर्षण भएको जनाएका छन् । ‘काठमाण्डौं, मोरङ लगायतका १९ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छैन । र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ । र अधिवेशनको आयोजनामासमेत विभेद भएको छ,’ विज्ञप्तिमा छ ।

नेताहरुले पार्टीको अधिवेशन सुरु भइसक्दा पनि धर्ना र अनसन नरोकिएको भन्दै सबैलाई सम्बोधन गर्दै अघि बढ्न माग गरेका छन् । ‘कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ । यसको अविलम्ब सम्बोधन होस्,’ नेताहरुले भनेका छन् ।

यस्तै, डडेल्धुरामा विधि र प्रक्रिया विपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरु खारेज गरी विधिसम्मत् रुपमा थप भएका क्रियाशील सदस्यहरुको नामावली कायम गरेरमात्र अधिवेशनको प्रक्रिया सुचारु गर्न माग गरेका छन् । कतिपय जिल्लाको अधिवेशन नै पूरा भइसक्दा कतिपयको भने क्रियाशील सदस्यको सूचीसमेत प्रकाशित नहुँदा नेता कार्यकर्तामा मानसिक तनाव भएको भन्दै यथाशिघ्र सदस्यताको सूची सार्वजनिक गर्न माग गरेका छन् ।

त्यस्तै, निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामाले महाधिवेशनलाई अन्योल बनाएको भन्दै नेताहरुले विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् । यादवले दिएको राजीनामा शुक्रबार सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका थिए ।

केन्द्रीय सदस्यहरुले पार्टीका आन्तरिक मामिलाका विषयमा छलफल गर्न तुरुन्तै केन्द्रीय समितिको बैठक बोलाउनसमेत माग गरेका छन् । ‘यी सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन् । कांग्रेसका झण्डै नौ लाख सदस्यहरुको साझा मामला, चिन्ता र सरोकार हुन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘यी सबै विषयहरु निरुपण गरी महाधिवेशनतर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले अविलम्ब केन्द्रीय समितिको बैठक बोलाइयोस् ।’

प्रकाशित : भाद्र २६, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?