कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको पानी चैतभित्र ल्याउने लक्ष्य

काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गरी खानेपानी नियमित आपूर्ति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका हुन् ।

मेलम्चीको पानी चैतभित्र ल्याउने लक्ष्य

गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित हेडवर्क्सलगायतमा क्षति पुर्‍याउनुका साथै करिब ८ किमि सडक संरचना बगाउँदा आयोजना अवरुद्ध छ । मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक बगाउँदा गाडी सञ्चालन हुन सकेका छैनन् । दुई पटकको बाढीले २ अर्ब ४५ करोड रुपैयाँको क्षति पुगेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

यसअघिको सरकारले ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पन्तका अनुसार मेलम्ची आयोजना (पहिलो चरण) का लागि ५७ करोड र याङ्ग्री, लार्के (दोस्रो चरण) का लागि २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । बाढीले पहिलो चरणको आयोजनामा क्षति पुर्‍याएपछि याङ्ग्री र लार्केको बजेट मेलम्चीमै गाभ्न सक्ने सम्भावना रहेको पन्तले बताए ।

‘सडक विभागले सडकको र नेपाली सेनाले पनि आयोजनामा काम गर्ने भन्नेछ,’ उनले भने, ‘बजेटको आकार खास बढ्ने होइन, यताको उतामात्र गरेको हो ।’ वर्षाले आयोजनाका काम गर्न निकै कठिन भएकाले याङ्ग्री र लार्केसमेत प्रभावित भएको आयोजनाले जनाएको छ । वैकल्पिक रूपमा पानी पथान्तरण गर्न बनाइएको कफर ड्याम पूर्णरूपमा क्षति भएको पन्तले बताए ।

अस्थायी तरिकाले पानी पथान्तरण गर्न तत्काल भौतिक तथा पूर्वाधार मन्त्रालय, नदी नियन्त्रणमा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यसअघि आयोजनाले अस्थायी मुख्य बाँधको मुखमा अस्थायी सुरुङ बनाई पानी पठाउने गरेको थियो । ‘हेडवर्क्सलार्ई बाढीपछि बालुवा, गिट्टीले छोपेको छ ।

मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज, तिम्बु र हल्देका मोटरेबल पुल बगाएको छ,’ पन्तले भने, ‘अडिट सुरुङसम्म पुग्न पनि गाह्रो भइराखेको छ ।’ मुहाननजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको थियो । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक चिनियाँ र दुई भारतीयको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २६, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?