२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

बाढीपीडित आफैं आश्रय बनाउँदै

स्कुलमा आश्रय लिएकाहरु भन्छन्– पढाइ सुरू भएपछि कहाँ जाने

परासी — बाढीले घरभरि थुपारेको पाँगो माटो पन्छाउन सुनवल–१० का गोरे परियारलाई तीन दिन लाग्यो । भदौ १० को मध्यरातमा आएको बाढीले घरमा क्षति पुर्‍याएपछि स्थानीय विद्यालयमा आश्रय लिँदै आएका परियार बाढी घटेपछि घर सरसफाइमा लागेका हुन् । 

बाढीपीडित आफैं आश्रय बनाउँदै

घरका भाँडा, फर्निचर र लत्ताकपडा बाढीले बगाएको छ । नबगेका सामान पनि धेरैजसो काम नलाग्ने भएका छन् । तर पनि उनले हिम्मत हारेका छैनन् । बाढीले भत्किएका घर मर्मतका लागि परियारजस्तै गाउँले पनि आफैं लागिपरेका छन् । ‘घरमा भएका सामान कता छन्, पत्तो छैन ।

खाने अन्न र लत्ताकपडा बगाएर लग्यो, खाट र केही कुर्सी बगेका रहेनछन् । धोइपखाली गरेर सुकाएका छौं,’ गोरे दमाईंले भने, ‘नगरपालिकाले स्कुलमा राखेर खान, बस्न दिएको भए पनि सधैंभरि गुजारा चल्दैन । ऋणपान गरेर भए पनि भत्किएको घर मर्मत गरेर बस्ने सुरसारमा छौं ।’

सुनवल–१० खकरीबारीमा तुरिया खोला किनारमा अधिकांश विपन्न र दलित समुदायको बस्ती छ । बस्तीमा खोला पसेपछि उनीहरूको उठीबास भयो । स्थानीय सूर्यबहादुर श्रेष्ठ शारीरिक रूपमा अपांग छन् । घरमा दुई छोराछोरी र श्रीमतीको लालनपालन गर्न नै उनलाई धौधौ थियो । ऋण गरेर बनाएको सानो कच्ची घर बाढीले बगाएपछि उनी अब कसरी घर बनाउने भन्ने चिन्तामा छन् ।

बस्तीबस्ती पुगेर खुद्रा सामान बिक्री गरेर गुजारा चलाउने श्रेष्ठलाई नयाँ घर बनाउन आँट आएको छैन । तर सपरिवार कहाँ बस्ने भन्ने अर्को पिरलो छ । ‘घर बनाउने आर्थिक हैसियत छैन । कोही मनकारीले सहयोग गरेर बास बनाइदिए पनि उपकारै हुन्थ्यो,’ उनले भने, ‘बास भयो भने जसोतसो गुजारा चल्थ्यो ।’

स्थानीय भीमकला सार्कीको खरको छानो भएको घरको अहिले नामोनिसान छैन । भदौ १० गते उनीहरू सपरिवार आफन्तकहाँ बस्न गएका थिए । त्यसै दिन बाढीले कच्ची घर बगाएको हो । अहिले उनीहरू घर बनाउनका लागि काठ र खरको खोजीमा छन् । ‘सरकारले सहयोग गर्‍यो भने ठीकै छ । आफ्नो घर त जसोतसो बनाउन पर्‍यो, सधैंभरि स्कुलमा बसेर हुँदैन । अब स्कुल सुरु भएपछि कहाँ बस्ने भन्ने टुंगो छैन,’ उनले भने, ‘पीडित परिवार सबै मिलेर एकअर्काको काममा सहयोग गरेका छौं । पालैपालो घर सफा गर्ने र मर्मत हुँदै छ ।’

जिल्लाका पाल्हीनन्दन, सरावल, सुस्ताका बाढीपीडित पनि बिस्तारै घर फर्कन थालेका छन् । पानीको सतह घटेपछि घर सरसफाइ गर्ने, मर्मत गर्ने र केही नयाँ सामानको जोहो गरेर जनजीवन सामान्य बनाउने कोसिसमा छन् स्थानीय । सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले पूर्ण रूपमा घर नष्ट भएकाहरूका लागि केही राहत रकम प्रदान गरिने बताए ।

प्रकाशित : भाद्र २५, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?