कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वप्रकाश निधिको टिमबाट महामन्त्री उम्मेदवार ?

नेतृत्वको मैदान अघिल्लो पुस्तालाई छाडेर महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेता
'नेविसंघ अध्यक्ष र पार्टी प्रवक्ताको अनुभवका आधारमा मैले उम्मेदवारी घोषणा गरेको हुँ'
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी जयन्तीको अवसर पारेर बिहीबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुन्दरीजल पुगेर शर्माले उम्मेदवारी घोषणा गरेका हुन् । उनले सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर रुद्राक्षको बिरुवा रोपे, बीपीले रोपेको कपुरको बोटमा पानी हाले, त्यहाँको माटोलाई ढोगे, त्यसपछि उपस्थित कार्यकर्तामाझ आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए ।

विश्वप्रकाश निधिको टिमबाट महामन्त्री उम्मेदवार ?

केही दिनअघि आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका युवा नेता गगन थापापछि शर्माले महामन्त्रीमा आफूलाई अघि सारेका हुन् । थापा र शर्माको घोषणाले ७५ वर्ष उमेर कटेका पहिलो र ६५ देखि ७२ वर्ष तलका दोस्रो पुस्ताका नेतालाई नेतृत्वको मैदान छाडेर आफ्नो उमेर समूहको पुस्ताले १५ औं महाधिवेशनबाट मात्रै नेतृत्वमा दाबी गर्ने सन्देश दिएका छन् । नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङले भने यसैपटक सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

शर्माको उम्मेदवारी घोषणाले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको समूहमा सबैभन्दा बढी हलचल निम्त्याएको छ । देउवा आफैं सभापतिको प्रतिस्पर्धामा छन् । आफ्नो नेतृत्वमा टिम बनाउने गृहकार्य चलिरहेका बेला त्यही टिमका शर्माले उनलाई नपर्खी किन महामन्त्रीको उम्मेदवारी घोषणा गरे ? शर्माका समकालीन युवा नेताका अनुसार संस्थापन पक्षबाट महामन्त्री पाउने सम्भावना न्यून थियो । पार्टीमा दुई जना महामन्त्री हुने व्यवस्था छ । त्यसमा देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र सहमहामन्त्री प्रकाशरण महतमध्येबाटै तान्न चाहिरहेको चर्चा छ । यीबाहेक महामन्त्रीका लागि देउवासँग दाबी गर्ने नेतामा एनपी सावद र रमेश लेखक पनि छन् । उनीहरूको व्यवस्थापन गर्ने अर्को कठिन चुनौती देउवासामु छ ।

सहमहामन्त्री बनाउने कि भन्ने चर्चा चलिरहेकै बेला गत सोमबार शर्माले सभापति देउवालाई भेटेर महामन्त्रीमा उम्मेदवारी दिने जानकारी गराएका थिए । त्यतिबेला देउवाले शर्मालाई न घोषणा नगर्न भन्न सके, न त आफूले महामन्त्री बनाउने बचन नै दिन सके । ‘ए हो—हो’ भन्दै पन्छिए । शर्मा क्याम्पस इकाइको अध्यक्षदेखि सिँढी चढ्दै २०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भए । दुई वर्षभन्दा एक दिन पनि बढी–घटी नेतृत्वमा नरहेका उनले गुरु घिमिरे र गगन थापालाई संघको जिम्मेवारी सुम्पेर कांग्रेसको राजनीतिमा होमिएका थिए ।

केही समय उनलाई जिल्लाबाट माथि आउनै कठिन पर्‍यो । गृहजिल्ला झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग संघर्ष थियो । जिल्लाबाट टकराएको सिटौला र शर्माको राजनीतिक यात्रा केन्द्रमा पनि फरक ध्रुवमा छ । पार्टीमा सिटौला अहिले देउवा र पौडेल दुवै खेमामा छैनन् । उनले १३ औं महाधिवेशनमा आफ्नो नेतृत्वमा महामन्त्री गगन थापा, कोषाध्यक्षमा उमाकान्त चौधरी र केन्द्रीय सदस्यमा प्रदीप पौडेलसहितको टिम अघि सारेका थिए । सभापतिमा पहिलो चरणबाटै बाहिरिएछि दोस्रो चरणमा उनले देउवालाई सघाए । उनकै सहयोगमा देउवा १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएका थिए । त्यसपछि केही समय सिटौला देउवासँगै रहे । २०७४ को निर्वाचनलगत्तै निर्वाचन हार र टिकट वितरणमा गम्भीर विमति राखेर सिटौला देउवा समूहबाट बाहिरिए ।

उनी अलग भएसँगै शर्मा देउवा समूहमा मिसिए । दुईवटा संसदीय निर्वाचन हारेका उनी पार्टीमा १३ औं महाधिवेशनमा पहिलोपल्ट केन्द्रीय सदस्य भएका हुन् । सिटौला बाहिरिएपछि २०७४ पुस २५ मा देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारीमा ल्याएका थिए । उनी प्रवक्ता भएका बेला पार्टीभित्र देउवाको तीव्र आलोचना भइरहेको थियो । २०७४ को निर्वाचनमा पार्टीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाका तीनै तहका निर्वाचनमा पराजय व्यहोरेको थियो । त्यसलाई लिएर पार्टीभित्र विशेषदेखि अर्ली महाधिवेशनका कुरा चर्किएका थिए । निर्वाचनमा पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने भन्दै संस्थापनइतर पक्ष देउवामाथि खनिएको थियो ।

मिडियासँग खरो बोल्ने, कतिपय अवस्थामा आफ्ना निर्णय र अभिव्यक्तिले विवादमा तानिने देउवाको बचाउमा शर्माले ठूलो भूमिका खेलिदिए । जस्तो, तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाउँदा देउवाले सार्वजनिक रूपमा समर्थन जनाएका थिए । रौतहट–२ बाट निर्वाचित आफताव आलमलाई छुटाउनुपर्ने मन्तव्य दिँदा पनि देउवा उत्तिकै आलोचित भए । यस्ता विवादास्पद अभिव्यक्तिमा समेत नेतृत्वलाई सार्वजनिक क्षति हुनबाट बचाउन शर्माले भूमिका खेले । पछिल्लोपल्ट देउवा केही सीमित घेराबाट चल्न लागेको र संस्थापनको टिमबाट आफू महामन्त्रीमा नपर्ने छनक पाएपछि शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रवक्ता र पछिल्लोपटक प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएपछि शर्माले पार्टीको पुरानो र परम्परागत ढर्रालाई बदलेका छन् । पार्टीको प्रणालीलाई डिजिटल हाउसमा रूपान्तरण गरेका छन् । पार्टीका करिब ९ लाख क्रियाशील सदस्यको नाम अहिले संसारको जुनै कुनाबाट पनि हेर्न सकिने भएको छ । ‘महामन्त्री भनेको संगठनको व्यवस्थापन र जनमानसको प्रतिनिधित्व गर्दै समन्वय गर्ने मुख्य जिम्मेवार पद हो । दुई वर्षसम्म नेविसंघको केन्द्रीय अध्यक्ष बनेर मैले संगठन व्यवस्थापनको अनुभव सँगालेको छु । अर्कोतर्फ पार्टीको प्रवक्ता बनेर जनमानसमा प्रतिनिधित्व गर्ने र समन्वय गर्ने भूमिका गरिरहेको छु,’ शर्माले कान्तिपुरसँग भने, ‘यिनै दुईवटा अनुभवको स्केचमा मैले आफूलाई महामन्त्रीको उम्मेदवार घोषणा गरेको हुँ ।’

महामन्त्रीको उम्मेदवारी घोषणा गर्नेबारे उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालालाई जानकारी गराएका थिए । सभापतिका सबै प्रतिस्पर्धी आकांक्षीहरूलाई जानकारी गराएर उम्मेदवार घोषणा गरे पनि शर्माको निकटता सभापति देउवापछि उपसभापति निधिप्रति छ । शर्माले भने कुन टिमबाट लड्ने भन्ने कुरा आफूले तय गरिनसकेको दाबी गरे ।

‘सिटौला फेरि देउवा समूहमै जाने र महामन्त्री पनि नदिने बलियो सम्भावना देखियो,’ शर्मानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘अब उहाँ देउवा समूह छाडेर उपसभापति विमलेन्द्र निधिको नेतृत्वको टिममा जान सक्नुहुन्छ । उहाँ आफैंले हामीहरूसँग सभापतिको टिममा भइनँ भने विमल दाइको टिमबाट महामन्त्रीमा चुनाव लड्छु भनेर भन्नुभएको छ ।’

प्रकाशित : भाद्र २५, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?