१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सत्ता गठबन्धन बैठक : दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी 

बैठकमा मन्त्रिपरिषद् विस्तारदेखि एमसीसीसम्म छलफल
प्रकाश धौलाकोटी

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, संसद सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । नेताहरुबीच दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति समेत भएको छ ।

सत्ता गठबन्धन बैठक : दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी 

बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सबै सत्तारुढ पार्टीका नेताहरुको भने सहभागिता थिएन । तर, प्रधानमन्त्री देउवाले बैठकमा आएका नेताहरुसँग गठबन्धन, सरकार र संसद सञ्चालनका विषयमा छलफल गरेका हुन् ।

‘आन्तरिक झमेलाका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तारमा अलमल भयो । तर, अब ढिलो गर्नुहुँदैन भन्ने सबैको बुझाई छ,’ बैठकपछि एक नेताले भने, ‘आजको बैठकमा मन्त्रिपरिषद्लाई दुई चरण गरेर पूर्णता दिने सहमति भएको छ । केही दिनभित्रै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

माधवकुमार नेपाल र १४ जना संघीय सांसदसहितको पद खारेजीको विषयमा एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लाग्नु अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने नगर्ने भन्ने विषयमा नेताहरुबीच छलफल भएको थियो । सो मुद्दामा अदालतले भदौ २८ गते दुवै पक्षलाई उपस्थित हुन भनेको छ भने आयोगलाई १५ दिनको समय दिएर जवाफ मागेको छ ।

मुद्दाको किनारा लाग्न अझै केही समय लाग्ने भएपछि नेताहरुले तत्काल एकचरण मन्त्रिपरिषद् विस्तार गर्ने र पछि अर्को चरणमा सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । ‘माधवजी र उपेन्द्रजीसँग पनि छलफल भइरहेको छ, सम्भवतः तीन–चार दिनभित्रै एक चरण मन्त्रिपरिषद् विस्तार हुन्छ,’ स्रोतले भन्यो ।

सत्ता गठबन्धनको आन्तरिक झमेलाका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ५९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूणता दिन सकेका छैनन् । बरु मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई लिएर गठबन्धनमै खटपट भने सुरु भइसकेको छ ।

एमसीसी पास गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका थिए । तर, बैठकमा त्यसबारे छलफल नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरे । ‘सरकार र संसद सञ्चालनका विषयमा केन्द्रित भएर छलफल भयो । अझै धेरै संसदीय गतिविधिका विषयमै छलफल भएको हो,’ खड्काले ईकान्तिपुरसँग भने ।

गठबन्धनको मुख्य घटक कांग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा छ । देउवा त्यसैका लागि गृहकार्य गरिरहेका छन् । तर, गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा)ले भने एमसीसीकाबारेमा प्रष्ट धारणा दिइसकेका छैनन् । अर्को समर्थक राष्ट्रिय जनमोर्चाले एमसीसीका विरुद्ध विरोध प्रदर्शन नै गर्दै आएको छ ।

बिहीबारको बैठकमा सरकारका मन्त्रीहरुले संसदमा पेश गर्ने विधेयक र अध्यादेशहरुसहितका विषयमा ब्रिफिङ गरेका थिए । गृहमन्त्री बालकृष्ण खाँणले बैठक संघीय संसदको बैठक सञ्चालन र विचाराधीन विधेयक र अध्यादेशहरु प्रस्तुत गर्ने विषयमा केन्द्रित भएको बताए ।

‘संघीय संसदको बैठक सुरु भयो । सदनमा विचाराधीन भएका विधेयकहरु र अध्यादेशहरुलाई कसरी अगाडि बढाउने ? सत्तारुढ घटककै बीचमा कसरी समन्वय गर्ने र कसरी धारणा बनाउने ? भन्ने विषयमा छलफल हो । त्यससँगै प्रतिपक्षसँग कसरी समन्वय गर्ने ? भन्ने विषयमा पनि आन्तरिक रणनीति बनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘आजको बैठक संसदीय गतिविधिकै विषयमा छलफल भयो । एमसीसीका विषयमा छलफल भएपनि निर्णायक छलफल भएको छैन ।’

मन्त्री खाँणले बैठकमा एमसीसी र उपाध्यक्ष सुमारको भ्रमणको विषयमा समेत कुराकानी भएको बताए । ‘अहिले पनि प्रसंगै नउठेको त होइन । तर, ठोस रुपमा यही गर्ने भन्ने टुंगिएको छैन । गठबन्धनभित्र निर्णायक छलफल हुन बाँकी छ,’ उनले भने ।

एमसीसी पास गर्ने विषयमा कांग्रेसले भने प्रष्ट धारणा बनाएर अघि बढेको सहमहामन्त्री प्रकाशसरण महतले बताए ।

‘हामीले त पहिले पनि स्पष्ट धारणा राखेका हौँ । अहिले पनि हाम्रो धारण प्रष्ट छ । हामीले कुनै पनि विदेशी सहयोग लिँदा समान मापदण्ड अपनाउनुपर्छ भनेका हौँ,’ उनले भने, ‘अहिले एमसीसीका नाममा अनावश्यक धेरै भ्रम र आशंकाहरु उब्जाइएको हो । त्यही कारण सरकारले एमसीसीलाई नै प्रश्न गर्‍यो । ती प्रश्नको जवाफ समेत आइसकेकाले अब धेरै कुरा प्रष्ट भइसकेको छ भन्ने लाग्छ । अब हामी यसलाई अगाडि बढाउछौँ ।’

बिहीबारको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव ढिलो गरी पुगेका थिए । सत्तारुढ पाँच दलका सबै नेतासहितको बैठक भने शुक्रबार बिहान बस्ने बताइएको छ ।

प्रकाशित : भाद्र २४, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?