कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ बीआरआईको ८ वर्षमा कसले के पाए ? (टिप्पणी)

लक्ष्मी लम्साल

बेइजिङ — सन् २०१३ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कजाकस्तान र त्यसपछि इन्डोनेसिया भ्रमणका क्रममा उद्घोष गरेको विश्वव्यापी परियोजना जसलाई हाल संक्षेपमा बीआरआई नामले सम्बोधन गरिन्छ, ८ वर्ष पार गर्दा के दियो, भन्ने विषय अहिले सतहमा छ।

चिनियाँ बीआरआईको ८ वर्षमा कसले के पाए ? (टिप्पणी)

मूलतः परियोजना घोषणा लगत्तै विश्वव्यापी ‘डेब्ट ट्रयाप’को अफवाह फैलिएको थियो । त्यसबाट अहिलेसम्म कति देशले आत्मसमर्पण गरे भन्ने प्रश्न पनि उत्तिकै पेचिलो छ। चीनले के पायो, अरू देशलाई के दियो? बीआरआईको आठौं वार्षिकोत्सवमा यस परियोजनाप्रति चीनले के ठानिरहेको छ र विश्वले के बुझिरहेको छ?

चीनले पूर्णरूपमा समृद्ध समाज निर्माणका साथै अन्य देशको सामान्य विकास तथा समृद्धिमा बढावा दिएको दाबी गर्दै आएको छ । यो अभियानको सूत्र बीआरआई र यससँगको हातेमालो भएको बताउँदै आएको छ । सोझो अर्थमा चीनले बीआरआई नामक एउटा स्वतन्त्र ब्रसले सावधानीपूर्वक पेन्टिङ गर्ने अवस्थामा पुगेको निर्क्योल निकाल्छ । यसै अवधारणाबाट यो परियोजना संसारमै सबैभन्दा ठूलो र व्यापक लोकप्रिय परियोजना बन्दै गइरहेको छ । गत अगष्टको तेस्रो साता बेइजिङमा चीनको राज्यपरिषद्को प्रेस कार्यालयको पत्रकार सम्मेलनमा वाणिज्य उपमन्त्री छियान खमिङले भने, ‘घरेलु तथा बाह्य समाजका लागि चीनले बीआरआईमार्फत् आफ्नो योगदान अविच्छिन्न जारी राखेको छ।’

चीनले बीआरआईमार्फत् आफ्नो कूटनीतिलाई देखिने गरी बाह्य समाजका प्रक्षेपण गरेको एउटा द्योतक पनि हो। यसले ढिलोचाँडो चीन र वरिपरिका मुलुकका लागि योगदान गर्नेछ। कुनै पाँच आयामबाट चीनले आफ्नो परियोजनालाई यसरी नियालिरहेको छ ।

पहिलो त, निर्वाध रूपमा व्यापारिक साझेदारी गहन पारेको छ जसबाट विश्वव्यापी व्यापारिक प्रवाह अविच्छिन्न रह्यो। यसको उदाहरण कोरोना महामारीका बेलामा देखिएको छ । चीनले विभिन्न उत्पादनको आयातलाई बढाएर सीमापार ई-कमर्सजस्तो नयाँ व्यापारिक मोडल सिर्जना गरेको छ । विदेशी गोदामगृहको निर्माण, चीन-यूरोप कार्गो रेल तथा भूमि-समुद्र नयाँ च्यानलको संरचना गरेको छ । सन् २०१३ देखि २०२० को बीचमा चीनले उच्चस्तरीय स्वतन्त्र व्यापार क्षेत्र संजाल बढाउनुका साथै ९.२ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापारिक परिमाण सिर्जना गरेको छ ।

दोस्रो लगानी तथा औद्योगिक आपूर्ति श्रृंखलामा सुधार गर्नमा चीनको योगदान छ । वैदेशिक लगानी सहयोगलाई सुगम पार्दै अन्तर्राष्ट्रिय क्षमता अभिवृद्धि त्रिपक्षीय र बहु-पक्षीय बाजार सहयोग बढाउनका लागि चीनभित्र लगानीका लागि विदेशी कम्पनीलाई ढोका खोल्ने ठाउँमा पुगेको छ । बीआरआईको कारणले खुलापन बढ्दै गएको हो । सन् २०१३ देखि २०२० को बीचमा चीनद्वारा बीआरआईमा संलग्न मुलुकमा गरिएको प्रत्यक्ष वैदेशिक लगानीको परिमाण १३६ बिलियन अमेरिकी डलर पुगेको छ । चीनमा बीआरआई मुलुकद्वारा स्थापित नयाँ उद्यमको संख्या २७ हजार पुगेको छ, जसको वास्तविक लगानी ६० बिलियन अमेरिकी डलर हुन आउँछ ।

तेस्रो सहयोग परियोजनालाई अन्तर-सम्पर्क र अन्तर-सञ्चालनको साझेदारीमा वृद्धि भएको छ भने बीआरआई प्रस्तुतकर्ता चीन र साझेदार मुलुकहरूबीचमा सम्पर्क स्थापित गर्दै हरित परियोजना, सर्वसाधारणको जीवन स्तरोन्नतिका परियोजना निर्माणमा जोड दिएको छ । सन् २०१३ देखि २०२० को बीचमा बीआरआई अन्तर्गतमा परियोजनामा चिनियाँ उद्योगको कूल कारोबार ६४० बिलियन अमेरिकी डलर बराबर छ । सन् २०२० को अन्त्यसम्ममा चिनियाँ कम्पनीले विदेशमा गरेको लगानी ४० बिलियन डलर सम्म पुगेको छ । त्यस क्रममा ४.४ बिलियन कर र ३ लाख ३० हजार रोजगारी सिर्जना गरेको छ ।

चौथो खुला सहयोग मञ्च संयन्त्रको निर्माण । १७२ वटा मुलुक तथा क्षेत्रसँग बीआरआई सम्बद्ध २ सय भन्दा बढी दस्तावेजमा हस्ताक्षर गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार परियोजनामा आउनसक्ने समस्याको व्यवहारिक समाधानका लागि व्यापारिक अवरोध, लगानी, सेवा व्यापार र इकमर्समा सम्बन्धित ९० भन्दा ढी द्विपक्षीय सहयोग संयन्त्रको स्थापना गरेको छ ।

पाँचौ, कोरोना महामारी प्रतिरोधी सहयोगले प्रष्ट्याएको छ कि साझा मानव भाग्य समुदायको निर्माण र मानव जातिको साझा भविष्य भन्ने चिनियाँ प्रस्तावलाई ज्वलन्त बनाएको छ । महामारीको घरेलु मामिला किनारा लगाएर चीनले विदेशतर्फको आफ्नो प्रयास केन्द्रित गरेको देखिन्छ । हालसम्म चीनले १५० देश तथा १३ अन्तर्राष्ट्रिय संगठनलाई आपतकालीन, २०० भन्दा बढी देश र क्षेत्रलाई महामारी प्रतिरोधी सामग्री र १०२ देश र ४ संगठनलाई भ्याक्सिन सहायता गरेको छ जुन अन्य प्रतिष्पर्धी मुलुकहरूले बनाउन नसकेको सूची हो ।

चिनियाँ नेताहरूले पछिल्लो समयमा दोहोर्याउँदै आएको एउटा वाक्य के हो भने बीआरआईको गुणस्तरीय विकास तथा व्यापारिक र आर्थिक सहयोगलाई गहन पार्दै जाने ।

बीआरआईबाट नेपालले के पायो?

बीआरआईले चीनलाई विश्वसँग जोड्ने अभियान चलाएको छ । तर शक्ति राष्ट्रहरूले चीनको बीआरआई उनीहरूलाई घेर्ने संयन्त्र भनेर पनि बुझिरहेका छन् । त्यसैगरी बुझ्नेमा दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारत पनि हो । भारतको सहभागिता नभएका कारण दक्षिण एसियामा बीआआईको आलोक उति चहकिलो हुन नसकेको देखिन्छ ।

बीआरआई अन्तर्गत अफ्रिकाको केन्यास्थित मोम्बासा-नैरोबी रेलवे, एसियन इन्फ्रास्ट्रक्चर इन्वेस्टमेन्ट बैंकको स्थापना हुँदै पाकिस्तानको सिपेक परियोजनासम्म आएर विश्वका विभिन्न मुलुकहरूमा चमक छाइसक्दा नेपालको स्थिति कहाँ पुग्यो भन्ने चासो हुनु स्वाभाविकै हो । यसअघिसम्म उस्तै राजनीतिक चरित्रको कम्युनिष्ट पार्टीको दुई तिहाइको शक्तिशाली सरकार भएकाले बीआरआईका परियोजनाले तीव्रता लिने अपेक्षा गरिएको थियो तर अहिले ठ्याक्कै चीनसँग नमिल्ने राजनीतिक दलको सत्तारोहणले चिनियाँ अभियानमा के कत्तिको दक्खल पर्छ भनेर हेर्न बाँकी छ ।

चिनियाँ लगानीका परियोजनाले नेपालका विभिन्न ठाउँमा जरो गाडेका छन् । ती परियोजनालाई टुंगोमा पुर्याउने वातावरण बनाउने हो, न कि अलपत्र पार्ने । मूलभूत रूपमा हेर्दा चिनियाँ अभिप्रायः आर्थिक, व्यापारिक, लगानीका मुद्दामा देखिन्छ, जसरी दक्षिणी छिमेकीको चासो मुलतः राजनीतिक संरचनामाथि हात हाल्नुमा देखिन्छ । चीनले राजनीतिक वादलाई हेर्दैन, यसले विशुद्ध व्यापारिक वातावरणको खोजी गर्दछ । नेपालले देश र जनताको स्तरोन्नतिका लागि विकासको बाटो पछ्याउनु श्रेयस्कर हुन्छ ।

प्रकाशित : भाद्र २३, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?