कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

काठमाडौँ — वर्षभर उत्कृष्ट कार्यसम्पादन गर्ने ४० कर्मचारीले मंगलबार यस वर्षको निजामती सेवा पुरस्कार पाए । पुरस्कार पाउने धेरैजसो राजधानी काठमाडौंमै कार्यरत छन् । दुई वर्षदेखि कोभिड महामारी नियन्त्रणमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारी भने पुरस्कारका लागि प्राथमिकतामा परेनन् । कतिपय पुरस्कृतहरू मापदण्डविपरीत छनोट भएका छन् ।

फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

हरेक वर्षको भदौ २२ मा मनाइने निजामती सेवा दिवसमा ४१ जना कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था ऐनमा छ । तर निजामती सेवामा कार्यरत करिब ८० हजारमध्ये सर्वोत्कृष्ट कर्मचारी भने फेला पार्न नसकेको ५ वर्ष बितेको छ । पुरस्कार हरेक वर्ष प्रदान गरिए पनि सर्वोत्कृष्ट कर्मचारी छनोट २०७३ सालयता भएको छैन । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली निजामती सेवाका ८० हजार कर्मचारीमध्ये सर्वोत्कृष्ट छैनन् भन्नु गलत हुने बताउँछन् । ‘छनोट हुने व्यक्ति नै नभेट्ने भन्ने कुरै आउँदैन,’ उनले तर्क गरे, ‘बरु छनोट गर्न सकिँदैन भने सर्वसाधारण र नागरिक समाजले पनि मत राख्न सक्ने व्यवस्था गर्न सकिन्छ ।’

सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती गरी पुरस्कारलाई तीन तहमा विभाजन गरेको छ । ऐनमा उल्लेख भएअनुसार १० जना उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको छ । सर्वोत्कृष्ट हुने कर्मचारीले २ लाख, उत्कृष्ट १० जनाले जनही एक/एक लाख पुरस्कार पाउँछन् । निजामती सेवा पुरस्कार पाउने ३० जनालाई भने जनही ५० हजार प्रदान गरिन्छ ।

स्वास्थ्य मन्त्रालयले पुरस्कारका लागि तीन जना कर्मचारीको नाम पठाएकोमा एक जनाले पाएका छन् । मन्त्रालय स्रोतले भन्यो, ‘सकभर तीन जना नबढाउनु भनेकाले सोहीबमोजिम पठाएका थियौं । तर एक जनाको नाम परेछ ।’ उत्कृष्ट पुरस्कार पाउने १० जनामध्ये एकजना नायब सुब्बाबाहेक अन्य अधिकृतदेखि सहसचिवसम्मका छन् । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीबाहेक सबै काठमाडौंका कार्यालयहरूमा कार्यरत छन् । निजामती पुरस्कार पाउने ३० जनामध्ये पनि काठमाडौंमा कार्यरतको संख्या बढी छ ।

देशभरबाट एकजनाले पाउने सर्वोत्कृष्ट पुरस्कारका लागि स्थायी पदमा कम्तीमा १५ वर्ष काम गरेको तथा पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । १५ वर्षयता विभागीय सजायमा नपरेको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा बेरुजु नभएको र नियमित रूपमा सम्पत्ति विवरण पेस गरेको हुनुपर्ने व्यवस्था छ । पुरस्कार सिफारिस हुने अघिल्लो वर्ष र त्यही वर्ष अध्ययन बिदा नलिएको, सिफारिस हुने वर्षमा प्रशासनिक बेरुजु नभएको, पछिल्लो ५ वर्षमा गयलकट्टी नभएको छनोटका मापदण्ड हुन् ।

प्रकाशित : भाद्र २३, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×