गृह मन्त्रालयको विज्ञप्ति तत्काल सच्याउन पत्रकार महासंघको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृह मन्त्रालयको विज्ञप्ति तत्काल सच्याउन पत्रकार महासंघको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले गृह मन्त्रालयद्वारा जारी पछिल्ला दुई विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल सच्याउन माग गरेको छ । 

महासचिव रोसन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ भदौ १८ र २० गतेको विज्ञप्ति संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन माग गरेका हुन् ।

मित्र राष्ट्रको बहानामा सरकारले संविधानले दिएको अधिकार र स्वतन्त्रता खोस्न खोजेको भन्दै नेपाली सञ्‍चारमाध्यम गम्भीर बनेको पनि जनाइएको छ ।

'मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रस्ट छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ,' विज्ञप्तिमा लेखिएको छ, 'महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

महासंघले नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका ती दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको ठहर गरेको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभा सामूहिक हत्या : शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान पठाइयो

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँबाट ६ जना मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार मृतको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि मंगलबार धरान पठाइएको हो । उनीहरुको शव घटना घटेको २४ घन्टापछि मात्रै उठाइएको थियो । 

हत्यापछि घटनास्थल पुगेका प्रहरीले अनुसन्धान सकारात्मक भएको दाबी गरेको छ । हत्याको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ ।

घटना संलग्न नउम्किउन् भनेर प्रहरीले सतर्कता भने धेरै अपनाएको जनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा सोमबारबाटै निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गाउँबाट कसैलाई पनि छिमेकी जिल्ला जान नदिइएको उनले बताए ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान भइरहेको मात्रै प्रहरीले प्रतिक्रिया दिएको छ । घटनामा संलग्न र घटनाको वास्तविकता चाँडै बाहिर ल्याउने प्रहरीले जनाएको छ ।

सामूहिक हत्या भएको संखुवासभाको मादी–१ खोलागाउँस्थित तेजबहादुर कार्कीको घर ।

यसैबीच थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)बाट प्रहरी नायब उपरीक्षकको टोली खटिएको छ । प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरको नेतृत्वमा ३ जनाको टोली घटना स्थल आएको हो । टोली मंगलबार साँझसम्म घटनास्थल पुग्ने छ । लगातारको वार्षात्‌ले कच्ची सडक हिलाम्मे भएकाले टोलीलाई घटनास्थल पुग्न समय लाग्ने छ । टोली घटनास्थल पुग्नासाथ थप अनुसन्धान गर्ने छ ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की उनका आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित : भाद्र २२, २०७८ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×