कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरीघोप्टे वर्षा ‘आकलनभन्दा बाहिरको’

उत्तरपश्चिमी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबार राति नेपालमा जलवाष्पयुक्त वायु एक्कासि प्रवेश गरेपछि ठूलो वर्षा भएको हो 
अब्दुल्लाह मियाँ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल मापन केन्द्रमा रेकर्ड भएको सोमबारको वर्षा १९ वर्षयताकै धेरै हो । सोमबार राति १ बजेदेखि बिहान पौने ८ बजेसम्म केन्द्रमा १२१.५ मिमि वर्षा रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् नीराजन सापकोटाका अनुसार यही केन्द्रमा २३ जुलाई २००२ मा १७७ मिमि वर्षा रेकर्ड भएको थियो । 

आरीघोप्टे वर्षा ‘आकलनभन्दा बाहिरको’

विमानस्थलमा सोमबार रेकर्ड भएको वर्षा मापन केन्द्र स्थापना भएपछिकै तेस्रो ठूलो वर्षा रहेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् । विमानस्थलमा सन् १९६८ देखि जल मापन केन्द्र छ । ३४ वर्षअघि अर्थात् २० अक्टोबर १९८७ मा विमानस्थलमा एक दिनमा १२४.४ मिमि वर्षा भएको थियो । भक्तपुरको नगरकोटमा पनि सोमबार थोरै समयमा ठूलो वर्षा रेकर्ड भएको छ । त्यहाँ सन् १९७१ देखि जल मापन केन्द्र सञ्चालनमा छ ।

कँडेलका अनुसार सोमबार नगरकोट स्टेसनमा रेकर्ड भएको वर्षा मापन सुरु भएयताको पाँचांै ठूलो हो । नगरकोटमा सोमबार ६ घण्टामा १२२.४ मिमि वर्षा रेकर्ड भएको छ । उनका अनुसार १ मिनेटमा १ मिमिभन्दा बढी वर्षा हुनु भनेको भारी वर्षा हो । यस्तो वर्षा एक घण्टा वा त्यसभन्दा बढी समयसम्म भयो भने बाढी, डुबान र पहिरोको जोखिम उच्च हुन्छ ।

नगरकोटमा अहिलेसम्म सबभन्दा बढी सन् १९८६ जुलाई ३१ मा १७९.४ मिमि वर्षा रेकर्ड भएको छ । सन् २००२ जुलाई २३ मा १६१.५, सन् २०१२ सेप्टेम्बर १२ मा १२५.६ र सन् १९९७ जुलाई १ मा १२४.९ मिमि वर्षा भएको थियो । त्यहाँ तीन वर्षअघि (सन् २०१८ जुलाई १२) ११७ मिमि वर्षा रेकर्ड भएको छ ।

विभागका अनुसार उत्तरपश्चिमी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबार राति नेपालमा जलवाष्पयुक्त वायु एक्कासि प्रवेश गरेपछि भारी वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिका लागि काठमाडौंसहित वरिपरिका जिल्लामा भारी वर्षाको खासै आकलन गरेको थिएन । महाशाखाका मौसमविद् मीनकुमार अर्याल केही दिनयता काठमाडौंमा बढेको तापक्रमसँगै स्थानीय वायुमण्डलमा उत्पन्न भएको वायुमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु मिसिएपछि मौसममा आएको बदलावका कारण पनि भारी वर्षा भएको बताउँछन् । ‘स्थानीय स्तरमा रातिदेखि नै बादल विकसित भएपछि मध्यरातदेखि मेघ गर्जनसहित वर्षा सुरु भयो,’ उनले भने, ‘काठमाडौंका विभिन्न स्थान र वरपरका जिल्लामा समेत क्षणभरमै भारी वर्षा भयो, यत्तिको वर्षा हुने हाम्रो आकलन थिएन ।’

काठमाडौं उपत्यकामै पनि सोमबार तल्लो तटीय क्षेत्र (टार क्षेत्र) मा भन्दा उच्च भागमा बढी वर्षा भएको देखिन्छ । मौसमविद् कँडेल यो वर्षको मनसुनी जलवायुको प्रारूप (क्लाइमेट मोडल्स) ले नै उच्च भागतिर बढी वर्षा हुने देखाएको तर्क गर्छिन् । ‘हामीले गत वैशाखमा मनसुन आकलन गर्दा नै उच्च भागतिर बढी वर्षा हुने भनेका थियौं,’ उनले भनिन्, ‘मनसुन सुरु भएदेखि नै हेर्ने हो भने समुद्री सतहदेखि ३–४ हजार मिटरमाथिको भागमा केन्द्रित भएर वर्षा भएको छ ।’ यस वर्ष मनसुन सुरु हुनेबित्तिकै सिन्धुपाल्चोक, गोरखा, मनाङ र मुस्ताङका उच्च भागमा मनसुनी वर्षा सोझिएको थियो । त्यसले ठूलो मात्रामा धनजनको क्षतिसमेत गरेको छ ।

कुनै स्थानमा २४ घण्टामा १५० मिमि वर्षा भयो भने त्यहाँ बाढीपहिरो र डुबानको अत्यधिक सम्भावना हुन्छ । विभागले त्यस्तो अवस्थामा सतर्कता अपनाउन सूचना जारी गर्ने गरेको छ । विभागका अनुसार गत असार २७ (जुलाई ११) मा पनि २४ घण्टामा काठमाडौं (विमानस्थल) मा ९१.४ मिमि वर्षा भएको थियो । यस्तै, १९ असारमा ६६ मिमि र ३० असारमा ५७.३ मिमि वर्षा भएको रेकर्ड छ । रातिदेखि परेको भारी वर्षाका कारण तल्लो तटीय क्षेत्रका जलाधारआसपासका बस्ती र सडक डुबानमा परेका छन् ।

विज्ञहरूले थोरै अवधिमा धेरै पानी खनिने गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरेका छन् । यस्तो चरित्रको वर्षा काठमाडौंबाहेकका क्षेत्रमा पनि भएको छ । जलवायु विज्ञ ङमिन्द्र दाहाल सोमबार परेको वर्षा काठमाडौंका लागि नयाँ रेकर्ड नभए पनि त्यसले पुर्‍याएको क्षति भने नौलो रहेको विश्लेषण गर्छन् । ‘पानीको मात्राअनुुसार उपयुक्त निकास नभएकाले यो अवस्था निम्तिएको हो,’ दाहालले भने, ‘वर्षाले आफ्नो बाटो लिएर बग्ने क्रममा जलाधार क्षेत्र आसपास ढाकेको छ । त्यसैले नयाँ संरचना बनाउँदा पानीको बहावलाई असर नपर्ने गरी बनाउनेतिर ख्याल गर्नुपर्ने हुन्छ ।’ भदौ ११ गते नवलपरासीपूर्वको बतासा भन्ने स्थानमा २४ घण्टामा ४३४.२ मिमि वर्षा भएको थियो । यो परिमाणको वर्षा यस वर्ष मापन गरिएको दैनिक वर्षामध्येमै सबभन्दा बढी हो । त्यसले नवलपरासी पश्चिमको सदरमुकाम परासीसहितका बस्तीहरू र बर्दघाट–बुटवल सडकखण्ड डुबानमा परेको थियो ।

विभागले सोमबार दिउँसो विशेष बुलेटिन निकालेर अझै दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको जनाएको छ । सोमबार रातिबाट मंगलबारसम्म मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान, प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने विभागले आकलन गरेको छ ।

काठमाडौं विमानस्थल (अधिक वर्षा, सन् १९६८ पछिको रेकर्ड)

तह
मिति
वर्षा (मिमि)
पहिलो
२३ जुलाई २००२
१७७
दोस्रो
२० अक्टोबर १९८७
१२४.४
तेस्रो
६ सेप्टेम्बर २०२१
१२१.५
चौथो
११ मे २०१५
११५.५
पाँचौं
१३ जुलाई २०१९
१०३.५
छैटौं
२८ जुलाई १९७२
१०२.८

नगरकोट भक्तपुर (अधिक वर्षा, सन् १९७१ पछिको रेकर्ड)

तह
मिति
वर्षा (मिमि)
पहिलो
३१ जुलाई १९८६
१७९.४
दोस्रो
२३ जुलाई २००२
१६१.५
तेस्रो
१२ सेप्टेम्बर २०१२
१२५.६
चौथो
१ जुलाई १९९७
१२४.९
पाँचौं
६ सेप्टेम्बर २०२१
१२२.४
छैटौं
१२ जुलाई २०१८
११७

प्रकाशित : भाद्र २२, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?