डाक्टरी पढ्न जुम्ला
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जुम्ला — कुनै समय थियो– डाक्टरहरू कर्णाली जान मान्दैनथे । एक जना डाक्टर नपाउने त्यही कर्णालीको जुम्लामा यतिखेर डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाभित्र एमबीबीएस पढाइ थाल्ने भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![डाक्टरी पढ्न जुम्ला](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/karnali-health-academy-1-0792021031504-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
एमबीबीएस पढ्न चाहनेसँग चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिइसकेको छ भने उत्तीर्ण विद्यार्थीलाई एक साताभित्र कलेज छनोट गर्न समय दिइएको छ । आयोगले यसअघि नै प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न २० जनाको कोटा निर्धारण गरिसकेको छ । एक/दुई साताभित्रै डाक्टरी पढ्न विद्यार्थी जुम्ला पुग्ने प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानमा स्नातकोत्तर तहका एमडीजीपी, एमडी पिड्याटिक्स र एमडी एनेस्थेसिया कार्यक्रम सञ्चालन भइरहेको छ ।
‘देशको सुगम ठाउँबाट डाक्टरहरू स्नातकोत्तर गर्न कर्णाली पुगेका छन्, यसलाई कर्णालीको ठूलो उपलब्धि मानेका छौं,’ उनले भने, ‘हिजो डाक्टर नपाउने कर्णालीले अहिले डाक्टरलाई विशेषज्ञ पढाउन थालेको छ ।’ एक साताभित्रै कलेज छनोट गर्ने र दुई साताभित्रै प्रतिष्ठानमा विद्यार्थी भर्ना भइसक्ने प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताए ।
जुम्लामा डाक्टरी पढाइ हुने भएपछि स्थानीय खुसी छन् । ‘कर्णालीमा डाक्टर नबस्दा र औषधि उपचार नपाउँदा कैयौं बिरामीको अकालमा मृत्यु हुन्थ्यो,’ तिला गाउँपालिकाका जंगवीर बुढाले भने, ‘अहिले जस्तोसुकै जटिल बिरामीको शल्यक्रिया पनि यहीँ हुन्छ, यहाँबाट सुगम जिल्लामा डाक्टर जान थालेका छन् ।’
प्रतिष्ठानमा अहिले स्नातक तहको मिडवाफ्री विज्ञानअन्तर्गत बीएमएस, स्नातक जनस्वास्थ्य (बीपीएच), स्नातक क्लिनिकल पोषण, स्नातक फार्मेसीजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रतिष्ठानले एमडी स्त्रीरोग, एमएस हाजजोर्नी, जनरल सर्जरी, एमएन नसिङ र एमएसडी इपिडेमिओलोजीको पाठ्यक्रम तयार गरिसकेको प्रवक्ता भट्टराईले बताए । ती विषय आगामी शैक्षिक सत्रदेखि सुरु गर्ने तयारी छ । प्रतिष्ठानमा ३ सय शय्याको शिक्षण अस्पताल छ । जसमा १२ शय्याको आईसीयू र २४ शय्याको एचडीयू सुरु भएको अस्पताल निर्देशक डा.राजीव शाहले बताए । सीटी स्क्यान, सीआर एक्सरे, अक्सिजन प्लान्ट, पीसीआरलगायतका उपकरण अत्याधुनिक छन् ।
अस्पतालबाट दैनिक झन्डै दुई सय बिरामीले विशेषज्ञ सेवा लिइरहेका छन् । विशेषज्ञसहित ७५ चिकित्सक कार्यरत छन् । प्रतिष्ठानले डाक्टरी पढाइका लागि ४५ प्रतिशत कोटा पिछडिएको क्षेत्रलाई छुट्याएको छ । विद्यार्थीमध्ये २० प्रतिशतले निःशुल्क छात्रवृत्तिमा पढ्न पाउने र २० प्रतिशतलाई आंशिक छात्रवृत्ति छुट्याइएको उपकुलपति डा. रावलले बताए ।
एमबीबीएस अध्ययनको आवश्यक पूर्वाधार तयार गर्न चन्दननाथ नगरपालिका–३ का स्थानीयले प्रतिष्ठानलाई करिब ५ सय रोपनी जग्गा उपलब्ध गराएका थिए । ‘जुम्लाजस्तो दुर्गम ठाउँमा एमबीबीस पढाइ सुरु हुने भयो,’ जग्गादातामध्येका नन्द खत्रीले भने, ‘अब गरिबका छोराछोरी पनि डाक्टर बन्न पाउने भए, कसैको पनि उपचार नपाएर ज्यान जाने छैन ।’
प्रतिष्ठानले यस वर्षदेखि विशेषज्ञ तहको चिकित्सा सेवा पढाउन सुरु गरेपछि डाक्टरहरू जुम्ला पुगेका छन् । आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहका लागि ५ वटा कोटा दिएपछि चैत १ देखि पठनपाठन सुरु भएको हो । भक्तपुरका डा. रहिस कोजू जनरल प्राक्टिस इमर्जेन्सी मेडिसन पढ्न कर्णाली आएका छन् । उनी छात्रवृत्तिमा कर्णालीमा आएर पढ्न थालेका हुन् । ‘कर्णालीमा विशेषज्ञ पढ्न पाइयो, कोर्स सकिएपछि यहाँकै जनताको उपचारमा लाग्छु,’ उनले भने, ‘कर्णालीको ज्ञान कर्णालीमै प्रयोग गर्ने लक्ष्य छ ।’
कपिलवस्तुका डा. वेदकुमार चौधरीले कर्णालीमा स्नातकोत्तर तहको डाक्टरी पढ्न पाउँदा निकै खुसी भएको बताए । ‘पहिलो ब्याचका रूपमा पढाइ सुरु गरेका छौं, यो ब्याचले छिट्टै दक्ष डाक्टर उत्पादन गर्नेछ,’ उनले भने, ‘बाहिर सुन्दा कर्णालीको स्वास्थ्य अवस्था कहालीलाग्दो लाग्छ, तर कर्णालीको स्वास्थ्य सेवा निकै माथि पुगिसक्यो ।’ उनले स्नातकोत्तर तह सकेपछि कर्णालीकै सेवामा खटिने बताए । चिकित्सा शिक्षा आयोगले जनरल प्राक्टिस इमर्जेन्सी मेडिसनमा ३ जना तथा एनेस्थेसिया, क्रिटिकल केयर र पिडाट्रिक्समा १/१ जना पढ्न पाउने गरी प्रतिष्ठानलाई कोटा पठाएको थियो । तीमध्ये अहिले जनरल प्राक्टिसमा २ र एनेस्थेसियामा १ जना भर्ना भएका छन् ।
तत्कालीन कर्णाली अस्पतालबाट सेवा सुरु गरेको प्रतिष्ठानले क्लिनिकल हुँदै अध्ययन अनुसन्धानमा निकै फड्को मारेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताए । ‘अब जुम्ला डाक्टर उत्पादन गर्ने कारखाना बन्दै छ,’ उनले भने, ‘बिरामीले विशेषज्ञ डाक्टर रोजेर गाउँमै गुणस्तरीय उपचार पाइरहेका छन् ।’
प्रकाशित : भाद्र २२, २०७८ ०७:३३