आधा सम्पदा अझै बेहाल

भूकम्पमा क्षति पुगेका ९ सय २० सम्पदामध्ये ४ सय २५ अझै बन्न बाँकी
दामोदर न्यौपाने

काठमाडौँ — सम्पदा पुनर्निर्माणमा समन्वय गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आउँदो पुसमा सकिँदै छ । भूकम्प गएको ६ वर्ष बितिसके पनि आधाजसो सम्पदाको पुनर्निर्माण भने बाँकी नै छन् । कतै प्राचीन स्मारक संरक्षण ऐनविपरीत काम गर्दा त कतै स्थानीय सरकारसँग समन्वय नहुँदा पुनर्निर्माणमा ढिलाइ भएको हो ।

आधा सम्पदा अझै बेहाल

पशुपति क्षेत्रको मुख्य मन्दिरमध्येमा पर्ने विश्वरूपको अझै पुनर्निर्माण थालिएको छैन । मृगस्थलीको पूर्वतिर रहेको यो मन्दिर अहिले भग्नावशेषमा परिणत भएको छ । वरिपरिको भत्किएको गारो त्यत्तिकै छ । बाहिरै ढोकामा ताल्चा लगाएकाले मन्दिरका पुजारी उद्धवप्रसाद उपाध्यायले ६ वर्षयता मन्दिर परिसरभित्र प्रवेश गर्न पाएका पाएका छैनन् । ‘६ वर्षदेखि ताल्चा लगाएको गेटबाहिरै नित्य पूजा गर्छु,’ उनले भने । पशुपति क्षेत्रकै पञ्चदेवलको पनि पुनर्निर्माण सुरु भएको छैन । वृद्धाश्रम सञ्चालन हुँदै आएको यो देवल पनि २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । वृद्धवृद्धाहरू यही क्षतिग्रस्त देवलमै बसिरहेका छन् । यहींको बज्रघरको पुनर्निर्माण पनि थालिएको छैन ।

काठमाडौं उपत्यकामा धरहरालगायतका केही सम्पदाको मात्रै पुनर्निर्माण सकिएका छन् । भूकम्पमा स्थानीय, राष्ट्रिय र विश्वसम्पदा गरी ९ सय २० सम्पदामा क्षति पुगेका थिए । तीमध्ये ४ सय ९५ सम्पदा पुनर्निर्माण भएका छन् । प्राधिकरणले समग्र पुनर्निर्माणको समन्वय गरे पनि सम्पदाको पुनर्निर्माणमा प्राधिकरणबाहेक पुरातत्त्व विभाग, स्थानीय सरकार, दातृ निकाय, स्थानीय समितिसमेत संलग्न छन् । पशुपति क्षेत्रभित्रका ६२ वटा, भारतीय अनुदानमा २८ वटा, एसियाली विकास बैंकको सहयोगमा २०, चीन सरकारको सहयोगमा २, जापान सरकारको सहयोगमा २, श्रीलंकाको सहयोगमा २, युनेस्कोको सहयोगमा २ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेका छन् । ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट’ ले १५ वटा सम्पदा निर्माण गरिरहेको छ ।

पुरातत्त्व विभागका अनुसार क्षतिग्रस्त सम्पदामध्ये ५३ प्रतिशतको मात्र पुनर्निर्माण पूरा भएको छ । विभागले निर्माण गर्ने सम्पदाका लागि १० अर्ब ८ करोड ८५ लाख रुपैयाँ लाग्ने अनुमान छ । यसमध्ये अहिलेसम्म ३ अर्ब ४० करोड ५८ लाख खर्च भएको विभागले जनाएको छ । विश्व सम्पदा क्षेत्रका १ सय ७० सम्पदामा क्षति पुगेकामा हालसम्म १ सय १० वटा पुनर्निर्माण भएका छन् । यो कुल निर्माण संख्याको ६४ दशमलव ७० प्रतिशत हो । चालु आर्थिक वर्षमा ४९ वटा सम्पदा पुनर्निर्माण हुँदै छन् भने ११ वटा सम्पदाको निर्माण सुरु नै भएको छैन । उपत्यकाबाहिर ३ सय ४४ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १ सय ७६ को पुनर्निर्माण भएको छ । चालु आर्थिक वर्षमा २ सय ८८ सम्पदाको पुनर्निर्माण सुरु हुने विभागले जनाएको छ । उपत्यका बाहिर १ सय ३९ सम्पदाको पुनर्निर्माण सुरु नै भएको छैन ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अन्य पुनर्निर्माणभन्दा सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण भएकाले केही ढिलाइ भएको बताए । ‘प्राचीन शैलीमा बनाउनुपर्दा त्यहीअनुसारको ज्ञान भएको जनशक्ति चाहिन्छ, निर्माण सामग्री र प्रविधिमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ,’ गौतमले भने । कतिपय सम्पदा विवादका कारण पुनर्निर्माण हुन सकेका छैनन् भने केही सम्पदामा प्राचीन स्मारक संरक्षण ऐनविपरीत पुनर्निर्माण भएको भन्दै विरोध गरिएको छ । ‘स्वामित्व कसले लिने भन्नेमा पनि विवाद भयो,’ गौतमले भने, ‘स्थानीय सरकार र स्थानीय सरोकारवालाले सहयोग गर्दागर्दै पनि समन्वयको अभावले केही ढिला भएको हो ।’

विश्व सम्पदा क्षेत्रको पुनर्निर्माण छिटो सम्पन्न गर्न युनेस्कोले पटकपटक दबाब दिँदै आएको छ । समयमा सम्पन्न नगरे ती सम्पदालाई खतराको सूचीमा राख्ने उसको चेतावनी छ । विश्व सम्पदा क्षेत्रमध्ये अहिलेसम्म पुनर्निर्माण सम्पन्न भएको बौद्धनाथ मात्र हो । चार वर्षअघि नै त्यसको पुनर्निर्माण गरिएको थियो । नौतले दरबार, दसअवतार मन्दिर, काष्ठमण्डप, माजुदेग गरी ६ सम्पदा निर्माण भइरहेका छन् । शान्तिपुर र ज्ञानमाला भजन घरको पुनर्निर्माण पूरा हुन बाँकी छ । भक्तपुरमा वत्साला मन्दिर, शिलुमहादेव मन्दिर र तब सत्तल निर्माण भइरहेका छन् । पाटनका चारनारायण मन्दिर, हरिशंकर मन्दिर, केशवनारायण चोक, राधाकृष्ण मन्दिर र भीमसेन मन्दिर निर्माणाधीन अवस्थामा छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग र निकायमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको २० औं बैठकले निजी आवासलगायतका कार्य हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको पछिल्लो अवस्था र बहिर्गमन कार्ययोजना प्रस्तुत गरेका थिए ।

निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले हेर्ने निर्णय भएको छ । विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत सञ्चालित गुम्बाको पुनर्निर्माणको जिम्मेवारी पनि लिनेछ । विद्यालय तथा विश्वविद्यालयका भवन पुनर्निर्माणका काम शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाइले गर्नेछन् । पुरातात्त्विक सम्पदा र निर्माण सुरु नभएका एक सय वर्षभन्दा पुराना गुम्बाहरूको पुनर्निर्माण पुरातत्त्व विभागले गर्नेछ । सडक तथा पुल एवं सहरी विकास मन्त्रालय तथा पुरातत्त्व विभागले हेर्नेबाहेकका गुम्बाहरूको पुनर्निर्माण गुम्बा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ ।

प्राधिकरणको कार्यकाल सकिएपछि पनि केन्द्रीय संरचनामा सानो जनशक्ति भने रहनेछ । त्यसले धरहरा, रानीपोखरी, सिंहदरबार र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाको पुनर्निर्माण तथा लेखा परीक्षणका काम गर्नेछ ।

प्रकाशित : भाद्र २०, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?