१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

अस्थिर राजनीति भएको बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : रावल

काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

काठमाडौंमा शनिबार अछामका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको भन्दै अहिले त्यस्तै बेलामा संसद्‌बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

अस्थिर राजनीति भएको बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : रावल

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घरघरमा पुर्‍याउन लागेको पनि उनले भनाइ छ ।

उनले एमसीसी पास गरेर सरकारले देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आहृवान गरे । ‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइँदैछ । नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस्,' उनले भने, 'जसरी बेलायतीहरुले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरुप नभएको उनको भनाइ छ । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उनले बताए । एमसीसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले टिप्पणी गरे ।

सरकारले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने सूचना जारी गरेको भन्दै उनले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा आफूलाई पक्राउ गर्न चुनौती दिए । उनले भने, ‘यो लोकतन्त्र हो कि के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भइसक्यो । लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेमा जेल चलान गरिनेछ,' उनले भने, 'म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भनेँ । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग ।'

नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्रिक व्यवस्था रहेकोले सरकारको धम्कीले कोही नडराउने रावलको भनाइ थियो ।

प्रकाशित : भाद्र १९, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?