कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा सधैं भारतीय ज्यादती

नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटना अनगिन्ती छन् । ज्यादतीजन्य घटना कम भएका पनि छैनन् । पछिल्लो पटक नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको छ ।
प्रदेश ब्युरो

काठमाडौँ — भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा भारतीय पक्षले सहयोग गरेको छैन ।

सीमामा सधैं भारतीय ज्यादती
  • एसएसबीका सुरक्षाकर्मीले २०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गर्‍यो । तर, भारतले गल्ती स्वीकार गरेन । सरकारबाट गौतमलाई सहिद घोषणा गरी परिवारलाई १० लाख दिनेबाहेक अरू भएन ।
  • कास्कीबाट कैलाली गएका बेला ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट २०७४ चैतमा अपहरणमा परे । सुरुमा एसएसबीले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएका उनलाई पछि गायब पारियो । पछि फिरौती असुलको योजनामा भारतीय सुरक्षाकर्मीको संलग्नता खुलेको थियो । चैत १० मा अपहरणमुक्त भएका उनी फिरौती बुझाएर छुटेको आशंका गरिएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटना अनगिन्ती छन् । ज्यादतीजन्य घटना कम भएका पनि छैनन् । पछिल्लो पटक नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको छ । सीमा अतिक्रमण, सीमास्तम्भ गायब, सीमामा अनधिकृत रूपमा संरचना निर्माण जस्ता गतिविधिको विरोधमा नेपालीले आवाज उठाउनेबित्तिकै भारतीय सुरक्षाकर्मीले कुटपिट तथा दुर्व्यवहारका क्रियाकलाप दोहोर्‍याउने गरेका छन् । भारतीय रबैयाको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले बलियो कूटनीतिक पहल पनि गर्न सकेको छैन ।

नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लामो सीमामध्ये २ दर्जनभन्दा बढी जिल्ला भारतसँग जोडिन्छ । दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौंदेखि भारतीय अतिक्रमणमा छन् । अतिक्रमित भूमिलाई समेटेर सरकारले गत वर्ष जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि व्यास–१ छाङरुनजिकै सीतापुलबाट आउजाउ गर्न व्यास क्षेत्रका नेपालीलाई एसएसबीले अवरोध पुर्‍याएको थियो । अपराधजन्य गतिविधिमा संलग्न भएबाहेक सीमा क्षेत्रबाट आउजाउमा दुवै देशका नागरिकलाई रोकटोक गर्नु आफैंमा गैरकानुनी हो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न २०७६ चैतयता सीमा बन्द गरिएपछि भारतीय पक्षबाट ५ दर्जनभन्दा बढी स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) माथि नै आक्रमण प्रयास भए । इलाम, झापा, सप्तरी, पर्सा, सर्लाही, कपिलवस्तुलगायत सीमा क्षेत्रमा भारतीय अतिक्रमण र सहमतिबेगर गैरकानुनी संरचना निर्माणको विरोध जनाउँदा नेपालीले एसएसबीका सुरक्षाकर्मीबाट कुटपिट र दुर्व्यवहार खेप्नुपरेको छ । सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा अजयलाई सीमा संरक्षणमा लागेकै कारण एसएसबीको आड पाएका भारतीयले २०७३ साउन १३ मा आक्रमण गरेका थिए । त्यसको एक वर्षपछि २०७४ असोजमा एसएसबीले यादवलाई फर्जी कसुरमा पक्राउ गरी मुद्दा चलाउन स्थानीय प्रहरीको जिम्मा लगाएको थियो ।

कञ्चनपुरको पुनर्वास–४ मा घरछेउमै गोविन्द गौतमको सालिक छ । छोराको सालिक देख्दा बुबा खेमलालका आँखा सधैं रसाउँछन् । गोविन्दको २०७३ फागुन २६ मा एसएसबीको गोली लागेर मृत्यु भएको थियो । ‘सालिक देख्दा बुबा रोइहाल्नुहुन्छ,’ गोविन्दकी भाइबुहारी राधिकाले भनिन्, ‘उहाँकै कुरा गरिराख्न्हुन्छ ।’

कञ्चनपुरको पुनर्वास–४ कारगिल डाँडानजिकै नेपाली भूभागमा पर्ने बाटोमा ह्युमपाइप राख्ने काम भइरहेको थियो । गोविन्दलगायत स्थानीय बाटो निर्माणमै थिए । एसएसबी भने उक्त ठाउँ भारतीय भूभागमा पर्ने भन्दै बाटो बनाउन अवरोध गरिरहेका थिए । स्थानीयवासीसँग विवाद चर्कियो विवादमै एसएसबीले गोली चलाउँदा गौतमको मृत्यु भएको हो ।

‘सीमामा अहिले पनि एसएसबीको ज्यादती उस्तै छ,’ राधिकाले भनिन्, ‘पारि आउजाउ अहिले पनि बन्द नै छ ।’ गत जेठ अन्तिममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कारगिल डाँडानजिकैको आँपतालको झाडी सफा गर्ने कार्यक्रम थियो । वडाध्यक्षकै उपस्थितिमा झाडी सफा भइरहेको थियो । त्यत्तिकैमा एसएसबीको टोली आएर रोकेको स्थानीय बासिन्दा बिरु कार्कीले बताए । ‘२०५०/५५ सम्म जिल्ला विकास समितिले ठेक्का लगाउने त्यो ताल अहिले एसएसबीले आफ्नै हो भन्छ,’ उनले भने ।

गत बिहीबार भीमदत्त–९ मटेनास्थित दशनामीको अन्तिम संस्कार स्थलमा पनि एसएसबीले अवरोध गरे । भीमदत्त–१५ का एक जनाको मृत्युपछि मटेनामा अन्तिम संस्कार गर्दा दशगजा पर्ने भन्दै रोकेको र पछि सहमतिमै अन्तिम संस्कार गर्न दिएको वडाध्यक्ष राम नाथले बताए । एसएसबीसँग कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा हुलाकी सडक निर्माणका क्रममा देखिएको सीमा विवाद अझै समाधान हुन सकेको छैन । निर्माणाधीन हुलाकी सडक दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले अवरोध गर्दै आएको छ । पछिल्लो पटक गत जेठ अन्तिमतिर निर्माण कार्यमा अवरोध गरेको हो ।

बेलौरी–८ को खप्टी नालादेखि १६ मिटर क्षेत्र दशगजामा पर्ने एसएसबीको दाबी छ । हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘जब कालोपत्रेको तयारी सुरु भयो, त्यसपछि एसएसबीबाट अवरोध हुन थाल्यो ।’ सप्तरीको तिलाठीनजिक दशगजामा भारतीय पक्षले खाँडो नदीको बहाव थुन्ने गरी तटबन्ध निर्माण थाल्यो । त्यही बेला पुगेका थिए, तिलाठीका देवनारायण यादव । नेपाली भूमि मिचेर भइरहेको तटबन्ध निर्माण रोक्न उनले आग्रह मात्रै गरेनन्, प्रतिवादमा उत्रिए । यही घटनालाई लिएर देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरी जेलमा समेत राखेको थियो ।

नेपालतर्फ सप्तरीका भूभागबाट पानीको निकास बन्द हुने गरी भारतीय पक्षले वृक्षरोपण गरेको छ । लिंक रोडको नाम दिइए पनि पानीको बहाव छेक्ने गरी दशगजा जोडेर बनाइएको बाँधमा वृक्षरोपण गरिएको हो । सप्तरी सीमा क्षेत्रबाट ४ सय १३ वटा सीमा स्तम्भ हराएको छ ।

सुस्ता–५ का जाहिद खाँकी आमा बिरामी परिन् । गत जेठ अन्तिम साताको समय थियो, जाहिदले निकै आग्रह गर्दा पनि भारतीय सशस्त्र सीमा बलका जवानहरूले पारि चम्पारनको रौवा बजारमा औषधि लिन जान दिएनन् । उल्टै कुटपिट गरे । २०७६ चैतमा कपिलवस्तुको कृष्णनगर–१२ मानपुर गाउँमा आएर एसएसबीका जवानले पाँच स्थानीय युवालाई कुटपिट गरेका थिए ।

अघिल्लो वर्ष सन्दकपुर, तुम्लिङलगायत क्षेत्रमा एसएसबीले प्रदेश १ सरकारबाट निर्माण थालिएका योजनामा अवरोध गरेको थियो । यस्तो समस्या खासगरी पूर्वी सीमावर्ती सन्दकपुर, कालपोखरी, मानेभन्ज्याङ, पुलखोला, पशुपति फाटक, हिले, छब्बीसेलगायत क्षेत्रमा सीमासम्बन्धी समस्या आउने गरेको छ ।

भवानी भट्ट (कञ्चनपुर), अवधेशकुमार झा (राजविराज), नवीन पौडेल (परासी) र विप्लव भट्टराई (इलाम)

प्रकाशित : भाद्र १९, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?