कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन : काठमाडौंसहित २१ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौँ — कांग्रेसले शुक्रबारबाट १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सुरु गर्दैछ । तर, राजधानी काठमाडौंसहित २१ वटा जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन ।

कांग्रेस महाधिवेशन : काठमाडौंसहित २१ जिल्लामा वडा अधिवेशन अनिश्चित

हरेक वडा क्षेत्रका कांग्रेसका क्रियाशील सदस्यनै सम्बन्धित वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यमध्येबाटै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन हुन्छन् । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । क्रियाशीलको नामावली नै नपाएपछि ती जिल्लाको वडा अधिवेशन कहिले हुने ? भन्ने प्रश्नको जवाफ केन्द्रीय निर्वाचन समितिसँग पनि छैन । समितिले क्रियाशील सदस्यको नामावली प्राप्त भएका ५६ जिल्लामा भने निर्वाचन अधिकृतहरु खटाएर शुक्रबार वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ५६ जिल्लाका ८० प्रतिशत वडाहरुमा अधिवेशन हुने बताए । ‘शुक्रबारबाट वडा अधिवेशन प्रारम्भ हुन्छ । ५६ जिल्लाका ८० प्रतिशत ठाउँमा अधिवेशन हुन्छ । बाँकी ठाउँमा भदौ २६ गतेभित्र भइसक्छ,’ शर्माले भने ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले पनि क्रियाशील सदस्यको नामावली प्राप्त भएका वडाको अधिवेशनको तयारी अघि बढेको बताए । ‘हामीले ५६ वटै जिल्लामा तयारी गरेका छौँ । कतिपय जिल्लाको अवस्थालाई हेरेर अर्को दिन गर्ने मिति तोकिएको छ । यी जिल्लामा २६ भदौभित्र सबै वडामा अधिवेशन भइसक्छ,’ घिमिरेले कान्तिपुरसँग भने । तर, क्रियाशीलको नामावली नै सार्वजनिक नभएका जिल्लाको अधिवेशनबारे भने आफूहरुलाई जानकारी नभएको उनले बताए ।

‘क्रियाशील पाएपछि हामीले प्रक्रिया अघि बढाउने हो । अहिलेसम्म २१ जिल्लाको सदस्यता हामीले पाएका छैनौं । मतदाताको नामावली नै नटुंगिएसम्म त हामीले अधिवेशनको प्रक्रिया अघि बढाउने कुरा पनि भएन,’ घिमिरेले भने, ‘ती जिल्लाका सदस्यको नामावली प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्छ ।’

काग्रेसले प्रदेश नं. २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । सो प्रदेशका आठवटै जिल्लामा विवाद कायमै छ । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन । त्यस्तै, प्रदेश १ को मोरङ, वाग्मती प्रदेशका काठमाडौं, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको विवाद टुंगिएको छैन ।

नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर क्रियाशीलको समाधान भएको भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो । तर, त्यो प्रतिवेदनको कार्यान्वयन गर्ने गरी सम्बन्धित जिल्लाको प्राविधिक काममा ढिलाई भएको नेताहरुको भनाइ छ ।

बिहीबार बिहान रौतहटका नेता कार्यकर्ताले बालुवाटार पुगेर सभापति देउवालाई भेटे । र आफूहरुको समस्या सुनाए । जवाफमा देउवाले अब छिट्टै समस्या समाधान गरी अधिवेशनको प्रक्रिया अघि बढाउने आश्वासनसमेत दिए । तर, तत्कालै विवाद समाधानको सम्भावना नरहेको एक केन्द्रीय सदस्यले बताए । ‘काम धेरै बाँकी छ, तर कहिले ? कसरी ? समाधान भइसक्छ भनेर चाहिँ भन्न सक्दिनँ,’ ती नेताले भने ।

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । त्यसबाहेक सिटौला नेतृत्वको कार्यदलले सहमति गरे बमोजिम कति जना सदस्य थपिएका छन् भन्ने एकिन भएको छैन ।

समयमा महाधिवेशन नगरेका कारण २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने ? भन्ने अन्योल छ । विधान र संविधानको व्यवस्थाबमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरुको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर, कांग्रेसले क्रियाशील सदस्यताको विवादका कारण समयमै महाधिवेशन गर्न सकेन । कम्तिमा त्यो मितिभित्र वडा अधिवेशन सुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउन सकिने भन्दै नेताहरुले १८ भदौदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हुन् । तर, यो मितिमा पनि सबै वडामा एकैसाथ अधिवेशन नहुने भएको हो ।

क्रियाशीलकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो । यसपटक ल्याएको कार्यतालिका चौँथो हो । जसअनुसार काग्रेसले गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ ।

त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

क्रियाशील सार्वजनिक भएका जिल्ला

कांग्रेसले अहिलेसम्म ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, झापा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सुनसरीको सदस्यता सार्वजनिक गरिसकेको छ । यस्तै, दोलखा, मकवानपुर, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर, धादिङ, चितवन, लमजुङ, बागलुङ, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, रुकुमपूर्व, रोल्पा, रुकुम पश्चिम, मुगु, जाजरकोट, अर्घाखाँची, दैलेख र बझाङको सदस्यता सार्वजनिक गरेको छ भने डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, गुल्मी, प्युठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछामको पनि नामावली प्रकाशित गरिसकेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?