कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

विद्यालय खुलाउँदै स्थानीय तह

कोरोना संक्रमणको क्षेत्र वर्गीकरण गरेर कम जोखिमका स्थानमा विद्यालय खोल्न शिक्षा मन्त्रालयको सीसीएमसीमा प्रस्ताव
सुदीप कैनी

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरू महामारी नसकिँदै भौतिक रूपमा सञ्चालन गर्न थालिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट भौतिक उपस्थितिमा नै पठनपाठन थालेको छ । वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालेका हुन् ।

विद्यालय खुलाउँदै स्थानीय तह

प्रदेश २ का सप्तरी, पर्सालगायत अधिकांश जिल्लामा पनि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय निर्णय गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यले बताए । ‘शिक्षक र अभिभावकसँग छलफल गर्दा विद्यालय खोल्नुपर्ने राय सुझाव आयो,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न लागेका हौं ।’

भौतिक दुरी कायम गर्ने/गराउने तथा आवश्यक सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने नगरपालिकाको भनाइ छ । विद्यालयले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वासिलो वातावरण बनाउनुपर्ने नगरपालिकाको शिक्षा शाखाका उपसचिव विजयपसाद आचार्यले बताए । नगरपालिकाले मापदण्ड पालना नगर्ने विद्यालयललाई कारबाही गरिने बताएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिक्षण संस्थालाई भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाएको छ ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालयबाट भने अनुमति लिएको छैन । काठमाडौं उपत्यका अन्य जिल्लामा पनि कतिपय विद्यालयले आफूखुसी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थिति र धेरै विद्यार्थी भएकोमा आलोपालो कक्षा सञ्चालन गरिने गोकर्णेश्वरका प्रशासकीय प्रमुख आचार्यले जनाए । ‘स्कुल बस पनि नचलाउन भनेका छौं,’ उनले थपे, ‘स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै कक्षा सञ्चालन हुन्छ ।’

कक्षा ६ देखि १२ सम्म भौतिक उपस्थितिमा सञ्चालन गराउँदै आएको वीरगन्ज महानगरपालिकाले आगामी सातादेखि कक्षा १ देखि भौतिक रूपमा पठनपाठन गरिने मेयर विजयकुमार सरावगीले जनाए । ‘संक्रमणको जोखिम नदेखेपछि महानगरपालिकाले स्कुल खोल्ने निर्णय लिएको हो,’ उनले भने, ‘आगामी सातादेखि सबै कक्षाको पठनपाठन सुरु गर्छौं ।’ शिक्षा मन्त्रालयले गत वर्ष नै जारी गरेको विद्यालय पुन: सञ्चालन कार्यढाँचाअनुसार कक्षा सञ्चालन गरिएको महानगरले जनाएको छ । गत वर्ष सोही ढाँचाअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका थिए । वीरगन्ज महानगरपालिकाले विद्यालय खोल्ने र बन्द गर्ने निर्णय लिएर जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने गरेको छ । मेयर सरावगीले भने, ‘विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पालिकाको हो, त्यहीअनुसार अवस्थाको विश्लेषण गरेर खोल्ने र निर्णय गर्ने गरेका छौं ।’ संक्रमण कम भएका ठाउँमा विद्यालय खोल्नुपर्ने उनको सुझाव छ । ‘अनलाइन कक्षाबाट पनि प्रभावकारी पढाइ हुन सकेको छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको ख्याल गरेर विद्यालय खोल्नुको अर्को विकल्प छैन ।’

तनहुँस्थित भानु नगरपालिकामा पनि मंगलबारदेखि विद्यालय सञ्चालन गरेको छ । नगर शिक्षा समितिले विद्यार्थी संख्या धेरै भएका विद्यालयमा दुई सिफ्टसहित भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रशासकीय प्रमुख भीमप्रसाद तिवारीले जानकारी दिए । ‘लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा ठूलो क्षति पुगेको निष्कर्ष निकाल्यौं, अहिले संक्रमणको पनि खासै जोखिम देखिएको छैन,’ उनले भने । यीबाहेक देशका दर्जनौं स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न थालेका छन् ।

स्थानीय तहले धमाधम स्कुल सञ्चालनको निर्णय गर्न थालेपछि शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन गर्ने तयारी हुन थालेको जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि विद्यालय सञ्चालनका विषयमा कार्ययोजना माग गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘कोरोना संक्रमण दरअनुसार क्षेत्रहरू वर्गीकरण गरेर लकडाउन गर्ने अवधारणामा छलफल भएको छ,’ उनले भने, ‘त्यही वर्गीकरणअनुसार संक्रमण दर न्यून रहेका ठाउँमा विद्यालय पनि सञ्चालन गर्न सकिन्छ ।’ वैकल्पिक माध्यमलगायत आलोपालो कक्षा सञ्चालन गर्न मन्त्रालयले समेत विद्यालयहरूलाई प्रोत्साहन गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने उनले जनाए । मन्त्रालयले विद्यालय पुन: सञ्चालन गर्दा कार्यविधिको परिपालना गर्न आग्रहसमेत गरेको छ ।

कोभिडको दोस्रो लहर बढ्दै जाँदा वैशाख पहिलो सातादेखि नै बन्द हुन थालेका विद्यालय पुन: सञ्चालन हुन थालेको हो । यो अवधिमा अनलाइन, टेलिफोन, घरदैलोलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल टेलिभिजन र रेडियो नेपालबाट १० कक्षासम्मको पाठ प्रसारण गरेको छ । केन्द्रले निजी टेलिभिजन च्यानलबाट पनि श्रव्य-दृश्य पाठ प्रसारण गर्न आवेदन माग गरिसकिएको छ ।

प्रकाशित : भाद्र १५, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?