कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस धेरै ब्युरोक्रेटिक भयो, म जनताको जीवनसँग जोड्छु : गगन थापा 

काठमाडौँ — कांग्रेसका युवा नेता गगन थापाले केही समयदेखिको अनुमानलाई पूर्णविराम लगाउँदै १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले उम्मेदवारीको घोषणा गरेका हुन् । यसअघि १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको प्रतिस्पर्धी रहेका थिए । त्यस समयमा उनी तेस्रो स्थानमा आएका थिए । महाधिवेशन आउन तीन महिना अघि नै  उनले महामन्त्रीको उम्मेदवारी किन घोषणा गरे ?

कांग्रेस धेरै ब्युरोक्रेटिक भयो, म जनताको जीवनसँग जोड्छु : गगन थापा 

ईकान्तिपुरले थापासँग गरेको संक्षिप्त कुराकानी :

उम्मेदवारी घोषणा गर्नुभयो, महाधिवेशनको अभियान कसरी अगाडि बढ्छ ?

पार्टीभित्रका मेरा समकक्षी साथीहरूसँग एउटा समूहमा काम गरिरहेका छौं । हामी १२–१५ जना केन्द्रीय समितिमा र त्योभन्दा ठूलो संख्यामा बाहिर छौं । उहाँहरूसँग निरन्तर रुपमा कसरी जाने भन्ने विषयमा छलफल गरिरहेका छौं र त्यसमा थप कुरा गर्दै जान्छौं । यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको सभापतित्वमा रहेको समूहबाट महामन्त्रीको प्रतिस्पर्धी भएको हो । त्यसैले मेरो नेता कृष्णप्रसाद सिटौलासँग पनि निरन्तर रुपमा संवादमै छु । उहाँसँग कुराकानी गरेर अघि बढ्छु नै । त्यसबाहेक पार्टीमा थुप्रै सभापतिका उम्मेदवारहरू हुनुहुन्छ । कुनै न कुनै रुपमा सभापतिहरूले बोलाउने र छलफल गरिरहनु भएको हुनाले अहिलेका लागि मेरो उम्मेदवारीको निधो गरेको हुँ । कोसँग जाने, कसरी जाने र अघि बढ्ने भन्ने विषयमा प्रशस्त समय छ छलफल गर्दै जानु छ, कुराकानी अघि बढ्दै जान्छ । त्यसपछि एउटा निधोमा पुग्ने हो ।

तपाईंको सभापतिको उम्मेदवार को हो ? निर्धारण गर्नुभएको छ कि छैन ?

छैन ।

महाधिवेशनको एजेण्डा के हुन्छ ?

पार्टीको महामन्त्रीको भूमिकाबाट हेर्ने हो । यसमा तीनवटा विषय हुन्छन् । नेपाली कांग्रेस पार्टीको स्थापनकालमा यसको जुन प्रकारको दृष्टिकोण थियो, आम पार्टीको जीवन उत्सर्ग गरेको थियो । पार्टी जस्तो नभएर आन्दोलन जस्तो थियो । पार्टी आफैंमा क्रान्तिजस्तो थियो । आज ७० वर्षपछि कांग्रेसमा त्यो तत्त्व हराएको जस्तो भएको छ । यो बढी ब्युरोक्रेटिक भएको छ । फेरि पार्टीलाई एकपटक मिसन, आन्दोलन जस्तो समाजसँग र जनताको जीवनसँग लगेर जोड्ने । कांग्रेसमा आबद्ध हुने विषय नै गौरवको विषय बनाउने हो । पार्टीको महामन्त्रीको रुपमा कांग्रेसलाई त्यसमा कसरी ढाल्न सकिन्छ भनेर काम गर्ने हो ।

अर्को विषय, पार्टीको महामन्त्रीको ठूलो जिम्मेवारी भनेको पार्टीको व्यवस्थापन हो । कांग्रेसको महाधिवेशनभन्दा अघि प्रत्येक पटक देखिने समस्याले हाम्रो पार्टी कति बेथितिमा चलाइरहेका छौं भन्ने योभन्दा ठूलो प्रमाण अरु के हुनसक्छ ? यो रातारात भएको होइन । गएका वर्षहरू हामीले पार्टीलाई थिति र विधिमा चलाउन नसक्दाको समस्या हो । लाखौं पार्टी सदस्य हुने पार्टीको संगठन चलाउने छुट्टै कौशल र क्षमता चाहिन्छ । महामन्त्रीका रुपमा पार्टीलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने प्रयास हुनेछ ।

पार्टी जीवनको महत्त्वपूर्ण विषय भनेको जीवन्तता हो । पार्टी बगेको नदी जस्तो हुनुपर्छ । पुराना साथीहरु उमेरको कारण र प्राकृतिक कारणले बिदा हुँदै गर्दा नयाँ सदस्य थपिनुपर्छ । त्यसैले पार्टीलाई नौजवानहरूको आकर्षण र भरोसाको केन्द्र बनाउनु पर्नेछ । विगत केही वर्षदेखि आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु । जिम्मेवारीमा नुहँदा त्यसको सीमान्त प्रभाव मात्रै परेको छ । मैले महामन्त्रीमा काम गर्दैगर्दा निर्णय, कामबाट युवाहरूलाई आकर्षण गर्नसक्ने र भरोसा गर्नसक्ने पार्टी बनाउने भूमिका हुन्छ ।

जीवन्त पार्टी बनाउनका लागि राजनीतिक विषयले निर्देशित गर्नुपर्ने हुन्छ । राजनीतिक रुपमा के विषयलाई अघि बढाउनुहुन्छ ?

नेपालमा संविधान निर्माण गरेको र त्यसलाई कार्यान्वयन गर्ने विषयलाई प्रत्येक पटक आफ्नो दस्ताबेजहरूमा लेख्दै आएको छ । यसको दाबा गर्छ । ती दाबाहरू त्यस समयमा मात्रै सार्थक हुन्छन् जतिखेर जनता समक्ष गरिएका वाचा पूरा भएको हुन्छ । त्यसमा केही राजनीतिक पक्ष छ । हामीले यो जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउँदै समाजका सबै अन्याय र विभेदलाई हटाउँछौं भनेर वाचा गरेका छौं । त्यो वाचा पूरा गर्नका लागि निष्ठा र क्षमता पनि चाहिन्छ । त्यस समयमा मात्रै हामीले संविधान निर्माण गरेको दाबीको सार्थकता रहन्छ । संविधान निर्माणमा दाबी गर्दा संविधानले वाचा गरेको विषय पूरा गर्न सामर्थ्य भएको कांग्रेस चाहिएको हो । मेरो प्रस्ताव भनेको आन्दोलनमा सहभागी भएको विषयमा गौरव गरेर बस्ने कि त्यो आफूले गरेको वाचालाई पूरा गर्नसक्ने योग्यता, श्रेष्ठता र क्षमता भएको कांग्रेस निर्माण गर्ने कोसिस गर्ने भन्ने हो ।

यसअघिको महाधिवेशनमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । सफल हुन सक्नुभएन । त्यो समय र अहिलेका के फरक छ ?

आजको दिनमा नेपाली कांग्रेसको सभापति रुपमा नेतृत्व गर्न सक्छु वा त्यसका लागि योग्य ठान्छु, तर पार्टी जीवनमा त्यो योग्यताको परीक्षण महाधिवेशनबाट हुन्छ । यसअघिको महाधिवेशनमा महामन्त्रीका रुपमा योग्य रहेको दाबी गर्दा साथीहरूले मलाई प्रतिस्पर्धीको रुपमा स्वीकार गर्नुभयो । त्यो आत्मविश्वास हुँदाहुँदै पनि मैले यो ४–५ वर्षको अवधिमा देशभर भ्रमण गर्दा मेरो मतदाता समेत रहेका साथीहरूले एकपटक महामन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने कुरा नै विभिन्न ढंगबाट राख्नुभयो । उहाँहरूले महामन्त्रीको जिम्मेवारी सम्हालेको हेर्न चाहान्छौं । त्यस पदमा बसेर पार्टीको मुख्य नेतृत्व सम्हाल्न सक्छु भनेर दाबी गरेर मात्रै हुँदैन । पदमै रहेर त्यो कुराको पुष्टि गर्नुपर्छ भन्ने साथीहरूको धारणा रह्यो । महामन्त्रीको प्रतिस्पर्धा गरेपछि देशभर हिँडेको हिँड्यै, घुमेको घुम्यै छु । पार्टीकै काममा छु । मेरो उम्मेदवारीको आधार र विश्वास पनि त्यही हो ।

समकक्षी र पुराना धेरैजना नेतृत्वको दाबी गर्दै आउनुभएको छ । त्यसलाई कति ठूलो चुनौतीको रुपमा लिनुभएको छ ?

पार्टीभित्र अहिले युवाहरूको ठूलो समूह क्रियाशील रहँदै आएका छौं । मुद्दा र नेतृत्वको विषयमा गएको केही समयदेखि सबैसँग छलफलमा रहेको छु । सँगै जानुपर्छ भन्ने कुरा छँदैछ । सँगै जाँदा पनि तिम्रो स्थान महामन्त्री हो भन्ने कुरामा उहाँहरू प्रष्ट हुनुहुन्छ । त्यसैले महामन्त्रीको विषयमा कुनै अप्ठेरो हुन्छ जस्तो लाग्दैन ।

प्रकाशित : भाद्र १४, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?