कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारमा सहभागिताबारे लोसपामा दुईधार 

प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका सत्ता गठबन्धनका अन्य दलका नेताहरूले भने लोसपालाई सरकारमा ल्याउनेबारे चासो दिएका छैनन् ।
जयसिंह महरा

काठमाडौँ — जसपाबाट फुटेर बनेको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा पनि सरकारमा सहभागी हुने/नहुनेबारे बहस सुरु भएको छ । वरिष्ठ नेता शरतसिंह भण्डारी लगायतका केही सांसदहरू विश्वासको मत दिएर देउवालाई समर्थन गरेको हुनाले सरकारमा सहभागिता जनाउनुपर्ने पक्षमा देखिएका छन् । उता अर्का वरिष्ठ नेता राजेन्द्र महतो लगायतका सांसदहरू भने अनिच्छुक छन् । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका सत्ता गठबन्धनका अन्य दलका नेताहरूले भने लोसपालाई सरकारमा ल्याउनेबारे चासो दिएका छैनन् ।

सरकारमा सहभागिताबारे लोसपामा दुईधार 

तर लोसपाभित्र भने सरकारमा सहभागिताको विषयलाई लिएर आन्तरिक चासो भने निकै बढेको छ ।

वरिष्ठ नेता भण्डारीले सरकारमा सहभागीताबारे निर्णय गर्ने र मन्त्रालय लगायतका विषयमा प्रधानमन्त्री लगायतका नेताहरूसँग छलफलको जिम्मा पार्टीले अध्यक्ष ठाकुरलाई लगाएको बताए । ‘सरकारमा सहभागिताबारे सबै कामको जिम्मा अध्यक्ष ठाकुरलाई लगाइएको छ । नीतिगत हिसाबमा यो हाम्रो सरकार हो । सरकार बनाउन भोट हालेको हो,’उनले कान्तिपुरसँग भने, ‘पार्टीले यो सरकारलाई निर्णय गरेर विश्वासको मत पनि हालेको हुनाले हामी सहकार्य गर्न तयार छौं ।’

वरिष्ठ नेता महतोले भने सरकारलाई समर्थन गरेको विपक्षी पार्टी लोसपा भएको प्रतिक्रिया दिए । उनले भने, ‘सरकारलाई समर्थन गरेको, प्रतिपक्षमा छौं हामी । हामीले सरकारलाई बाहिरबाट माग र मुद्दाको आधारमा सरकारलाई समर्थन गरेको हो । सरकारमा सहभागिताका सम्बन्धमा कुनै कुरा भएको छैन ।’

मन्त्री पद बाँडफाँटका लागि सत्तारुढ गठबन्धनमा नै कलह भइरहेको भन्दै महतोले पार्टीलाई सरकारमा सहभागी हुन भनेर प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएको पनि बताए । ‘उनीहरू आफैलाई पुगेको छैन । हामीले लोभ गरेर हुन्छ ? यो कुरा उठाउने बेला भएको छैन,’ महतोले भने ।

देउवा सरकारले अध्यादेश ल्याएर पार्टी गठनका लागि बाटो खोलिदिएकाले लोसपा पार्टीले धन्यवाद दिनुपर्ने भण्डारीको भनाइ छ । प्रधानमन्त्रीले सहयोग गर्नुस् भनेमा पार्टी पछि नहट्ने पनि उनले बताए । अहिलेको सरकारको विरोध गर्ने एजेन्डा पार्टीसँग नभएको पनि उनको तर्क छ । ‘हामीले सरकारको विरोध गर्ने कुनै ठाँउ नै छैन । सरकारले सहयोग गरेको छ, माग–मुद्दा पनि पूरा गर्छु भनेकै छ,’ उनले भने ।

अध्यक्ष महन्थ ठाकुर र महतोले भने वर्तमान सरकारलाई ‘अध्यादेशको सरकार’ भनेर जसपामा रहेको बेला संसद्को रोष्ट्रमबाट आलोचना गरेका थिए ।

लोसपामा अनिल झा पनि सरकारमा सहभागी हुन नहुने पक्षमा रहेको नेताहरूले बताएका छन् । यस विषयमा अध्यक्ष ठाकुरले सबै नेताका कुरा सुनेको तर कुनै निर्णय र पहल नलिएको पनि उनीहरूले बताएका छन् ।

ठाकुरले अहिले केही मन्त्रीका लागि देउवासँग माग गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनबाटै प्रस्ताव आओस् भनेर पर्खिरहेको र सरकारमा जाने लाइनमा रहेका नेताहरूले बताएका छन् ।

सरकारमा सहभागी हुँदा भण्डारीले नेतृत्व गर्ने पनि ती नेताहरूको भनाइ छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराख्ने र राखे पनि लोसपाको भागमा उपप्रधानमन्त्री नपर्ने भएकाले महतोले सरकारमा जान नहुने धारणा राखिरहेको सरकारमा जानुपर्ने पक्षका एक सांसदले बताए ।

सांसदहरू भण्डारी, लक्ष्मणलाल कर्ण, इकबाल मियाा र उमाशंकर अरगरियाले आफूहरू सरकारमा जानुपर्ने पक्षमा रहेको बताएको सांसदहरूले बताएका छन् । ती नेताहरूले सरकारमा जाँदा पार्टी संगठन विस्तारमा सहज हुने भन्दै ठाकुरलाई दबाब पनि दिइरहेका छन् ।

सांसद उमाशंकर अरगरियाले प्रधानमन्त्री देउवालाई आफ्ना मागहरू सम्बोधन गर्ने पक्षमा लाग्नुस् भनेर आग्रह गरिएको बताए । ‘सरकारमा जानेबारे नै त कुरा भएको छैन । हाम्रा मागहरू अगाडि बढाउनुस् भनेर प्रधानमन्त्रीलाई भनेका छौं । उहाँले माग पूरा गर्छु भन्नुभएको छ । नागरिकता विधेयक लगायत अन्य मुद्दाको कुरा हामीले प्रधानमन्त्रीसामू राखेका छौं । उहाँले पनि सकरात्मक छु भन्नुभएको छ,’ उनले भने ।

साउन ११ गते निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाएर पार्टीमा अलपत्र परेको अवस्थामा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी गठनमा सहयोग गरेको कुरालाई पनि देखाएर सरकारमा सहभागिताका लागि पहल गर्नुपर्ने आवाज पनि पार्टीभित्र छ । सरकारमा जानुपर्ने पक्षले अध्यक्ष ठाकुरलाई मन्त्रालय मागेर प्रधानमन्त्री देउवा र गठबन्धनका नेताहरूसँग छलफल गर्नका लागि दबाब दिएको छ ।

प्रकाशित : भाद्र १३, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?