कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा 

सुनिता बराल

महोत्तरी — लगातारको वर्षातपछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् । 

रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा 


पहिल्यैदेखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको तीलगढका स्थानीय लक्ष्मण मण्डलले जानकारी दिए । रातुमा आएको बाढीले प्रत्यक वर्ष सो बस्ती प्रभावित हुने गरेको मण्डलले बताए ।

बस्तीका ९ सय घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । डुबानमा परेको बस्तीमा जोखिममा रहेकाहरूलाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामाग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताए । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने भट्टराईले बताए ।

रातुको बाढीले बर्दिवास–३ स्थित खोलाछेउको धान खेत पनि कटान शुरु गरेको छ । झण्डै १० कठ्ठा धान खेत खोलाले बगाइसकेको स्थानीय डोरमणि पौडेलले जानकारी दिए ।

अझै वर्षा नरोकिए रातु नदीको बाढीले अन्य पालिका हुँदै जलेश्वर समेत डुबानमा पर्ने हुँदा सुरक्षित भएर बस्न पनि प्रजिअ भट्टराईले आग्रह गरेका छन् ।

वर्षामा बाढि आएसँगै जिल्लाका बलवा, बर्दिवास, औरही,महोत्तरी र जलेश्वर लगायतका पालिकामा धेरै बस्तीमा वर्षेनी रातुखोलाले क्षति पुर्‍याउदै आएको छ ।



प्रकाशित : भाद्र ११, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?