लेबनानमा ११ वर्षपछि सजिता स्वतन्त्र- समाचार - कान्तिपुर समाचार

लेबनानमा ११ वर्षपछि सजिता स्वतन्त्र

सुरुवातका २१ महिना घरधनीले तलब दिए, त्यसयताका नौ वर्ष तलब त पाइनन् नै, बँधुवा मजदुर बनेर थुनिनुपर्‍यो
जनकराज सापकोटा

काठमाडौँ — बुधबारको बिहान उनले बिताएका ११ वर्षजस्तो थिएन । सजिता लामाले लेबनानको भूमिमा स्वतन्त्रताको महसुस गरिन् । उखानअनुसार हुन्थ्यो भने त खोला १२ वर्षमा फर्किन्थ्यो तर घरेलु कामदारका रूपमा बँधुवा मजदुर जस्तो जीवनबाट मुक्ति पाउन उनले ११ वर्ष कुर्नुपर्‍यो ।

२०६७ असोज ४ मा वैदेशिक रोजगारीका लागि लेबनान उड्दा जोरपाटी नयाँबस्तीकी लामा २० वर्ष पनि टेकेकी थिइनन् । लेबनान पुगेपछि उनको मासिक तलब थियो जम्मा डेढ सय डलर । सुरुवातका २१ महिना त उनलाई घरधनीले नियमित तलब दियो । घरेलु कामदारलाई बैंकिङ प्रणालीमा पहुँच नदिने भएकाले उनले तलब बुझ्नेबित्तिकै घर पठाउँथिन् । तर त्यसपछिका महिना उनको भागमा घरभित्रको दैनिक १५ घण्टाभन्दा धेरै खटिनुपर्ने कामबाहेक केही परेन । श्रम स्वीकृति लिएर लेबनान उडेकी उनलाई भिसाको अवधि कहिले सकियो र कहिलेबाट आफू अवैध भएँ भन्ने पनि पत्तो भएन ।

लेबनानमा रहेका घरेलु कामदारको अधिकारको विषयमा पैरवी गर्ने समूह ‘दिस इज लेबनान’ले लामा बन्धक रहेको प्रकरणलाई सोमबार सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको थियो । समूहले इन्स्टाग्राममा ‘फ्री सजिता’ भन्दै उनी कसरी घरेलु कामदारका रूपमा बन्धक भइन् र उनको उद्धार प्रयास कसरी घरधनीको असहयोगका कारण रोकिएको छ भनेर लेखेको छ । जसमा दुई दिनमै ३ सय ४५ प्रतिक्रिया आएका छन् । इन्स्टाग्राम पोस्टका अनुसार लामा दुई छोरीका बाबु रिचर्ड खौरे दम्पतीको घरमा कामदारका रूपमा आएकी थिइन् ।

दिस इज लेबनानका अनुसार लामाका घरधनी रिचर्ड आफ्ना दाजुसँग मिलेर लेबनानमा ख्यातिप्राप्त सैलुन चलाउँथे । जहाँ लेबनानका सेलीब्रेटी, गीतकारदेखि फिल्म स्टारहरूसमेत सेवाग्राहीका रूपमा आउँथे । टेलिभिजनमार्फत प्रसारण हुने ‘अरब आइडल’ जस्ता चर्चित रियालिटी सोहरूमा पनि खौरे जोडिएका थिए । सामाजिक रूपमा ख्यातिप्राप्त भए पनि खौरेले लामालाई नियमित तलब दिएनन् । दिस इज लेबनानका संस्थापक दीपेन्द्र उप्रेतीले कान्तिपुरसँगको कुराकानीमा खौरे परिवारले लामाका बारेमा झूटो बताएर र मानसिक त्रास देखाएर बँधुवा कामदार बनाएर राखेको बताए ।

लामा सानै छँदा उनका बाबु बितेका थिए । दिदी रोजगारीका निम्ति पोर्चुगल उडेपछि निरक्षर आमाबाहेक उनको खोजीमा आवाज उठाउने परिवारको सदस्य कोही भएन । लामाका ठूलोबुबा पर्ने सोम लामाका अनुसार दुई वर्षपछि नै उनी सम्पर्क बाहिर रहेपछि परिवारले कहाँ गइन् होला भनेर चासो राखेको थियो । सोमका अनुसार उनीहरूले बेलाबखत फोन गरेपनि घरधनीले फोन नउठाएपछि सजिता कहाँ र कस्तो अवस्थामा छिन् भन्ने पत्तो लागेन । त्यसपछि सोमले भतिजीको खोजी गरिपाउँ भनेर २०७३ फागुन १२ मा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा निवेदन दिएका थिए । विभागले यो पत्र लेबनान हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पठाइदियो । दूतावासले लेबनानस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद घोजायललाई यसबारे बुझ्न लगाए । महावाणिज्यदूतले बुझ्दा डर र त्रासमा रहेकी लामाले आफू ठिकै रहेको बताइन् । जबकि त्यतिबेला पनि उनले तलब नपाएको चार वर्ष बितिसकेको थियो भने उनको भिसा पनि नवीकरण गरिएको थिएन ।

वर्षौंसम्म लामा सम्पर्क बाहिर रहेको खबर दिस इज लेबनानले पाएपछि उनको खोजी फेरि सुरु भएको थियो । सोमले भने ‘मैले असार २८ गते पनि कन्सुलरमा पुरानै व्यहोराको निवदेन दिए । त्यसपछि फेरि खोजी प्रक्रिया बढ्यो ।’ दोस्रो पटक कन्सुलेट अफिसले लामालाई कामदार बनेर बसेको घरबाट ल्यायो । उनीसँगै घरधनी पनि कार्यालय आए । वर्षौंसम्म घरभित्रै थुनिएकी लामाले घरधनीका अघि केही भन्न सकिनन् । दिस इज लेबनानका संस्थापक दीपेन्द्र उप्रेतीले भने, ‘कन्सुलेटको घरेलु कामदारको उद्धार र बयान प्रक्रियासम्मत नै थिएन । घरधनीकै गाडीमा आएर घरधनीविरुद्ध एकैछिनमा वर्षौं थुनिएकी कामदारले कसरी आफूमाथिको खतरा भन्न सक्छ ?’ त्यसो त उपेन्द्रले लामा घरेलु कामदारका रूपमा बन्धक रहेको र उनले आफूलाई बाहिर निकाल्नका रुँदै अनुरोध गरेको भिडियो पनि बाहिर ल्याएका थिए ।

१५ वर्ष लेबनानमा काम गरेर अहिले क्यानडा बस्दै आएका उप्रेतीले लामालाई तलब दिएको प्रमाण घरधनीले दिन नसकेको बताए । न त उनको भिसा अवधि नै थपिएको देखिन्छ । उनले परराष्ट्रको संयन्त्रले प्रभावकारी अनुसन्धान गर्न चुक्दा लामा वर्षौंसम्म घरभित्र बन्धक बन्नुपरेको उप्रेतीले बताए ।

ठूलोबुबा सोमका अनुसार सजितासँग आफन्तको कुराकानी नभएको पनि वर्षौं भएको छ । पछिल्लो फोन कुराकानीमा सजिताले रुँदै आफूलाई उद्धार गर्न भनेको शब्द अहिले पनि उनको कानमा गुन्जिरहन्छ । सोमले भने, ‘अरबी मिसिएको भाषामा उसले भनेकी थिई, ठूलोबा जसरी भए पनि नेपाल झिकाइदिनू ।’

लामालाई छुटाउन सामाजिक सञ्जालमा पनि अभियान सुरु भएको थाहा पाएपछि घरधनीले प्रहरी कार्यालयमा लगेर उनले तलब बुझेको भनेर जबर्जस्ती कागजात पनि गराएको थियो । तर यस्तो कागजात गराउनुपूर्व नै उनका ठूलोबुबा सोमले काठमाडौंस्थित कन्सुलर विभागमा दिएको उजुरी इजिप्टस्थित दूतावास हुँदै लेबनान पुगिसकेको थियो ।

लामा बन्धक भएको प्रकरण सरकारी वकिलको कार्यालयले चासो देखाएपछि बुधबार बिहानै घरधनी खौरेको बाबुको घरबाट उद्धार गरिएको छ । उप्रेतीले भने, ‘अहिले उनलाई सेल्टर हाउसमा राखिएको छ । अब उनको यतिका वर्षदेखि नदिइएको तलब पाउने प्रक्रिया चालेर नेपाल फिर्ता पठाउने काम सुरु हुनेछ ।’

ठूलोबुबा सोमले केही धन कमाएर सुखी जीवन बाँच्ने सपना बोकेर लेबनान उडेकी सजिताको भविष्य झन्डै सधैंका लागि अँध्यारोमा परेको बताए ।

प्रकाशित : भाद्र १०, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाको जेलमा रहेका २६ नेपाली महिला छुटे

थुनामा रहेका बेला संक्रमित भएपछि नेपाल फिर्तीको मिति अनिश्चित
जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको फन्दामा परेर श्रीलंकाको जेलमा पुगेका २६ नेपाली महिलालाई साढे दुई महिनापछि त्यहाँस्थित अदालतले स्वदेश फिर्तीको अनुमति दिएको छ । अदालती अनुमति पाए पनि थुनामा रहेका २६ मध्ये १७ जना कोरोना संक्रमित हुँदा उनीहरूको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

श्रीलंकास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विश्वास भट्टका अनुसार सोमबार मात्रै गाम्पहा जिल्ला अदालतले उनीहरूलाई स्वदेश फिर्तीको अनुमति दिएको हो । ‘अदालतको आदेश लिखित रूपमा पाइसकेका छैनौं तर न्यायाधीशले सबै महिलालाई नेपाल फिर्ताको अनुमति दिइसकेको बुझिएको छ,’ उनले भने ।

गत फागुन पहिलो साता नेपालबाट भारतको बाटो हुँदै श्रीलंका पुर्‍याइएका महिलाहरूलाई अवैध रूपमा खाडीका देशमा घरेलु कामदारका रूपमा राख्न खोजिएको थियो । श्रीलंकाको गाम्पहा जिल्लाको मिनुवाङगोडामा पक्राउ परेका उनीहरूलाई केही साता निगम्बोस्थित जेलमा राखिएको थियो ।

वैशाख पहिलो साता त्यहाँबाट कोलम्बोस्थित विलिकाँडा जेलमा स्थानान्तरण गरिएको थियो । कार्यवाहक राजदूत भट्टका अनुसार १७ संक्रमितलाई गत शुक्रबार मात्रै कारागार विभागअन्तर्गतको अम्बिपुसा क्याम्पमा स्थानान्तरण गरिएको थियो ।

थुनामा रहेकै बखत संक्रमित हुँदा उनीहरूको स्वदेश फिर्तीको मिति अनिश्चित बनेको कार्यवाहक राजदूत भट्टले बताए । नेपाल सरकारले कोरोना संक्रमणको अवस्था भयावह बनेको बुधबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिसकेकाले ती नेपाली महिलाहरूको स्वदेश फिर्ती प्रक्रिया थप जटिल बन्ने देखिएको छ । संक्रमितहरू निको भएपछि चार्टर्ड उडान वा अन्य कुनै उपायबाट नेपाल फर्काउने प्रयत्न चालिने भट्टले बताए । यसअघि पनि श्रीलंका हुँदै तेस्रो देशमा रोजगारीको खोजीमा अवैध रूपमा जान खोज्दा पक्राउ परेका १० महिलालाई फागुन पहिलो साता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खर्च बेहोर्ने गरी नेपाल ल्याएको थियो ।

नेपाल सरकारले २०७३ चैतमा खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि संगठित मानव तस्करले अवैध रूपमा तेस्रो देश हुँदै नेपाली खाडीमा देश पठाइरहेका छन् । कार्यवाहक राजदूत भट्टले पछिल्ला तीन महिनामा मात्रै श्रीलंकामा पक्राउ परेका १५ नेपालीलाई स्वदेश पठाइसकिएको बताए ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×