कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०
टिप्पणी

राजनीतिक दलको ‘समाजवादी’ फुर्को, नव-सम्भ्रान्तको उत्पादन !

कांग्रेस पनि आफूलाई समाजवादी नै भन्छ, कम्युनिष्ट पनि समाजवादी नै ठान्छन्, मधेसवादी दलहरू त आफूलाई झन् खाँटी समाजवादी नै भएको दाबी गर्छन् । तर, सत्ता स्वार्थ र आर्थिक कारोबार यिनीहरूका कर्तुत हरेक बर्ष आउने ट्रान्सरेन्सी र महालेखा परिक्षकमा प्रतिवेदनका पानामा देखिन्छन्, नेता/कार्यकर्ताको वैधानिक आयको स्रोत खुल्दैन ।  समाजवादी कारखानाबाट नवसम्भ्रान्तहरू उत्पादन भइरहेका छन् ।
ध्रुव सिम्खडा

काठमाडौँ — एमालेबाट अलग भएका माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि दिएको निवदेनमा बुधबार निर्वाचन आयोगमा सनाखत भयो । जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले पनि बुधबारै आयोगमा पुगेर सनाखत गर्‍यो । नवगठित यी दुवै पार्टीको एउटा संयोग नाउँको पछाडि ‘समाजवादी ‘फुर्को’ छ । निर्वाचन आयोगमा  नाममै समाजवादी जोडेर यसअघि नै दर्ता भएका  अरु ८ वटा  पार्टी छन् । नाम नजोडेपनि नेपालका  सबै ठूला पार्टीहरू आफुलाई ‘समाजवादी’ भन्छन् । उनीहरूका घोषणा पत्र र भाषणमा ‘समाजवाद’ मोह छ । 

राजनीतिक दलको ‘समाजवादी’ फुर्को, नव-सम्भ्रान्तको उत्पादन !

हुनत संविधानको प्रस्तावनामा नै ‘...कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न ...’ भनी समाजवादप्रतिको प्रतिबद्धता उल्लेख गरिएको छ । यद्यपी दलहरू नयाँ संविधान आएपछि मात्र होइन स्थापनाकालदेखि समाजवादी करार गर्दै आएका छन् ।

सभाजवादी फुर्को जोडेर दलहरूले आफूलाई प्रोजेक्सन गर्ने क्रम बढेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गत आइतबार एउटा ट्विट गरे, ‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ । नयाँ दर्ता भएका दलहरूको नाउँबाट त्यस्तै संकेत मिल्छ । पूँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो । अब बहस होस् कस्तो समाजवाद ? प्रजातान्त्रिक समाजवाद ? वैज्ञानिक समाजवाद ? समावेसी/सहभागितामूलक समाजवाद ?’

पार्टी फुट्दा होस् वा जुट्दा, महाधिवेशन होस वा चुनावी घोषणपत्र जतातनै सभाजवादी फुर्को जोड्ने दलहरू तीन नेता र कार्यकर्ता आफू कति समाजवादी आचरणमा छन् ? प्रश्न यहाँनिर उठेको छ । आम नागरिकले दैनिक पीडा भोग्नुपरेको छ । सामान्य रोजीरोटीका लागि आधार समेत पाएका छैनन् तैपनी दलहरूको समाजवादी ढोल पिट्न छुटेको छैन । समाजवादी कारखाना खोल्ने क्रम रोकिएको छैन । समाजवाद किन यति प्रिय लागेको हो ? यो कस्तो समाजवादी टोपी (सोसलिस्ट क्याप) हो ? जसले जसरी लगाए नि हुने !

कांग्रेस पनि आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ नै भन्छ । कम्युनिष्ट पनि प्रगतिशील समाजवादी भन्छन् । मधेसवादी दलहरू झन् आफूलाई खाँटी समाजवादी ठान्छन् । तर, सत्तास्वार्थ र आर्थिक कारोबारमा यिनीहरू जति अपारदर्शी कोही छैनन् । यिनका नेता/कार्यकर्ताको वैधानिक आयको स्रोत खुल्दैन । यद्यपी, यी जति सम्पन्न र पहुँचवाला कोही छैनन् । यिनको आयस्रोत के हो ? कसरी जुटाइरहेका छन् विलासीपूर्ण जीवन जिउने खर्चबर्च ? यही हो दलहरूको समाजवादी चरित्र ?

केही समयअघि समाजवादी चिन्तक प्रदीप गिरिले एक भेटमा थिए, ‘हाम्रा नेताहरूले एक से एक राजनीतिक उद्योग चलाएका छन् । भारतमा सिने उद्योगका चिर्चित नायक अमिताभ बच्चनको एकछत्र राज चलेजस्तै हाम्रा दलहरूमा पनि अध्यक्ष/सभापतिहरूको एकछत्र राज चलिरहेछ । उहाँहरूको राजनीतिक उद्योग निकै फस्टाएको छ ।’ चिन्तक गिरिले भनेजस्तै हाम्रा राजनीतिक दलहरू समाजवादी होइनन्, उद्योग हुन् । नेताहरूले प्रत्यक्ष नाफाघाटाको हिसाबकिताब गरेर आफ्ना गतिविधिहरू सञ्चालन गर्ने गरेका छन् ।

सबै दल समाजवादी, सबै नेता आदर्शवादी !

नेपाली कांग्रेस: कांग्रेसलाई वामपन्थीहरू पुँजीपतीहरूको पार्टी भन्ने आरोप लगाउँछन् । कांग्रेसको दस्तावेजहरूमा पनि समाजवाद भन्ने थिएन । २०१२ सालमा सम्पन्न वीरगञ्ज महाधिवेशनदेखि मात्र कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी घोषणा गरेको हो । त्यसअघि उसले नागरिक स्वतन्त्रता र प्रजातन्त्रको मात्र कुरा गर्‍थ्यो । सुवर्णशमशेर सभापतिमा निर्वाचित उक्त महाधिवेशनले प्रजातान्त्रिक समाजवादलाई सिद्धान्तकै रुपमा अगाडि सारेको थियो । त्यसयता कांग्रेसले समाजवाद शब्दलाई छाडेको छैन । व्यवहार र आचारण चाहिँ बदलिएको छ ।

आफूले अघि सारेको समाजवादी नीतिबारे कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाले भनेका थिए, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने प्रजातान्त्रिक समाजवाद हुन्छ । प्रजातान्त्रिक समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।’ नेता कोइरालाले आफू २०१६ सालमा प्रधानमन्त्री हुने वित्तिकै योजना आयोगमा हलो जोतिरहेको किसानको तस्बिर राख्न र उसैलाई हेरेर योजना बनाउन योजनाविद्हरूलाई सुझाएका थिए । उनले भनेका थिए, ‘म सबै नेपालीलाई मजस्तै मध्यम वर्गीय परिवारमा बदल्न चाहन्छु । तिनको पनि मेरोजस्तै बस्नको लागि एउटा सानो पक्की घर होस्, बिरामी पर्दा औषधिमूलो गर्न सकून् । बच्चाबच्चीलाई गुणस्तरीय शिक्षा दिन सकून् ।’ तर बिडम्बना उनको दुई तिहाइको निर्वाचित सरकारलाई राजा महेन्द्रले सैनिक ‘कू’ द्वारा अपदस्त गरे । र, उनीलगायत धेरै नेतालाई लामो समय बन्दी बनाए । मुलुकमा दलविहीन पञ्चायत व्यवस्था लागू गरे ।

पञ्चायतकालभरि राजादेखि पञ्चहरू सबैले आफूलाई प्रजातन्त्रवादी नै भनिरहे । जनताको हित गर्न आफूहरूले समाजवादी मोडल अपनाएको दाबी गरिरहे । तर तिनले दाबी गरेअनुसार भनाइ र गराइ मेल नखाँदा २०४६ सालमा आन्दोलनद्वारा पञ्चायत व्यवस्थाले पलट खायो । र, मुलुकमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो । त्यसपछि सत्तामा आएको कांग्रेसले बीपी कोइरालाको समाजवादी थेगो फलाकिरहेको छ । तर व्यवहारमा कहीँ कतै समाजवादको चरित्र देखिँदैन । ‘जसको शक्ति उसको भक्ति’ भनेझैँ बजारमा सबै छाडा छन् । तर कांग्रेसले चिरिएको समाजवादी टोपी ढल्काउन भने छोडेको छैन ।

समाजवादीहरूको विश्व संगठन सोसलिस्ट इन्टरन्यासनलको धरि सदस्य रहेको नेपाली कांग्रेसले अहिले लिएको नीति समाजवाद सुहाउँदो पटक्कै छैन ।

नेकपा एमालेः जनजीविका र समाजवादको मन्त्र जप्न त कम्युनिष्टहरू पण्डित नै कहलाउँछन् । उनीहरू आफूलाई मार्क्सवादी समाजवादी भन्न गर्व गर्छन् ।

वैज्ञानिक समाजवादलाई आफ्नो मूलमन्त्र मान्छन् । तर तिनको व्यवहार सत्तामा गएपछि आमनागरिकले थाहा पाइसकेका छन् । उनीहरूले आफूलाई कांग्रेसभन्दा भिन्न समाजवादीको कोटीमा राख्छन् । गरिब, मजदूर, किसानहरूको दुःख–पीडामा मल्हम लगाउनु नै कम्युनिष्टको कर्तव्य भएको उल्लेख गर्ने नेपाली कम्युनिष्टहरूको व्यवहार भने ठीक उल्टो देखिन्छ ।

‘सर्वहाराको गुमाउनको लागि केही हुँदैन, जिते संसार जितिन्छ’ र ‘सर्वहाराको शासन स्थापना गरिन्छ’ भन्ने कम्युनिष्ट मुलमन्त्र एमालेले पनि घोकेको छ । समाजवादलाई ‘ट्रेडमार्क’ बनाएको एमाले कति समाजवादी छ, निकट विगतको सरकार र त्यसले गरेका कारवाहीबाटै घामजत्तिकै छर्लङ्ग छ ।

माओवादी केन्द्रः माओवादीहरू आफूलाई एमाले र अन्य कम्युनिष्ट घटकहरूभन्दा बढी नै प्रगतिशील र समाजवादी ठान्छन् । जनताको जनजीविका हल गर्ने एकमात्र उद्देश्य भएको सगर्व उद्घोष गर्छन् । तर व्यवहारमा आकाश–जमीनको अन्तर छ ।

रातो पृष्ठभूमिमा समाजवाद झल्कने मीठामीठा गीतहरू गाउँदै जनताका घरदैलोमा पुगेका उनीहरू काठमाडौं छिरेपछि बदलिएका छन् । सुकिला, मुकिला वर्गमा रुपान्तरण भएका छन् । सबैलाई राज्यको स्रोतमा समान अवसर र वितरणमा समानता हुने सपना बाँडेका उनी अहिले सुविधा स्रोत आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेका छन् । महलमा बस्ने, करोड बढीका गाडी चढ्ने, स्टार होटलमा लन्च/डिनर गर्ने नव सम्भ्रान्तमा रुपान्तरण भएका छन् । जनता आफूतिर एकोहोरिइसकेपछि ‘सर्वहाराको सत्ता’को माथिल्लो ओहोदामा पुगेपछि ‘एनिमल फार्म’ का लेखक जर्ज अरवेलले भनेझैँ ‘सबै जनावरहरू बराबर छन् तर केही जनावरहरू अरुभन्दा बढी बराबर छन् ।’ अर्थात् ‘अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल द्यान अदर्स’ भनेजस्तो भएको छ । अहिले सत्तारूढ कम्युनिष्ट पार्टीका नेता र किनारीकृत हुनपुगेका कार्यकर्ताहरूको हविगत बीचको भिन्नता अरवेलले भनेजस्तै छ ।

जनता समाजवादी पार्टीः २०६२/६३ सालको आन्दोलनसँगै क्षेत्रीय र ससाना दलहरू जन्मने क्रम बढेको देखिन्छ । खासगरी मधेस आन्दोलनपछि मधेसकेन्द्रित दलहरू अस्तित्वमा आए । उनीहरू पनि आफूलाई लोकतन्त्र र समाजवादको असली जोदाहाको रूपमा अगाडि सार्छन् । नामै समाजवादी राखेका छन् । बैज्ञानिक समाजवादको नारा लगायत हिंसात्मक विद्रोहको पृष्ठभूमिबाट आएका बाबुराम भट्टराई समेत यही पार्टीमा अटाएका छन् ।

एकीकृत समाजवादी/लोसपा : बुधबार मात्र निर्वाचन आयोगमा सनाखत गराएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको लक्ष्य पनि समाजवाद नै छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई अबलम्बन गर्दै वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपा प्रजातान्त्रिक समाजवादको निकट धारणा राख्छ । पुराना दलबाट फुटेका यिनीहरूले खोलेको पनि समाजवादी कारखाना नै हो ।

समाजवादका बाह्य अनुभव

भारतका जवाहरलाल नेहरू, महात्मा गान्धी, जयप्रकाश नारायण, राम मनोहर लोहिया सबैले आफूलाई समाजवादी नै भन्थे । त्यसैले भारतले आफूलाई समाजवादी मुलुक नै भएको दाबी गर्छ । प्राध्यापक अभि सुवेदीका अनुसार मार्क्सवाद धरापमा पर्न थालेपछि आफूलाई मार्क्सवादी भन्नेहरूले समाजवादी भन्न थालेका हुन् । नेहरू, इन्डोनेसियाका सुकार्नोदेखि बीपी सबैले त्यसै भएर आफूलाई समाजवादी भनेका हुन् । उनी भन्छन्, ‘समाजवाद बडो स्वादिलो शब्द हो जसको प्रयोग गरेर जनतालाई सजिलै झुक्याउन सकिन्छ ।’

चीनमा त माओ त्से तुङले समाजवाद स्थापनाको लागि भन्दै क्रान्ति नै गरे । सत्तामा पुगे । तर उनको कार्यकालमा पनि मुलुकले चाहे जति उन्नति गर्न सकेन । जब सन् १९७८ मा देङ सियाओ पीङले खुला नीति अघि सारे आज चीन त्यही नीतिको अनुसरण गरेर उन्नतिको शिखर चुम्दैछ । जापानीहरूले लिवरल डिमोक्रेसीमार्फत् मुलुकलाई समृद्ध बनाए ।

क्युवा र उत्तर कोरियाले पनि आफूलाई समाजवादी राष्ट्र नै घोषणा गरेका छन् । तर त्यसलाई विश्वजगत्ले मान्दैन । किनकि, त्यहाँभित्र न स्वतन्त्रता छ न समानता । त्यसैले त्यस्ता मुलुकलाई समाजवादी कसीभित्र पर्दैनन् ।

युरोप, अमेरिकालाई साम्यवादीहरू पुँजीवादी राष्ट्र भनी आरोप लगाउँछन् । तर त्यहाँ पुँजीवादसँगै समाजवादका गुणहरू पाइन्छन् । उत्पादनलाई राज्यले गुणस्तरीय ढंगबाट आममानिसको पहुँचमा पुर्‍याउन सहयोगीको भूमिका खेलेको पाइन्छ । ‘तर, नेपाल न समाजवादी हो न पुँजीवादी, केवल अराजकतावादी राष्ट्र हो’ अर्थशास्त्री प्राध्यापक विश्वम्भर प्याकुर्‍याल भन्छन्, ‘यहाँ कुनै पनि राजनीतिक दल समाजवादी छैनन्, सबै अराजकतावादी हुन् ।’

नेपालका दलहरू समाजवादी नै हुन् त ?

दस्तावेज र नीतिमा प्रायः सबै राजनीतिक दल समाजवादी हुन् । तर, व्यवहारमा उनीहरू अपारदर्शी छन् । सिंहदरबारदेखि वडासम्म जताततै भ्रष्टाचार व्याप्त छ । जनप्रतिनिधिहरू आफ्नो सुविधा बढाउन उद्यत देखिन्छन् । केही दिनअघिमात्र महालेखा परीक्षकको प्रतिवेदनले भ्रष्टाचारको डरलाग्दो तस्बिर सार्वजनिक गरेको छ । सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार झाँगिएको बेरूजूको बडेमानको ठेली महालेखाले सार्वजनिक गरेसँगै शासनीय नेतृत्व सम्हाल्ने नेता र दलहरूका समाजवादी छवि छरपस्ट भएका हुन् । भ्रष्टाचारी, अहंकारी, राज्यधनको दोहन गर्नेहरू समाजवादी हुन सक्छन् ? के यस्ता नेताहरूले नेतृत्व गरेका दलहरू समाजवादी हुन सक्छन् ? ठेकेदार, विचौलिया र कर माफियाहरूको चंगुलमा फसेका पार्टीहरू समाजवादी हुनसक्छन् कि सक्दैनन् ? अबको बहस यतातिर हुनुपर्ने अवस्था छ । समाजवादी टोपी लगाएर मात्र हुँदैन, व्यवहार पनि समाजवाद सुहाउँदो हुनुपर्छ । भाषणमा मात्रै समाजवाद, समाजवाद भनेर चिच्याएर हुँदैन, व्यवहारमा पनि साँच्चै समाजवादी हुन सक्नु पर्छ ।


कस्ता हुन्छन् त समाजवादी ? कस्तो हुन्छ समाजवादी राष्ट्रको चरित्र ? अर्थशास्त्री तथा प्राध्यापक प्याकुर्‍याल भन्छन्, ‘स्रोतमात्र भएर हुँदैन, त्यसमा आममानिसको पहुँच पनि हुनुपर्छ । समाजवादी राष्ट्रमा आममानिसले अवसरसँगै पहुँच पनि पाएका हुन्छन् ।’ उनका अनुसार उदारवादको नाउँमा छाडावाद हुनुहुँदैन । ‘बजारलाई राज्यले अनुगमन गर्छ । विश्वभरका मुलुकहरू चाहे समाजवादी हुन् या पुँजीवादी बजार छाडा हुँदैनन् । तिनीहरूले राज्यको ऐन, नियम र कानुनको परिधिभित्रै रहेर आफूलाई सञ्चालन गर्नु पर्छ । नेपालमात्र यस्तो मुलुक हो जहाँ बजारलाई कसैले अनुगमन र नियन्त्रण गर्दैन,’ प्राध्यापक प्याकुर्‍यालले भने ।

तस्बिरहरु: कान्तिपुर अर्काइभ

प्रकाशित : भाद्र ९, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?