कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सभामुखलाई धम्क्याएको भन्दै एमालेप्रति सत्ता गठबन्धनको आपत्ति 

काठमाडौँ — सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ ।
माओवादी संसदीय दलको कार्यालयमा सत्तारुढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

सभामुखलाई धम्क्याएको भन्दै एमालेप्रति सत्ता गठबन्धनको आपत्ति 

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलकी नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले सभामुखलाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीको नेतृत्वमा भदौ ३ र ४ गते एमालेका सांसद सभामुखको कार्यकक्षमा गएका थिए । माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट मुक्त गरेको सूचना जारी गर्नका लागि सभामुखलाई दबाब दिन उनीहरू त्यहाँ गएका थिए । सभामुखले प्रक्रिया पूरा गरेर कानुनअनुसार गर्न अध्ययन गरिरहेको बताएका थिए ।

छिटो सूचना जारी नगरे सभामुखविरुद्ध बल प्रयोग गर्ने चेतावनी महेश बस्नेतले दिएका थिए भने सचेतक शान्ता चौधरीले छिटो माधव नेपालहरूलाई पदमुक्तको सूचना जारी नगरे अनशन बस्ने चेतावनी दिएकी थिइन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले १४ जनालाई पदमुक्त नगरै संसद् चल्न नदिने चेतावनी दिएका थिए ।

सत्तारुढ गठबन्धनले भने त्यसरी दबाब दिनु संसदीय मर्यादा विपरीत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

'सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुखलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरूमा सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' सत्तारुढ गठबन्धनको विज्ञप्तिमा भनिएको छ ।

सभामुखप्रति प्रमुख विपक्षी दलका सांसदहरूले देखाएको व्यवहारविरुद्ध सत्तारुढ दलहरू अगाडि आउनुपरेको माओवादी प्रमुख सचेतक देव गुरुङले बताए ।

प्रकाशित : भाद्र ७, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?