कांग्रेस महाधिवेशन : क्रियाशीलको विवाद टुंग्याउन सकस- समाचार - कान्तिपुर समाचार

कांग्रेस महाधिवेशन : क्रियाशीलको विवाद टुंग्याउन सकस

आइतबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कार्यदलले बसेर सहमतिको खोजी गरिने र बेलुकासम्म सभापतिलाई बुझाउने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले साताअघि बनाएको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार अब वडा तहको अधिवेशन हुन ११ दिनमात्रै बाँकी छ । तर, अधिवेशनमा ती वडाका मतदाता को–को हुने ? अझै निर्क्योल भइसकेको छैन । नेताहरूलाई सदस्यताको विषयमा उठेका विवाद मिलाउन हम्मेहम्मे परेको छ ।

अधिवेशन आउन ११ दिन मात्रै बाँकी हुँदासमेत मतदाताको नामावली नपाएपछि निर्वाचन समिति अलमलमा परेको छ ।

गत शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र नेता रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई सदस्यताको विवाद मिलाउने जिम्मेवारी दिएको थियो । तर, त्यो कार्यदलले अहिलेसम्म अन्तिम जुटाउन सकेको छैन ।

कार्यदलमा निरन्तर छलफलपछि त्यसलाई टुंगोमा पुर्‍याउन आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कार्यदलले बसेर सहमतिको खोजी गरिने र बेलुकासम्म सभापतिलाई बुझाउने तयारी रहेको कार्यदलका सदस्य रमेश लेखकले बताए । यसअघि शुक्रबार पनि कार्यदलका सदस्यहरूले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग पनि छलफल गरेका थिए ।

विवाद समाधानका लागि क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू समेत खटिरहेका छन् । संस्थापन र संस्थापन इत्तर पक्षका बीच सदस्यताका विषयमा समान धारणा नबन्दा विवाद सुल्झिएको छैन । नेताहरूलाई विवाद समाधानका लागि ठाँउैपिच्छे फरक–फरक मापदण्ड बनाउनुपर्ने अवस्था बनेको छ । सदस्यताको विवाद नसुल्झिएका कारण नेताहरूले अझैपनि क्रियाशील सदस्यता नवीकरण छुट भएको भए १० भदौसम्म त्यस्तो नवीकरण गरिदिने निर्णय गरेका छन् । एक नेताकाअनुसार अहिले छुटेको नवीकरण समेत भइरहेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । समितिका सदस्य प्रदीप पौडेलकाअनुसार यीबाहेक विवादित सदस्यको संख्या करिब ४ प्रतिशतमात्रै हो । नेताहरूले चाहेको भए त्यो विवादलाई स्थगित गरेर पनि महाविधेशनको प्रक्रिया अघि बढाउन सक्थे । तर, सीमित ठाउँको विवादलाई लिएर नेताहरूले अडान लिनुलाई कतिपय नेता कार्यकर्ताले पुनः महाधिवेशन नगराउने जालझेलका रुपमा समेत अर्थ्याएका छन् ।

छानबिन समितिले प्रक्रिया पुगेको सबै क्षेत्रको नवीकरण र मापदण्डबमोजिमको नयाँ सदस्यताको छानबिन गरेको थियो । समितिले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको हकमा देखिएका विवाद समाधान गर्न शीर्ष नेताहरूलाई जिम्मा लगाएको थियो । तर, शीर्ष नेताहरूले समेत लामो समयसम्म छलफल गर्दा पनि ती विवाद समाधान गर्न नसकेपछि कार्यदल बनाएर समाधानको जिम्मा दिएका हुन् । तर, कार्यदलले पनि त्यस्तो विवाद समाधान गर्ने सम्बन्धमा समान धारणा बनाउन सकेको छैन । ‘कतिपय वडामा पुराना सदस्यभन्दा धेरै अन्य राजनीतिक दलबाट आएका सदस्यहरूको सदस्यता थप भएको छ, त्यस्तोमा पुरानाको संख्याभन्दा बढी नहुने गरी थप गर्ने सैद्धान्तिक सहमति भएको छ, तर यो पनि सबै ठाउँमा लागु हुने अवस्था छैन,’ ती नेताले भने ।

कार्यतालिकाअनुसार २ भदौमा सदस्यताको अन्तिम टुंगो लाग्नुपर्ने हो । त्यस्तो सदस्यताको विवरण तयार भएपछि सभापतिले अधिवेशनका लागि अन्तिम मतदाता नामावलीका रुपमा केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि मात्रै निर्वाचनको प्रक्रिया सुरु हुन्छ । निर्वाचन समितिले अधिवेशनअघि देशभरका ६ हजार ७ सय ४३ वडामा नामावली, विधान, निर्देशिका र अन्य कागजातसहित मतदान अधिकृतहरू खटाउनुपर्ने हुन्छ । क्रियाशील सदस्यको नामावली नै अहिलेसम्म प्राप्त नभएकाले निर्वाचन समिति अलमलमा परेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए । ‘हामीले अरु सबै तयारी पुरा गरेका छौं । तर, सदस्यताको नामावली नै छैन । मुख्य कुरा नै त्यही हो । मतदाता नामावली नै नपाएपछि हामीले के गर्ने ?,’ यादवले इकान्तिपुरसँग भने, ‘नामावली पाउने वित्तिकै अरु काम त भइहाल्छ ।’

महामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार निर्वाचन समितिसँगको छलफलमा अब कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने अवस्था भएकाले तयारीलाई अघि बढाउन निर्देशन दिएका थिए । ‘सभापति पनि महाधिवेशन गर्ने विषयमा सकारात्मक हुनुहुन्छ । त्यसैले अब सदस्यताको टुंगो लाग्ने वित्तिकै अरु प्रक्रियामा ढिलाई गर्नुहुन्न, कहाँ कस्तो तयारी गर्नुपर्छ ? सबै काम अघि बढाउनुहोला,’ खड्काले निर्देशन गरेको उदृत गर्दै निर्वाचन समितिका एक सदस्यले भने ।

खड्काको निर्देशन बमोजिम निर्वाचन समितिले पनि सबै तयारी अघि बढाएको उनले बताए । समितिले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाउने अन्तिम तयारी गरेको छ । ‘हरेक जिल्लामा एक–एक जना निर्वाचन अधिकृत यहाँबाट पठाउँछौं । सदस्यताको विवरण पाउने वित्तिकै हामी उहाँहरूलाई खटाउँछौं,’ समितिका संयोजक यादवले भने । खड्काले १० गतेभित्र जिल्ला–जिल्लामा निर्वाचन अधिकृतहरू पुग्नेगरी तयारी गर्न निर्देशन दिएका थिए ।

त्यसरी जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूले सम्बन्धित जिल्लाका सबै वडामा मतदान अधिकृतहरू परिचालन गर्नेछन् ।

निर्वाचन अधिकृतहरू खटाउँदा उनीहरूसँगै विधान, निर्देशिका, सदस्यको नामावली, निर्वाचित पदाधिकारीका लागि प्रमाण–पत्र लगायत कागजातसमेत केन्द्रबाटै पठाउने तयारी छ । ‘हामीले करिब आठ हजार विधान, निर्देशिका छाप्छौं । त्यस्तै, करिब तीन लाखभन्दा धेरै त प्रमाण–पत्र आवश्यक पर्छ, त्यो पनि छपाई हुदैछ,’ निर्वाचन समितिका संयोजक यादवले भने ।

कांग्रेसले आगामी ९—१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर, सदस्यताको विवाद समाधानमा भएको ढिलाइले यो कार्यतालिका समेत प्रभावित हुने अवस्था बनेको छ । २३ भदौपछि कांग्रेसको वैधता रहने वा नरहने ? भन्ने प्रश्न छ । कांग्रेस नेताहरूले वैधता समाप्त हुने मितिभित्रै वडा अधिवेशन सुरु गरेर वैधता जोगाउन सकिने तर्क गरिरहेका छन् । निर्वाचन समितिले मतदाता नामावली प्राप्त भएको १९ दिनपछि मात्रै वडा तहको अधिवेशन गर्न सकिने समयतालिका केन्द्रीय समितिमा बुझाएको थियो । तर, वडा अधिवेशन गर्न तोकेको मिति आउन अब ११ दिनमात्रै बाँकी छ । त्यसकारण यो मितिमा पनि वडा अधिवेशन नहुने आशंका बढेको छ ।

प्रकाशित : भाद्र ६, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

भ्यागुतालाई भात

गोविन्द पोखरेल

काठमाडौँ — जनैपूर्णिमाका दिन कोही जनै लगाउन व्यस्त हुन्छन् त कोही रक्षाबन्धन बाँध्न । तराई क्षेत्रमा राखी बान्ने चलन छ । नेवारी समुदायमा 'गुँपुन्हि' मनाइन्छ । काठमाडौं उपत्यकाका कृषकहरू भने भात बाेकेर खेततिर लाग्छन् । त्यहाँ भात मात्र हुँदैन, नौ थरी गेडागुडी पनि हुन्छन् । अनि उनीहरूका पाहुना हुन्छन्– भ्यागुता । पातमा भात र क्वाँटी पस्किदिएर किसानहरू भ्यागुतालाई स्वागत–सत्कार गर्छन् ।

कृषकका साथी हुन् भ्यागुता । बालीमा लाग्ने कीराफट्याङ्ग्रा खाइदिएर यिनले खेती सपारिदिन्छन् । भ्यागुताको महत्त्व पारस्थितिक प्रणालीमा पनि छ । त्यही प्रणालीअन्तर्गत भ्यागुता र किसानबीच सहयोग र सत्कारको यो शृ‍ंखला वर्षौंदेखि निरन्तर छ ।

काठमाडौं उपत्यकाको जनजीवन अघिल्लो पुस्तासम्म लगभग कृषिमै आश्रित थियो । सांस्कृतिक अध्येता सुमनविलास वज्राचार्य भ्यागुताले उपत्यकाका कृषकलाई ठूलो सहयोग गरेको बताउँछन् । उनका अनुसार भ्यागुता र कृषकको यही सम्बन्धसँग जोडिएको एउटा किंवदन्ती पनि छ । किंवदन्ती यस्तो छ–

एक समय गाउँमा राक्षस आएपछि किसानहरू घरबाहिर निस्कन सकेनन् । खेतीपाती ठप्प भयो । कृषकहरूलाई खेतमा नदेखेपछि भ्यागुतालाई खसखस पर्‍यो । बुझ्दै जाँदा उसले गाउँमा नरभक्षी राक्षस आएकाले किसान घरमै थुनिएको र त्रासले बाहिर निस्कन नसकेको थाहा पायो । उसलाई चिन्ता पर्‍यो– अब कृषकहरूलाई कसरी यो समस्याबाट निकाल्ने ।

त्यही बेला उसले नजिकैबाट राक्षस हिँडिरहेको देख्छ । किसानलाई नभेटेपछि राक्षस भोकले आकुलव्याकुल हुन्छ । भ्यागुताले उसलाई जिस्काउँदै भन्छ– राक्षस मलाई खान्छस् त ? आफूलाई जिस्क्याएको थाहा पाएपछि राक्षसले उसलाई लखेट्न थाल्छ । भ्यागुतो उफ्रँदै खेतको दलदलतिर लाग्छ । पछ्याउँदै गएको राक्षस त्यही दलदलमा फस्छ । त्यहाँबाट उम्कन सक्दैन । राक्षस कब्जामा परेपछि भ्यागुतो गाउँ जान्छ र किसानलाई खुसीको खबर सुनाउँछ ।

कृषकहरू आफ्नो प्राण बचाइदिने भ्यागुताप्रति कृतज्ञ हुन्छन् । त्यही खुसीमा भ्यागुतालाई भात, क्वाँटीलगायत मिष्टान्न खुवाउँछन् । त्यही समयदेखि हरेक श्रावणशुक्ल पूर्णिमाका दिन उपत्यकाका कृषकले भ्यागुतालाई खाना खुवाउने गरेको यो कि‌ंवदन्ती प्रचलनमा बसेको हो ।

नेवार समुदायले यो पर्वलाई 'ब्यांजा नकेगु' भन्छन् । नेवार संस्कृतिका जानकार मल्ल के सुन्दरका अनुसार नेवारी भाषामा 'ब्याँ' को अर्थ भ्यागुता, 'जा' भनेको भात र नकेगु भनेको खुवाउने हो । भ्यागुताको सम्मानमा यो पर्व मनाइने गरिएको उनले बताए । यो पर्व यही दिन किन मनाइन्छ त ? उनले भने, 'प्रायः हाम्रा परम्पराहरू कि संक्रान्ति, पूर्णिमा, अष्टमी वा एकादशीका दिन मनाइने गरिन्छ । त्यस बेला पुण्य प्राप्ति हुने सम्झिएर पूर्णिमाको दिन मनाउन थालेको हुनुपर्छ ।' उनले यो पर्व भ्यागुताप्रतिको सम्मान मात्रै नभएर प्रकृति र पारिस्थितिक प्रणाली संरक्षणका लागि पनि महत्त्वपूर्ण रहेको बताए ।

भ्यागुता उभयचर प्रजाति हो । यिनीहरू हिउँदमा निष्क्रिय हु्न्छन् । हिउँद याममा निष्क्रिय भएर बस्ने प्रक्रिया नै सुषुप्तता (हाइबरनेसन) हो । जब गर्मीयाम सुरु हुन्छ तब तापक्रम पनि बढ्न थाल्छ । पानी पर्न थालेपछि उनीहरु बाहिर निस्कन्छन् । मनसुन सुरु भएसँगै यिनीहरुको प्रजनन प्रक्रिया पनि सुरु हुन्छ । बाली लगाउने मनसुनको समयमा हो । यस बेला यिनीहरूलाई चाहिने आहारा प्रशस्त हुन्छ ।

गत वर्ष गरिएको अनुसन्धानले काठमाडौं उपत्यकाभित्र १० प्रजातिका भ्यागुता देखाएको थियो । तर उपत्यकामा सडक विस्तारका कारण भ्यागुताहरूको वासस्थान र जीवनचक्र प्रभावित हुँदै गएको अनुसन्धानहरूले देखाउन थालेका छन् ।

भ्यागुता पृथ्वीमा २५० मिलियन वर्षअघिदेखि छन् । यिनीहरूलाई प्राकृतिक सूचकका रूपमा समेत लिइन्छ । भ्यागुता पृथ्वीमा नहुने हो भने जताततै किराको प्रकोप बढ्छ । । वासस्थान विनाश, रासायनिक प्रदूषणका कारण भ्यागुता लोप हुने अवस्थामा छन् । खेतमा रासायनिक मलको प्रयोग गर्दा यिनको संख्या घट्दो छ ।

गत वर्ष ग्लोबल इकोलोजी एण्ड कन्जरभेसन जर्नलमा प्रकाशित आलेखले काठमाडौं उपत्यकामा सडक विस्तारसँगै भ्यागुता पनि खतरामा पुगेको देखाएको थियो । उक्त अध्ययनले अध्ययनले ग्रामीण क्षेत्रमा ९ प्रजाति, सहरोन्मुख क्षेत्रमा ६ र सहरी क्षेत्रमा ५ प्रजातिका भ्यागुता भेटिएको देखाएको थियो ।

एमोल्पस फोरमसुस, नानवराना लेइबिग्गी र पोलिपडेट्स म्यागुलेट्स ग्रामीण भेगका वन क्षेत्रमा भेटिएको अध्ययनले देखाएको छ । सन् २००४मा प्रकाशित 'नेपालका उभयचरहरू' नामक किताबमा उपत्यकामा ११ प्रजातिका भ्यागुता भेटिएको बताइए पनि उक्त अनुसन्धानमा १० वटा प्रजाति मात्रै भेटिएको देखाएको थियो । यसअघि उपत्यकामा अभिलेख राखिएका 'दत्ताफेरनस माइक्रोटिमप्यानियम' र 'ओमबेराना सिकिमेन्सिस' प्रजातिको भ्यागुता पछिल्ला अध्ययनमा भेटिएका छैनन् ।

नेपालमा ६ वटा परिवारका ५५ प्रजातिका भ्यागुता पाइन्छन् । तीमध्ये काठमाडौंमा १२ प्रजाति पाइने यसअघिका अनुसन्धानहरुले देखाएका छन् ।

प्रकाशित : भाद्र ६, २०७८ १३:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×