१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अफगानिस्तानका नेपालीको विवरण लिन थालियो

काठमाडौँ — बाह्य सहयोग लिएर सरकारले अफगानिस्तानमा रहेका नेपालीको स्थलगत विवरण संकलन थालेको छ । अफगानिस्तानमा तालिवानले काबुलसँगै सत्ता कब्जा गरेपछि विदेशीसँगै अफगानीको पनि भागाभाग छ । 

अफगानिस्तानका नेपालीको विवरण लिन थालियो

परराष्ट्र मन्त्रालयले काबुलमा रहेका सुरेशचन्द्र शर्मालाई सम्पर्क व्यक्ति बनाएको छ । त्यहाँ नेपालको दूतावास छैन । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले नै अफगानिस्तान मामिला हेर्दै आएको छ ।

काबुलस्थित भारतीय दूतावासमार्फत विगतमा सहयोग लिन सजिलो थियो । अफगानिस्तानमा तालिवान सत्तामा आएसँगै भारतले आफ्नो दूतावास बन्द गरेर कर्मचारी फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नयाँदिल्लीस्थित नेपाली दूतावासले काबुलमा तत्कालका लागि सूचना संकलन गर्न शर्मालाई प्रयोग गरेको हो । उनी पनि नेपाल सरकारले गर्ने उद्धार पर्खेर बसेकामध्ये हुन् ।

सरकारले यसअघि इराक, लिबिया र यमनमा संकट आउँदा त्यहाँ रहेका नेपालीलाई ‘फोकल पर्सन’ बनाएर सहयोग लिँदै आएको थियो । अहिले त्यसैगरी अफगानिस्तानमा शर्मालाई उपयोग गरिएको परराष्ट्रका अधिकारी बताउँछन् ।

मन्त्रालयले उद्धारका लागि सूचीकृत भएकामध्ये र राहदानी नम्बर दोहोरिएका, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाको विवरण रुजु गरेको विज्ञप्तिमार्फत जनाएको छ । नेपालीलाई उद्धार गर्ने सम्बन्धमा सरकारले अझैसम्म ठोस योजना बनाइसकेको छैन । ‘अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने लक्ष्य हो । अहिले त्यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ।

रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न परराष्ट्रका मध्यएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलको शनिबार बसेको छैटौं बैठकले उद्धार गर्न बाँकी नेपालीको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्तीबारा छलफल गरेको छ ।

काबुलबाट थप नेपाली घर फर्कने प्रक्रियामा छन् । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्केका छन् । हालसम्म ५ सय ४ जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा शनिबार साँझसम्म ३ सय १७ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

प्रकाशित : भाद्र ६, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?