कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश प्रमुखमा नेपालको कोटाबाट शर्मा सिफारिस

काठमाडौँ — प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कोटाबाट सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवच्नद्र शर्मालाई नियुक्तिका लागि  सिफारिस गरेको छ । 

वाग्मती प्रदेश प्रमुखमा नेपालको कोटाबाट शर्मा सिफारिस

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुन् । उनले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गरेका थिए । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयमा रहेर पनि उनले काम गरेका थिए । शर्माले अंग्रेजी विषयको प्राध्यापन गर्दै आएका थिए ।

वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् । उनलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो ।

बुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ लिएकी थिइन् ।

सरकारले यसअघि लुम्बिनी, गण्डकी र प्रदेश २ मा पनि प्रदेश प्रमुखको हेरफेर गरेको थियो । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमानसिंह गुरुङ र प्रदेश २ मा हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।

गुरुङ र मिश्र कांग्रेसका नेता हुन् भने शेरचन माओवादी केन्द्रका नेता हुन् ।

प्रकाशित : भाद्र ३, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?