कठिन यात्रामा माधव नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठिन यात्रामा माधव नेपाल

अदालतले नेकपा फुटायो, नेता आफैंले एमाले फुटाए
६९ वर्षको उमेरमा नयाँ दल बनाउने जोखिम लिनु उनको बाध्यता हुन सक्छ तर संस्थापनबाट अलग नयाँ दल फस्टाएको उदाहरण छैन
बबिता शर्मा

काठमाडौँ — संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ ।

पार्टीभित्र अध्यक्ष ओलीको ‘अपमानले आजित’ भएर ६९ वर्षको उमेरमा राजनीतिको नयाँ अध्याय सुरु गर्ने कठोर निर्णय लिएका नेपालका लागि ‘विद्रोह’ बाध्यात्मक कदम हुन सक्छ तर यो धेरै चुनौतीपूर्ण छ । २०४६ पछि संस्थापनबाट अलग भएर बनेका नयाँ पार्टी फस्टाएको उदाहरण छैन ।

यसअघि २०५४ फागुन २१ मा वामदेव गौतम नेतृत्वको समूहले एमाले फुटाएर नेकपा माले बनाएको थियो । त्यसबेला ओली र नेपाल एकै ठाउँमा थिए भने अहिले नेता झलनाथ खनालले नेपाललाई साथ दिएका छन् । तर, गौतमले भने हस्ताक्षर गरेका छैनन् । ‘वामदेव गौतमले मेरो सहमति छ तर अहिले जोडिन्नँ, पछि जोडिन्छु भन्नुभएको छ,’ नेता वेदुराम भुसालले भने । केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायतले आयोग पुगेर नयाँ दल दर्ताको निवेदन दिएका थिए । नेपाललाई एमालेको केन्द्रीय कमिटी (२०३ सदस्यीय) का ५८ सदस्यले साथ दिएको पाण्डेको दाबी छ । कुल केन्द्रीय सदस्यमध्ये २८ दशमलव ५६ प्रतिशत छन् । तर, नयाँ दल भने ९५ सदस्यीय छ । तर, लामो समय नेपाल समूहमा रहेका मुख्य नेताहरूले भने निर्णायक बिन्दुमा उनलाई साथ दिएका छैनन् । केन्द्रीय सदस्यमा नाम भएका प्रदीप नेपालले आफू तटस्थ रहेको बताएका छन् भने कृष्ण खनाल र भानुभक्त जोशीले आफूहरू नेपाल नेतृत्वको पार्टीमा नरहेको घोषणा गरेका छन् ।

प्रस्तावित पार्टीमा नेपाल अध्यक्ष र खनाल वरिष्ठ नेता छन् । प्रस्तावित पार्टीको चुनाव चिह्न किताब माग गरिएको छ । दल दर्ताको निवेदन दिएपछि नेपाल पक्षले एमालेमा अलमलिएर बसेका नेताहरूलाई नयाँ पार्टीमा आउन आग्रह गरेका छन् । ‘हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउँछौं, एमालेमा अलमलिएर रहेका साथीहरूलाई पनि आउन आग्रह गर्छौं,’ निवेदन दर्तापछि पाण्डेले भने । प्रतिनिधिसभाका २२ र राष्ट्रिय सभाका ८ सांसदले साथ दिएको उनले दाबी गरे ।

नेता नेपालले एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुट्न अपिल गरेका छन् । ‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानका क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं,’ नेपाले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्नु हुन र सहयोग पुर्‍याउनु हुन सबैमा हार्दिक अपिल गर्दछौं ।’ नेपाललाई साविक एमालेको स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन् । एमालेको २२ सदस्यीय स्थायी कमिटीमा रहेका नेपाल, खनाल र न्यौपाने मात्रै नयाँ पार्टीमा छन् ।

यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको साथ छाडेका छन् । एमाले विवाद समाधान गर्न गठन भएको दस सदस्यीय कार्यदलले दसबुँदे सहमति गरेको थियो । नेपालको साथ छाडेका यी नेताहरू दसबुँदे सहमति अक्षरशः कार्यान्वयन भए एमालेमै रहने भएका छन् । ‘दसबुँदे सहमतिको अक्षरशः कार्यान्वयन हुने भयो भने हामी एमालेमै रहन्छौं,’ सचिव विष्टले भने । १४ वर्षसम्म एमालेको मुख्य नेतृत्वमा रहेका नेपालले नयाँ पार्टी बनाउने निर्णय लिँदा उनले धेरैको साथ गुमाएका छन् । नवौं महाधिवेशनमा उनकै समूहबाट चुनाव जितेका प्रभावशाली नेताहरू नयाँ दलमा छैनन् । नेपालका लागि अगाडिको यात्रामा यो सबैभन्दा ठूलो चुनौती हो । संसदीय अंकगणितमा पनि उनी संस्थापन पक्षभन्दा कमजोर छन् । पछिल्लो सत्ता राजनीतिमा उनको अंकगणित निर्णायक भए पनि एमालेका धेरै सांसद संस्थापन पक्षमै खुलेका छन् ।

अढाई दशकअगाडि एमालेलाई विभाजन गराएको आरोप अहिलेसम्म वामदेव गौतमले खेपिरहेका छन् । नेपालले अब त्यही आरोप चिर्दै देशभर संगठन बनाउने उनीसँग अर्को चुनौती छ । आफ्नै दल नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप पनि उनीमाथि छ । नेपालका लागि अर्को जटिल जोखिम आगामी चुनाव हो ।

वैशाखमा हुने स्थानीय तहको होस् वा प्रदेश र संघीय चुनाव, उल्लेखनीय उपस्थितिसहित नतिजा दिनुपर्ने चुनौती उनका अगाडि छ । एमालेको संस्थापन पक्ष उनीप्रति चुनावमा अनुदार हुनेछ, जसले उनलाई अप्ठेरोमा पार्न सक्छ । त्योभन्दा बढी एमाले नाम र सूर्य चिह्न छाडेर चुनावी मैदानमा उत्रँदा उनले मनोवैज्ञानिक दबाबको सामना गर्नॅपर्नेछ ।

नेपाल आफैंले पनि मंगलबार आगामी चुनौतीबारे भनेका थिए, ‘सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाएर अग्रगामी भूमिका खेल्न सक्छौं । हाम्रो बाटो घुम्तीपूर्ण छ । कहिले उकालो हुन्छ, कहिले ओरालो । बाधा–व्यवधान पनि आउँछन् । एकता र विभाजनको प्रक्रियाबाट हिँडिन्छ । आत्तिनुपर्ने, निराश हुनुपर्ने केही छैन ।’

चुनौतीबीच २०२२ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन गरेका नेपालले बुधबार दर्ता गरेको पार्टीमा पनि ‘कम्युनिस्ट’ विरासत थामेका छन् । यसका बलमा अन्य वामपन्थी शक्तिसँग सहकार्य गरेर आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने अवसर उनलाई छ । राजनीतिक रूपमा आफ्नै पार्टी अध्यक्षले चालेका कदमको विरोध गरेर नेपालले लोकतन्त्र र संविधानका लागि भूमिका खेलेको जस पाएका छन् । २०५१ मा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएका नेपाल २०६६ मा प्रधानमन्त्री बनेका थिए । संसदीय राजनीतिमा उनको लामो अनुभव छ । शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि उनको भूमिका छ । अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ । यी सबै उनको अगाडिको यात्राका लागि सकारात्मक विषय हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपालले राम्रा मानिसलाई मन्त्री बनाएर केही महत्त्वपूर्ण काम गराउन सक्छन् । आर्थिक रूपमा अन्य नेताका तुलनामा पारदर्शी र नैतिक राजनीतिमा विश्वास गर्ने उनको छवि छ । यो छविका बलमा उनले आफ्नो पार्टी संगठनलाई नयाँ ढंगले अगाडि बढाउने अवसर पनि छ ।

राजनीति विश्लेषक हरि रोका नेपालको भविष्य नराम्रो नभएको तर्क गर्छन् । ‘माधव नेपाललाई धेरै सजिलो भयो, दुविधाग्रस्त मान्छेहरूले उहाँलाई छाडे । त्यस्ता मान्छे बस्दा धमिलो हुन्थ्यो, असजिलो हुन्थ्यो । अब नेपालसँग अलि इमानदार, सिद्धान्तनिष्ठ मान्छेहरू बाँकी रहन्छन्,’ रोकाले भने, ‘दोस्रो, अब उहाँ प्रस्ट हुन जरुरी छ । नेकपा एमाले र ओली पक्षसँग उहाँका फरक के हुन् ? विधि र पद्धतिमा मात्रै फरक हो कि सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक रूपमा नै फरक हो, त्यो कुरा प्रस्ट्याएर जानुभयो र एमालेको मूलधार आफैंसँग आउँछ भनेर आँट गर्नुभयो भने उहाँको बाटो सहज छ ।’

  • नेपाल पक्षमा लागेका नेताहरू पनि विभाजनपछि अलमलमा, धेरैजना ‘पर्ख र हेर’ को रणनीतिमा
  • एमाले समाजवादी र जसपा लोकतान्त्रिक गठन भएको जानकारी आयोगमा, तर नियमावली बनेपछि मात्र दर्ता प्रक्रिया सुरू हुने
  • एमाले समाजवादीको पनि समर्थन भएकाले अब प्रतिनिधिसभामा डेढ सय मतसहित देउवालाई ढुक्क
  • २१ दिनभित्र नयाँ दल प्रवेश गर्ने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई कारबाही नहुने
  • विभाजनले उपेन्द्र यादवको पकड बलियो, महन्थ ठाकुर र राजेन्द्र महतोको सांसद पद जोगियो

प्रकाशित : भाद्र ३, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

एमाले विभाजन : कम्युनिस्ट टुटफुटको नयाँ अध्याय

मणि दाहाल

काठमाडौँ — सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’  औपचारिक रुपमै दुई चिरा परेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । योसँगै झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको दल दोस्रोपटक टुक्रिएको छ ।

यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले अहिले शीर्ष नेताहरूको कार्यशैली र अहम् व्यवस्थापनमा चुक्दा फेरी विभाजनमा पुगेको छ ।

विगतमा कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जे जस्ता व्यक्तिगत लाञ्छनाहरू र आरोपहरू लाग्थे, ती आरोपहरू यसपटक फेरी दोहोरिएका छन् । यो झगडा सैद्धान्तिकभन्दा बढ्ता व्यक्तिगत छ । तर, अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेता माधवकुमार नेपाल दुवैले विभाजनलाई सैद्धान्तिक मतभेदका रुपमा विश्लेषण गर्ने कोशिस गरेका छन् ।

ओलीले नेपाललाई यसअघि नै ‘गद्दार’, ‘देशद्रोही’ करार गरिसकेका थिए । पार्टीबाट निष्कासन गर्दै ‘आममाफी’ पनि दिँदै आएका थिए । तर, ओलीले नेपाल पार्टीको नीतिभन्दा बाहिर गएर सिद्धान्तबाटै विचलित हुँदै कांग्रेसको पिछलग्गु बनेको आरोप लगाएका छन् ।

यता नेता नेपालले पनि ओलीले पार्टीका नीति, विचार, सिद्दान्तहरूलाई लत्याएर निरंकुश, तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका छन् । उनले बुधबार पार्टी विभाजनको स्पष्टीकरणका लागि जारी गरेको अपिलमा पनि यी कुरा उल्लेख गरेका छन् । अझ उनले कम्युनिस्ट आन्दोलनलाई ओलीले नै विसर्जनको बाटोमा लैजान खोजेकाले पार्टीको मुलधारलाई जोगाउन विद्रोह गरी एमाले पुनगर्ठनको बाटोमा गएको उल्लेख गरेका छन् ।

ओली र नेपालका तत्कालिन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेको विभाजनलाई ‘व्यक्तिगत स्वार्थ’ कै एक परिणामको भएको बताउँछन् । ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृतिले निम्त्याएको संकट हो । जनताको धेरै ठूलो समर्थन पाएपनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,’ मैनालीले भने ।

पछिल्लो विवाद कसरी चुलियो ?

तत्कालिन प्रधानमन्त्री ओलीले साविकको नेकपामा हुँदा केही स्वेच्छाचारी प्रवृत्ति देखाए । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालको आन्तरिक गठजोड बलियो भयो । ओली पार्टी भित्र कमजोर बने । आफू कमजोर बनेपछि ओलीले शक्ति आर्जन गर्ने सबैखालका हतकण्डा अपनाए । जसको पहिलो सुरुवात विन्दु थियो– गतवर्ष बैशाखमा ओलीले ल्याएको दल विभाजन गर्ने अध्यादेश । उक्त अध्यादेशको विरोधमा नेपाल पनि उभिए । यद्यपी अहिले त्यस्तै ओलीले ल्याएको भन्दा पश्चगामी अध्यादेशको बलमा नेपालले दल विभाजन गरेका छन् ।

पार्टी भित्रको विवाद बढ्दै गएपछि गत पुसमा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघट्न गरेका थिए । उक्त विघट्नको विरोधमा नेपाल सडक आन्दोलनमै उत्रिए फागुन ११ मा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघट्न बदर भयो । त्यसपछि अर्को महत्त्वपूर्ण तिथि आयो– फागुन २३ गते । सर्वोच्चले नेकपाको एकिकरणलाई स्वीकारेन । तत्कालिन एमाले र माओवादी केन्द्र आ–आफ्नो पुरानै दलको अवस्थामा पुगे । त्यसपछि एमालेमा झन् ठूलो विभाजनको खाडल देखापर्‍यो ।

फागुन २८ गते अध्यक्ष ओलीले आफू निकटका नेताहरूको बैठक राखेर सदस्यहरूको थप गरेपछि नेपाल पक्षमा असन्तुष्टी चुलियो । त्यसविरुद्ध चैतको पहिलो साता नेपाल पक्षले राजधानी काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । त्यही समानान्तर गतिविधिको पटाक्षेप बुधवार पार्टी विभाजनको रुपमा भयो । यो विभाजनले पाँच दशकअघि झापा विद्रोहको भ्रुणबाट शुरु भएको एमाले नयाँ चक्रमा प्रवेश गरेको छ ।


कसरी बनेको थियो पार्टी

२०२८ सालमा झापामा वर्ग शत्रुको सफाया आन्दोलनबाट माले हुँदै अहिलेको एमाले बनेको हो । २०३२ जेठमा को–अर्डिनेसन केन्द्र गठन भयो । यसले झापा विद्रोहलाई राजनीतिक आवरण दियो ।

त्यसपछि विभिन्न साना घटकहरू संगठित हुन आए । पूर्वतर्फ सक्रिय को–अर्डिनेसन केन्द्र र पश्चिम नेपालमा सक्रिय रहेको मुक्ति मोर्चासँगको एकीकरण हुँदै २०३५ सालमा नेकपा मालेको गठन भएको थियो । त्यस समयको नेतृत्व सीपी मैनालीले गरेका थिए । केन्द्रको स्थापनादेखि नै नेता माधवकुमार नेपाल पार्टीको शीर्ष नेतृत्वमा रहे, अध्यक्ष ओली भने जेलमा थिए ।

२०३९ सालमा पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रताको निकै ठूलो विवाद चर्कियो । पार्टी स्वतन्त्रता पक्षमा रहेका महासचिव मैनालीलाई पार्टीले कारवाही गर्‍यो । मैनालीले पार्टी विभाजन भने गरेनन्, तर कार्यकर्ताको ठूलो पंक्तिले राजनीति छाडे वा निष्कृय बने । कतिपयले यसलाई मुक्ति मोर्चा र को–अर्डिनेसन केन्द्रबीच शक्ति संघर्षको रुपमा लिने गरेका छन् । तर, नेपाल र झलनाथ खनालसहितका को–अर्डिनेसन केन्द्रका नेताहरूको साथ लिएर मदन भण्डारी र जीवराज आश्रितसहितका नेताहरूले सीपी मैनालीमाथि कारवाही गरेका थिए ।

मैनाली भने एमालेभित्र संगठनात्मक संकटको शुरुवात चालीस वर्षअघिदेखि नै शुरु भएको ठान्दछन् । ‘२०३९ देखि नै नेता तथा कार्यकर्ताहरूको मुल्याकंन गर्न सक्रियता र योगदानभन्दा पनि नेताहरूले आफ्नो निकटता र दुरीको आधारमा अराजनीतिक तरिकाले मूल्याकंन गर्न थाले । त्यसले पछि गएर यो एउटा गुटबन्दीमा पुग्यो,’ मैनालीले भने, ‘गुट र नेताको फाइदाको निम्ती जनता र राष्ट्रको हितमा सम्झौता गर्न थाले । पछि आएर त्यो गुटबन्दी निषेधमा परिणत भयो र अहिलेको समस्यासम्म आइपुगेको हो ।’

मैनाली २०४९ सालदेखि एमालेमा आएको वैचारिक स्खलनले अहिलेको अवस्थामा पुर्‍याएको बताउँछन् । जेलबाट छुटेपछि ओली २०४५ सालबाट तत्कालीन मालेको केन्द्रीय सदस्य बनेका थिए । तर, नेता नेपालको हैसियत भने पार्टीमा दोस्रो नेताको थियो ।

राजनीतिशास्त्रका सहप्राध्यापक खगेन्द्र प्रसाईं झापा आन्दोलन र को–अर्डिनेसन केन्द्रबाट शुरु भएको एमालेको ‘फेज’ सकिएको बताउँछन् । नयाँ परिस्थितअनुसारका नीतिहरू लिन नसक्दा अहिलेको समस्या आएको उनको बुझाइ छ ।

‘झापा आन्दोलन र को–अर्डिनेसन केन्द्र बन्दा शुरु भएको एमालेको फेज सकियो । नयाँ परिस्थितमा नयाँ आधारमा पार्टीअघि बढाउन सकेन् । गुटहरूको व्यवस्थापन गर्दै अहिलेसम्म एमाले टिक्दै आएको थियो,’ प्रसाईंले भने, ‘अहिले एमालेका गुटहरू निषेधको चरणमा छन् ।’

ओली– नेपालः संघर्ष र सहकार्य

बहुदलीय व्यवस्था शुरु भएपछि ओली र नेपालबीचको सम्बन्धमा सहकार्य र संघर्ष दुवै देखिन्छ । मदन भण्डारी र जीवराज आश्रितको निधनपछि पार्टी सत्तामा पुगेका नेपाल र ओलीबीच पाँचौ र छैठौं महाधिवशेनमा सहकार्य थियो । एकीकृत महाकाली सन्धि पारित गर्ने समयमा दुवै नेता एकै कित्तामा थिए । एमाले विभाजन भएर माले गठन हुँदा पनि ओली र नेपाल एकैस्थानमा थिए ।

सातौं महाधिवेशनमा ओली र नेपाल दुई विपरित कित्तामा बसे । सातौं महाधिवेशनमा ओलीले पार्टीलाई बहुपदीय संरचनामा लैजाने प्रस्तवा ल्याएका थिए । तर, त्यो प्रस्ताव हलमै प्रवेश पाएन । त्यसबेला शक्तिशाली रहेका नेपाल महासचिव प्रणालीमा बस्नुपर्ने अडानमा थिए । तर, त्यो लामो समयसम्म रहेन ।

आठौं महाधिवेशनमा पार्टी बहुदपीय प्रणालीमा गयो । झलनाथ खनाल र वामदेव गौतमको गठबन्धन बन्यो । त्यसविरुद्ध ओली र नेपाल एक स्थानमा थिए ।

नवौं महाधिवेशनमा आइपुग्दा दुवै नेताहरू फरक समूहको नेतृत्व गर्दै समूहगत रुपमा प्रतिस्पर्धा उत्रिए । महाधिवेशनमै भएको गुटको आधारमा दुवै पक्षले आ–आफ्नो अनुकुल हुने गरी पार्टी भित्र समानान्तर गतिविधि बढाउँदै लगे । ओलीमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको दम्भ चढ्यो । नेपालले पार्टी भित्र यसअघि एकछत्र १५ वर्ष राज गरेको बिर्सिए, ओलीसंँगको हारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर महाधिवेशन बनेको समुहलाई निरन्तरता दिए ।

सहप्राध्यापक प्रसाईं पार्टी सञ्चालन लोकतान्त्रिक रुपमा हुन नसक्दा समस्या आएको ठान्दछन् । ‘पार्टीमा लोकतान्त्रिक विधि भयो भने मेरो कुरा सुनिने छ र मलाई किरानाकृत गरिने छैन भन्ने भयो भने पार्टीमा बस्छन् नत्र छाडेर हिँड्छन्,’ प्रसाईंले भने, ‘स्वार्थको आधारमा बनेको गुट पद, पैसा वा साझेदारीबाट शक्तिहरू बाँडफाँट गरेर व्यवस्थित गर्न सकिन्छ । तर, त्यो पद वा स्रोत बाँड्ने कुरा सिमित हुन्छ । सबै कुरा बाँड्दा लामो समयसम्म टिक्न सक्दैन ।’

प्रकाशित : भाद्र २, २०७८ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×