२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४
अष्टलक्ष्मी शाक्य

भूमिगत राजनीतिदेखि पहिलो महिला मुख्यमन्त्रीसम्म

नेपाल समूहबाट छुटिएपछि मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

काठमाडौँ — काठमाडौंको सम्पन्‍न परिवारमा जन्मिएकी अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्मन्त्री बनेकी छन् । बुधबार राति उनले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

भूमिगत राजनीतिदेखि पहिलो महिला मुख्यमन्त्रीसम्म

अष्टमीको दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो । २०१० सालमा सम्पन्‍न शाक्य परिवारमा जन्मिएकी उनको परिवार सुन व्यवसायमा संलग्‍न थियो । शाक्यको परिवारले बनाएका गरगहनाहरु दरबारमा समेत लगिन्थ्यो ।

एसएलसी दिएपछिको खाली समयमा अध्ययनका लागि भनेर उनी चिनियाँ पुस्तकालय जान्थिन् । त्यही बेलादेखि उनको राजनीतिप्रति चासो बढेको थियो । २०२६ सालबाट उनले राजनीति गर्न सुरु गरेकी हुन् ।

शाक्यको राजनीतिको सुरुवात वसन्तपुरस्थित चिनियाँ पुस्तकालयबाटै सुरु भएको थियो । चिनियाँ साहित्य अध्ययन गर्दा कम्युनिष्ट पार्टीले सबैलाई बराबरी गर्छ भन्ने विषयले राजनीतिप्रति आफूलाई आकर्षित गरेको उनले बताउने गरेकी छिन् । घरमा छोरा र छोरीलाई गर्ने भेदभावले समानताको विषयले उनलाई आकर्षित गर्‍यो । श्यामप्रसाद शर्मा नेतृत्वमा रहेको पार्टीका नेता रहेका महेशमान मास्केले राजनीतिमा लाग्न शाक्यलाई प्रेरित गरेका थिए ।

एसएलसी पास गरेपछि त्यस समयमा महिलाले मात्रै अध्ययन गर्ने रत्नराज्यलक्ष्मी क्याम्पसमा आईएमा भर्ना भएकी थिइन् । सुलोचना मानन्धर, अष्टलक्ष्मी शाक्यसहितको टोलीले सांस्कृतिक कार्यक्रम आयोजना गर्दथ्यो । चीन र माओत्सेतुङबाट प्रभावित भएर अष्टलक्ष्मी शाक्यसहितका साथीहरु चिनियाँहरुले लालसेनाले लगाउने जस्तै लुगा लगाएर गाउँ जाने गर्दथे । राजनीतिमा सक्रिय भएको कारण घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका शाक्यको विवाहको कुरा छिनेपछि घरबाट भागेर भूमिगत भएकी थिइन् । २०३६ सालको पुसमा भोज जाने भन्दै घरबाट निस्केकी उनले २ पेजको पत्र परिवारलाई लेख्दै भूमिगत राजनीतिमा सक्रिय बनेकी थिइन् ।

भूमिगत रहेको समयमा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् । अखिल नेपाल महिला संघको अध्यक्ष समेत भएकी शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ हुन् ।

२०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ 'क' बाट शाक्य निर्वाचित भएकी हुन् । नयाँ संविधानअनुसार भएको पहिलो चुनावपछि नै शाक्य मुख्यमन्त्री बन्ने सम्भावना भएपनि एमालेभित्रको गुट संघर्षको कारण त्यो अवसरबाट वञ्चित भइन् ।

प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य प्रदेशमा बहुमत प्राप्त गरेको एमालेको संसदीय दलको चुनाव जित्दै मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, केन्द्रीय सदस्य समेत नरहेका हेटौंडा नगरपालिकामा पूर्व मेयर डोरमणि पौडेलसँग उनी पराजित भइन् ।

नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपाभित्र विवाद चर्किनुका विभिन्न कारणमध्ये शाक्यको पराजय पनि एक थियो । माओवादी केन्द्रसँग छुट्टिएपछि पनि यो विषय एमालेभित्र रहिरह्यो ।

नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट एमाले उपाध्यक्ष जितेकी शाक्य नेपाल समूहबाट छुटिएपछि मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेकी हुन् ।

प्रकाशित : भाद्र २, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?