कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘कोभिडसँग लड्दै आर्थिक पुनरुत्थान’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिमा सरकारले आर्थिक पुनरुत्थानको कामलाई प्राथमिकतामा राखेको बताएका छन् । यसका लागि सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको उनले प्रस्ट पारे । 

‘कोभिडसँग लड्दै आर्थिक पुनरुत्थान’

‘सर्वप्रथम त खोपको व्यवस्थापन र वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकारको पूर्ण विश्वास छ,’ प्रधानमन्त्री देउवाले ‘कान्तिपुर इकोनमिक समिट–२०२१’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै भने, ‘संसारका हरेक खोप निर्मातासँग सबै खालका उपाय लगाएर पुग्नेछौं भने पहुँच भएकाले मात्र खोप पाउने स्थिति आउन नदिनसमेत लागिपरेका छौं ।’

खोपपछि आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने उनले बताए । ‘पोहोर साल आर्थिक गतिविधि रोकिएर कर्जाको माग कम भएकाले ब्याजदर कम भएको थियो, जसका कारण ऋण लिएर व्यवसाय गरिरहेका उद्यमीलाई केही राहत भएको थियो,’ देउवाले लाइभ भिडियो सन्देशमार्फत भने, ‘अब आर्थिक गतिविधि बिस्तारै बढ्दै गएकाले ब्याजदर अनियन्त्रित रूपमा बढ्ने सम्भावना रहन्छ । त्यो रोक्न सरकारले ध्यान दिनेछ ।’

महामारीले दिएको चुनौती र जिम्मेवारीबारे विमर्श गर्न कान्तिपुर मिडिया ग्रुपले ‘कान्तिपुर इकोनमिक समिट–२०२१’ आयोजना गरेको हो । एकदिने समिटमा विभिन्न ४ सत्रमा छलफल भएको थियो । ‘पैसा कहाँ छ ?’ भन्ने पहिलो सत्रको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संस्थापक जीवा लामिछाने, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सहभागी थिए ।

‘आफ्नै उत्पादनको सामर्थ्य’ शीर्षकको दोस्रो छलफलमा पूर्वकृषिमन्त्री घनश्याम भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्यात व्यवसायी महासंघ नेपालका महासचिव अमृत खड्का र किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा सहभागी थिए । ‘संकटले सुझाएको बाटो’ शीर्षकको तेस्रो सत्रमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, कोसी कोल्याब्रटिभकी प्रबन्ध निर्देशक सुमना श्रेष्ठ र इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकी सहभागी थिए । ‘अर्थतन्त्रको उपचार’ विषयक सत्रमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री तथा कांग्रेस नेता मीनेन्द्र रिजाल, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, नीति तथा योजना आयोग प्रदेश– २ का उपाध्यक्ष भोगेन्द्र झा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहभागी थिए ।

समिटका मुख्य वक्ता प्रधानमन्त्री देउवाले खोपको वितरण समन्यायिक र मानवीय आधारमा हुने बताए । ‘यो सप्ताहन्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा पहिलो डोज लगाएका छन् भने दिनको ३ लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था छ,’ उनले भने, ‘हाल आइसकेको १ करोड ८ लाख खोपबाहेक यो असोजसम्म कम्तीमा अर्को १ करोड खोप मुलुकमा आउने भएको छ ।’

यसबाहेक आगामी चैतसम्ममा लगाउन उपयुक्त सबै नागरिकलाई खोप लगाइसक्ने प्रण सरकारले गरेको उनले बताए । कोभिड १९ ले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा पनि साना लगानीकर्ता तथा व्यवसायीलाई संरक्षण गर्न, लघु तथा साना र मझौला उद्योगलाई विभिन्न लक्षित कार्यक्रमबाट उनीहरूको समस्या सम्बोधन गर्न सरकार लागिपरेको प्रधानमन्त्रीको भनाइ छ । ‘ठूला उद्योगको उत्पादनका लागि माग सिर्जना गर्ने र अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका व्यक्तिले पनि वित्तीय संस्थाबाट सुलभ रूपमा ऋण पाउने स्थिति बनाउने छौं,’ उनले भने, ‘कृषि तथा कृषिजन्य उद्योगको संरक्षण गर्दै किसानको उत्पादन खेर नजाने परिस्थिति सिर्जना गर्नेतर्फ सरकारले विशेष ध्यान दिनेछ ।’

महामारीले पीडित पर्यटन र यातायात क्षेत्रलगायत धेरै मानिसको जमघटमा आधारित पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोरजस्ता विभिन्न व्यवसायलाई राहत दिनुका अलावा खोपमा प्राथमिकता दिइनेमा पनि प्रधानमन्त्रीले जोड दिए । ‘कोभिड–१९ र बाढीपहिरोले प्रभावितलाई सरकारले विशेष ध्यान दिनेछ,’ उनले थपे ।

मध्यमकालीन आर्थिक नीतिअन्तर्गत महामारीमा कमी आएपछि मुलुकको पुनरुत्थानको प्रारम्भिक ढाँचा तयार गर्नेमा केन्द्रित हुने प्रधानमन्त्री देउवाले बताए । जसअनुसार सरकारले विपन्न वर्गलाई रोजगारीको प्रमुख स्रोत बनेका सडक आयोजना कार्यान्वयनको गति बढाउने, आवश्यक नियम कानुन संशोधन गरी उद्योग क्षेत्रमा रोजगारीमूलक लगानी बढाउन आँटिला सुधार गर्न लागिपरेको उनको भनाइ छ । ‘अस्पताललाई स्तरोन्नति गर्ने, स्थानीयस्तरको विपद् प्रतिकार्य क्षमता बढाउने, राष्ट्रिय अलर्ट सिस्टम बनाउने र स्वास्थ्यसम्बन्धी महामारी प्रतिकार्यलाई पनि त्यससँग जोड्ने जस्ता कार्य गरिनेछ,’ उनले भने ।

सरकारको दीर्घकालीन रणनीतिअनुसार कोभिड–१९ को महामारीको समग्र असर आर्थिक तथा भौगोलिक क्षेत्रगत अध्ययनको निष्कर्षमा आधारित हुने पनि उनले बताए । ‘ती निष्कर्षहरू भविष्यमा स्वास्थ्य मापदण्ड बनाएर त्यसको पालना गराउने, आर्थिक रूपान्तरणकारी आयोजना सम्पन्न गर्ने र शिक्षा तथा सामाजिक सुरक्षालगायतका क्षेत्रको समग्र गुणस्तर बढाउने सरकारको सोच छ,’ प्रधानमन्त्रीले भने ।

कठिन परिस्थितिपछि मुलुकलाई समन्यायिक आर्थिक तथा सामाजिक प्रगतिको बाटोमा डोर्‍याउन आफ्नो नेतृत्वको सरकारको सम्पूर्ण प्रयत्न केन्द्रित गर्ने उनले बताए । ‘हामी मिलेर काम गरेमा यो अप्ठ्यारो परिस्थितिलाई पार लगाउन सक्नेछौं,’ उनले भने, ‘हाम्रो उज्यालो भविष्य नजिकै छ भन्नेमा म सबैलाई विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित : श्रावण ३२, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×