लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्दै विपक्षी गठबन्धन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
रुपन्देही — लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्दै विपक्षी गठबन्धन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/politics/lumbini-pradesh-sabha-butwal-0542021114934-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका ४१ जनाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खानले एक जना स्वतन्त्र सांसदसहित ४२ जनाको हस्ताक्षरमा केसीलाई मुख्यमन्त्रीमा दाबी गर्ने गरी तयारी भइरहेको बताए । ‘अहिले सबै पार्टीको संसदीय दलको बैठक बस्दै छ,’ उनले भने, ‘त्यही बैठकबाट आज हुने सानो मन्त्रिमण्डलका लागि पनि मन्त्रीको नामको टुंगो लाग्ने छ ।’ खानका अनुसार आज चार सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।
गठबन्धनमा रहेका चार दलमध्ये एक प्रदेशसभा सदस्य रहेको जनमोर्चा सरकारमा सहभागी नहुने जनाएको छ । कांग्रेस, माओवादी र जसपाबाट एक/एक जनालाई आजै बिनाविभागीय मन्त्रीको शपथ खुवाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए । ‘ठूला दुवै दलमा आकांक्षी धेरै नै हुनुहुन्छ,’ उनले भने, ‘नयाँ अनुहार र पुराना अनुभवी दुवैलाई मिलाएर मन्त्रिपरिषद बनाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेका छन्, तर, व्यक्ति र मन्त्रालयको टुंगो लाग्न बाँकी नै छ ।’ बिहीबार सानो आकारको मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।
मुख्यमन्त्री नियुक्त र सरकार गठनका लागि दाबी पेस गर्ने विपक्षी गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ । पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति छ । केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।
नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित एक सदस्य अजय शाही बुधबारदेखि गठबन्धनमा खुलेपछि विपक्षी गठबन्धनको संख्या ४३ पुगेको छ । नयाँ सरकार गठनमा दाबी पेस गर्ने प्रदेश प्रमुखले दिएको समयसीमामा एमालेका तर्फबाट दाबी गर्ने–नगर्ने भन्ने टुंगो नलागेको र छलफल भइरहेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
प्रकाशित : श्रावण २८, २०७८ ०९:२२