१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो । 

परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने 

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले प्रवेश पत्रका देखाएपछि खोप लगाउन पाउने भएका हुन् । उनीहरुले अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने बताइएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले अन्तर्गतका ६० हजार विद्यार्थीलाई खोप दिने निर्णय गरेको स्पष्ट पारे । उनका अनुसार कहिलेदेखि खोप दिने भनेर जिल्लाहरुले मिलाउने छन् ।

काठमाडौंका ४ ठाउँमा खोप केन्द्र तोकिएको छ । सैनिक अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी सत्संग केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

मंगलबार पहिला खोप त्यसपछि परीक्षा भन्दै पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरुले नाराबाजी गरेका थिए । जसमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै पाटन क्याम्पसमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ५ वटा विद्यार्थी संगठनले देशभरका विद्यार्थीलाई नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसेकाका कारण कोरोना संक्रमण जोखिम बढेको बताउँदै सम्पूर्ण विद्यार्थीहरुलाई खोप दिनको लागि माग गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै यसअघि सरकारले साउन ३१ मा हुने कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ । त्रिविले भने यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मका परीक्षा यथावत राख्ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको छ । हाल भने भौतिक रुपमै त्रिविका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु सञ्चालन भइरहेका छन् ।

प्रकाशित : श्रावण २७, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?