कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु : कार्यकारी निर्देशक घिसिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत्‌ प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताएका छन् ।प्राधिकरणमा बुधबार कार्यभार सम्हाल्ने क्रममा कार्यकारी निर्देशक घिसिङले फेरि एकपटक 'रिस्क' लिएको बताएका हुन् ।

दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु : कार्यकारी निर्देशक घिसिङ

'दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु । यो भन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरु छैन । प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने कुरा आयो र आम जनमानसमा प्राधिकरणमा एकचोटी आउनुपर्‍यो भनेर मैले फेरि 'रिस्क' लिएको छु,' उनले भने ।

प्राधिकरणको चुनौती एक्लैले मोल्न सक्ने अवस्था नरहेको भन्दै घिसिङले टिमवर्कमा जोखिम मोल्नु पर्नेमा जोड दिए । अबका दिनमा अगाडि कसरी बढ्ने, प्राधिकरणको हाइट कसरी माथि लाने भन्ने कुरामा केन्द्रित हुने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

आफू के-के न गर्ने योजनासहित नआएको भन्दै उनले सुशासन र गुणस्तरीय सेवा प्रवाह प्रमुख रुपमा अगाडि लैजाने, सरकारले उर्जा क्षेत्रमा दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । नेपाल विद्युत्‌ प्राधिकरणको चर्चा विश्वमै रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले उपलब्धिको श्रेय आफूहरुले मात्रै नलिने बताए । 'नेपाल विद्युत् प्राधिकरण विश्वमै चिनिएको छ । सरकारमा को आयो भन्दा पनि विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशक को हुनु पर्छ भन्ने चर्चा हुने गरेको छ । यो प्राधिकरणको उपलब्धि हो । यो मैले मात्रै क्रेडिट लिने होइन । टिमकै उपलब्धि हो ।'

अघिल्लो कार्यकालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र वर्तमान अर्थमन्त्री जनार्दन शर्मा उर्जा मन्त्रालयको जिम्मेवारीमा भएको बेला कार्यभार सम्हालेको स्मरण गर्दै उनले अहिले पनि संयोगले सोही दल र नेपाली कांग्रेस लगायतको गठबन्धन सरकारको पालामा आफूले जिम्मेवारी पाउनु संयोग भएको टिप्पणी गरे । कार्यकारी निर्देशक घिसिङले सरकार, सम्पूर्ण राजनीतिक दल, सहकर्मी, आम सर्वसाधारणको शुभेच्छालाई दोस्रो कार्यकाल आरम्भमा धन्यवादसमेत व्यक्त गरे ।

त्यस्तै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अगाडि बढाएका राम्रा कामलाई निरन्तरता दिने र नराम्रोलाई सच्याउँदै अगाडि बढाउने उनले बताए ।

घिसिङले करिब ११ महिनापछि प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा बुधबार पदबहाली गरेका छन् । दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ। दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

प्रकाशित : श्रावण २७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×