२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एमसीसीबारे राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ : सभामुख

कान्तिपुर संवाददाता

काठमाडौँ — समामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् ।

एमसीसीबारे राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ : सभामुख

सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोलेका हुन् । ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ । जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठिक हुन्छ,’ सभामुख सापकोटाले भने ।

एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिले पारित गर्ने हो भनेर प्रश्न गरेका थिए ।

‘राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्‍मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्,’ सभामुख सापकोटाले भने, ‘हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’

सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रसंगको पनि पत्रकारहरूलाई जवाफ दिएका छन् । ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ, तर असिमित अधिकार भए पनि त्यसको सिमित प्रयोग गर्नुपर्छ,’ उनले भने,‘राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने कुरा हो । त्यो भएन भने प्रतिनिधित्व गर्ने दलहरूबीचमा होस्, होइन भने गठबन्धनमा होस् । त्यसपछि उहाँहरूलाई आफ्ना कुरा भन्छु ।’

प्रकाशित : श्रावण २७, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?