सर्वोच्चको आदेश कुर्दै मुख्यमन्त्री पोखरेल- समाचार - कान्तिपुर समाचार
संकटमा शंकर

सर्वोच्चको आदेश कुर्दै मुख्यमन्त्री पोखरेल

तत्काल राजीनामा नदिने, विशेष अधिवेशनमा सहभागी नहुने
कान्तिपुर संवाददाता

बुटवल — लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म राजीनामा नदिने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

ढकालले अदालतको फैसला आएपछि मात्रै राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने भन्नेबारेमा निर्णय हुने बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए । अधिवेशन संविधानविपरीत रहेकोले विशेष अधिवेशन फिर्ताको माग गर्दै सत्ता पक्ष एमालेका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले मंगलबार निवेदन हेर्न नभ्याइनेमा राखेपछि विपक्षी गठबन्धन अधिवेशनको अन्तिम तयारीमा जुटेका छन् । सत्ता पक्षले विशेष अधिवेशनमा सहभागी नभए पनि प्रक्रिया अघि बढाउन विपक्षीले दबाब दिएका छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

विपक्षी गठबन्धनका ३४ प्रदेशसभा सदस्यले सरकारविरुद्ध साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले उक्त मागअनुसार आजका लागि विशेष अधिवेशन आह्वान गरेपछि त्यसलाई रोक्नका लागि मुख्यमन्त्री पोखरेल २२ गते काठमाडौं पुगेका थिए ।

विशेष अधिवेशन रोक्न माग गर्दै प्रदेशसभा सदस्य लीला गिरीमार्फत दर्ता गराइएको रिट मंगलबारका लागि पेसी तोकिएको थियो । तर सर्वोच्चले सुनुवाइ नै नगरी ‘हेर्न नभ्याइने’ सूचीमा राखिदिएपछि मुख्यमन्त्री पोखरेल थप संकटमा परेका हुन् ।

प्रकाशित : श्रावण २७, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

यौन उत्पीडनमा दोषी पाइएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — एउटा जाँचमा यौन उत्पीडनको मामिलामा दोषी पाइएपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राजीनामा दिएका छन् । हालसालै सार्वजनिक भएको उक्त जाँचको प्रतिवेदनमा कुओमोले केही महिलामाथि यौन उत्पीडन गरेको पाइएको बताइएको थियो ।

आफूमाथिको आरोप निराधार भएको बताउँदै आएका कुओमोले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘म पदबाट राजीनामा दिएर यस विषयमा सहयोग गर्न चाहन्छु ।’

कुओमोले आफ्नो राजीनामा १४ दिनभित्र लागू हुने बताएका छन् । अब कुओमोलाई लेफ्टिनेन्ट गभर्नर क्याथी होचुलले प्रतिस्थापन गर्नेछिन् । उनी न्युयोर्क राज्यको पहिलो महिला गभर्नर बन्नेछिन् । राष्ट्रपति जो बाइडेनसमेत थुप्रै डेमोक्रेटिक नेताहररूले कुओमालाई राजीनामाका दबाब दिइरहेका थिए ।

एक वर्षअघि कोरोना महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै कुओमोको निकै प्रशंसा भएको थियो । न्युयोर्कका महान्यायाधिवक्ताले तयार पारेको रिर्पोटमा कुओमोले करिब एक दर्जन महिलामाथि यौन दुर्व्यहार गरेको बताइएको छ । उनले अस्वभाविक रुपमा महिला कर्मचारीहरुलाई छोएको र अस्वभाविक प्रतिक्रिया जनाएको बताइएको छ ।

प्रकाशित : श्रावण २७, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×