३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

फैसला चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालत परिसर पुगेकी एसिडपीडित आरती साह पक्राउ

एसिड विक्रेतालाई सफाइ दिएकाले आफू अन्यायमा परेको भनाइ
अजित तिवारी

जनकपुर — एसिड विक्रेतालाई अदालतले सफाइ दिएकोमा चित्त नबुझेको भन्दै  धनुषा जिल्ला अदालतमा  आपत्ति जनाउन पुगेकी एसिडपीडित आरती साहलाई पक्राउ गरिएको छ ।

फैसला चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालत परिसर पुगेकी एसिडपीडित आरती साह पक्राउ

आरतीले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छिन् । उनी केही बेरअघि भाइ राजा साहसँगै धनुषा जिल्ला अदालत पुगेकी थिइन् । एसिड विक्रेता नागेन्द्रलाई सफाइ दिएको खबर सुनेपछि आरती काठमाडौंबाट मंगलबार बिहान जनकपुर आइपुगेकी थिइन् ।

भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो । ‘प्रहरीले मलाई र मेरो भाइलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको छ,’ हिरासतमा रहेकी आरती फोनमा कान्तिपुरसँग भनिन्, ‘मलाई अन्याय भएको छ । न्याय नपाएसम्म लडिरहन्छु ।’

प्रहरी कार्यालयमा आरती र उनका भाइ राजालाई राखिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले आरतीलाई पक्राउ गरिएको र उनको मुद्दामा अदालतले सुनाएको आदेशबारे जानकारी नरहेको बताए । ‘जिल्ला प्रशासन कार्यालयको एउटा मिटिङमा छु । अदालतमा के भएको मलाई थाहा भएन । बुझ्छु,’ एसपी रानाभाटले भने ।

अदालत परिसरमा गएर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई जिल्ला प्रहरी कार्यालय लिएर आएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले स्वीकार गरे । उनले आरतीसँग सोधपूछ भइरहेको बताए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको थियो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार कसुर ठहर गरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुनेछ । एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन्, जसलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको थियो ।

प्रकाशित : श्रावण २६, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?