कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा नेपालीको होम आइसोलेसनमै जाँदै छ ज्यान

होम कार्की

काठमाडौँ — मलेसियामा सुरक्षा गार्डको काम गर्दै आएका सुर्खेतका बमबहादुर खड्काको होम आइसोलेसन (कोठा) मा मृत्यु गयो । उनलाई गत जुलाई २३ मा कोभिड संक्रमण देखिएको थियो । अवस्था जटिल बन्दै गए पनि समयमा अस्पताल पुर्‍याउन नसक्दा उनको ज्यान गएको हो ।

मलेसियामा नेपालीको होम आइसोलेसनमै जाँदै छ ज्यान

‘हामी ५ जना एकै ठाउँमा आइसोलेसनमा बसेका थियौं, बमबहादुरको स्वास्थ्य अवस्था हाम्रोभन्दा गम्भीर बन्दै गयो, तीन दिनसम्म पनि अस्पताल पठाउन सकिएन,’ बमबहादुरसँगै बसेका एक नेपाली श्रमिकले भने, ‘कम्पनीलाई सुनायौं, उसले अस्पताल लैजान सकेन । एम्बुलेन्सलाई फोन गर्‍यौं तर त्यो पनि आएन ।’

उनीहरू रेभिन्यु आइकन सेक्युरिटी कम्पनीमा काम गर्थे । ‘समयमा अस्पताल पुर्‍याउन सकिएको भए बमबहादुरको ज्यान जोगिन्थ्यो होला,’ उनका सहकर्मीले भने, ‘हामीलाई साह्रै दुःख लागेको छ ।

होम आइसोलेसनमा बसिरहेका जेके सेक्युरिटी कम्पनीमा कार्यरत बुटवलका मनि बोहराको पनि होम आइसोलेसनमै ज्यान गयो । उनको अवस्था निकै गम्भीर बनेपछि मात्रै एम्बुलेन्स पुगेको थियो । ‘ढिलो गरी एम्बुलेन्स आयो, गम्भीर छ कि छैन भनेर हेर्दाहेर्दै मृत्यु भयो,’ बोहराका सहकर्मीले भने, ‘कोभिडले अकालमा साथीहरूलाई लगिरहेको छ ।’

दुई सातायता मलेसियामा कोभिड संक्रमण दिनहुँ उकालो लागिरहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै १९ हजार २ सय ५७ जनामा संक्रमण देखियो भने १४ विदेशी श्रमिकसहित २ सय १० जनाको मृत्यु भयो । जम्मा एक्टिभ केस २ लाख २४ हजार १ सय २० पुगेको छ । त्यसमध्ये स्वास्थ्य अवस्था गम्भीर भएकाको मात्रै अस्पतालमा उपचार भइरहेको छ । कोरोना देखिएयता १० हजार जनाको मृत्यु भइसकेको छ । तीमध्ये कम्तीमा ६५ जना नेपाली छन् । गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापाले पछिल्लो साता नेपालीको मृत्यु बढेको बताए । ‘गम्भीर अवस्था नभएसम्म एम्बुलेन्सले लैजाँदैन, कसैले बोलाएमा एम्बुलेन्समा आएको चिकित्सकको टोलीले चेक गर्छ, अक्सिजन लेभल नाप्छ, मुटुको धड्कन हेर्छ, धेरै गम्भीर छैन भने छाडेर जान्छ,’ उनले भने, ‘यसले मृत्युदर थप बढ्न गएको छ ।’

थापाका अनुसार बिरामी राख्ने ठाउँ नहुँदा संक्रमितले समयमै उपचार पाउन सकेका छैनन् । संक्रमण देखिए पनि मानसिक तनावमा परेको देखिन थालेको छ । संक्रमण पुष्टि भएपछि केही कामदारले आत्महत्या पनि गरेका छन् । पेनाङको सुंगाई बकाबस्थित मोडा पेपर कम्पनीमा कार्यरत चितवनका टंक तामाङले होम आइसोलेसनमै आत्महत्या गरे । उनी घर फर्कने तयारीमा थिए । ‘यहाँको पछिल्लो स्थिति बेहाल बन्दै गएको छ’, उनले भने । पछिल्लो समय महामारीबाट सुरक्षा गार्ड र सफाइ क्षेत्रमा काम गर्ने श्रमिक बढी प्रभावित छन् । संक्रमण बढ्दै गएपछि कम्पनीहरूले संक्रमितलाई अस्पताल लैजानसमेत छाडेका छन् । ‘अहिले कम्पनीले श्रमिकलाई वास्ता गर्न छाडेको छ, श्रमिक चिन्तित छन्,’ मलेसियामा कार्यरत सीताराम बस्नेतले बताए । क्याम्पहरूमा विदेशीको मृत्युदर बढ्न थालेपछि श्रमिक हतास देखिएको दीपक बम्जनले बताए । ‘यस्ता दुःखद खबर दिनप्रतिदिन सुनिरहँदा अत्यास लाग्छ,’ उनले भने ।

एक वर्षअघिदेखि नै मलेसियामा कोरोना महामारीको अवस्था चिन्ताजनक छ । महामारीकै कारण श्रमिक आपूर्तिमा रोक लगाइएको छ । बाहिरी मुलुकबाट श्रमिक ल्याउन नपाएपछि मलेसियामा रहेका विदेशी श्रमिक पनि स्वदेश फर्कन पाएका छैनन् । अध्यागमन कार्यालयहरू बन्द भएकाले श्रमिकको भिसासमेत नवीकरण हुन सकेको छैन । कागजातविहीन भएपछि उनीहरू खोपसँगै अन्य स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

‘खोप लगाउन पहिल्यै नाम दर्ता गर्नुपर्छ, त्यसका लागि माइसा जात्रा भन्ने एप्लिकेसन छ । यसबाट समय लिएपछि मात्रै खोप केन्द्रमा परिचयपत्र लिएर जानुपर्छ । त्यसका लागि राहदानी अनिवार्य गरिएको छ । धेरै कानुनी हैसियत नभएका साथीहरूले खोप लगाउन पाएका छैनन् । अस्पताल जान पनि पाएका छैनन्,’ मलेसियामा कार्यरत त्रिलोचन गौतमले भने, ‘कागजातविहीन कामदारलाई काम लगाउने कम्पनीले यस्तो बेवास्ता नै गर्दैन ।’

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार ठूला कम्पनीमा कार्यरत श्रमिकले खोप पाइसकेका छन् । ‘खोप खरिद गर्न नसक्ने साना कम्पनीमा कार्यरत श्रमिकले सरकारकै मुख ताकेर बस्नुपरेको छ,’ उनले भने, ‘जसले गर्दा श्रमिकको स्वास्थ्य जोखिममा छ ।’ आइसोलेसनमा बसेका संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन नसक्नु दुःखद रहेको मलेसियामै रहेका कामदारी कुमार खत्रीले बताए । ‘होम आइसोलेसनमै छट्पटिएर मृत्यु हुँदासमेत अस्पताल नपुर्‍याउनु कम्पनीको लापरबाही हो,’ उनले भने, ‘समयमै अस्पताल नलैजाने कम्पनीलाई दबाब दिन नेपाली दूतावासले सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ ।’

क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसिया सरकारले कोरोना संक्रमित विदेशी कामदारको विवरण सार्वजनिक नगरेकाले नेपाली श्रमिकको अवस्था यकिन हुन नसकेको जनाएको छ । ‘बिरामी आत्तिएका देखिन्छन्, कम्पनीले अस्पताल लगे पनि अस्पतालले भर्ना लिन मानेको छैन,’ श्रम काउन्सिलर दीपक ढकालले भने, ‘अवस्था गम्भीर बनेका श्रमिकको उपचारका लागि हामीले कम्पनीसँग समन्वय गरिरहेका छौं ।’

प्रकाशित : श्रावण २४, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?