लन्डन विश्वविद्यालयमा कुसुन्डा वक्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डन विश्वविद्यालयमा कुसुन्डा वक्ता

काशीराम डाँगी

रोल्पा — कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् ।

बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन उनले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट बुधबार राहदानी लिएकी हुन् । अब उनी बेलायत यात्राको पर्खाइमा छिन् । ‘अब बेलायत जान्छु र नयाँ ठाउँमा घुम्छु,’ उनले भनिन्, ‘त्यहाँ हाम्रो भाषा बोलेर सुनाउँछु । मेरो भाषा फैलाउँछु ।’

रोल्पाको रुन्टीगढी गाउँपालिका–९ सखीस्थित टुनिबोट गाउँमा हुर्केबढेकी कमला कुसुन्डा भाषाकी एक्ली वक्ता हुन् । टुनिबोटमा बस्दै आएका कमलाका दाजु लालबहादुर कुसुन्डा आफ्नो मातृभाषाबारे खासै जानकार छैनन् । ‘मैले बुबाआमाबाट भाषा सिकेकी हुँ,’ ४८ वर्षीया कमलाले भनिन्, ‘दाइ राम्रोसँग बोल्न सक्नुहुन्न, त्यसैले उहाँले यो भाषा सिक्न सक्नुभएन ।’ कुसुन्डा भाषाका अध्येता उदय आलेमगरका अनुसार लन्डन विश्वविद्यालयको निम्तोमा आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन वक्ताका रूपमा कमलालाई पनि लन्डन पुग्ने निम्तो छ ।

कुसुन्डा भाषाबारे अध्ययन गर्दा कमलालाई वक्ताका रूपमा त्यहाँ लैजान आलेले विश्वविद्यालयसँग समन्वय एवं प्रस्ताव गरेका हुन् । ‘मैले अनुसन्धान गरेको विषय पनि कुसुन्डा भाषासम्बन्धी हो,’ आलेले भने, ‘वक्तालाई पनि एकपटक त्यहाँ लैजान सकूँ र भाषाबारे थप अध्ययन बढाउन सकूँ भनेर मैले विश्वविद्यालयसँग यो प्रस्ताव गरेको हुँ । विश्वविद्यालयले स्वीकृति दिएको छ ।’ लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा भाषा जोगाउन पाएकामा खुसी लागेको उनले प्रतिक्रिया दिए ।

यसअघि कुसुन्डा भाषासम्बन्धी शब्दकोशसमेत प्रकाशित गरिसकेका उनले लन्डनमा वक्ताका रूपमा कमलालाई लैजान पाउँदा कुसुन्डा भाषालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने दाबी गरे । आलेले मगर र थारू भाषा र संस्कृतिबारेमा अध्ययन गर्दै छन् ।

केही वर्षयता दाङस्थित लमही–६ कुलमोडमा बस्दै आएकी कमलाको बिहे भने गैरकुसुन्डासँग भएको हो । उनको बिहे खत्रीसँग भए पनि कुसुन्डा भाषा वक्ताका रूपमा कमलाले अरूलाई पनि सिकाउन लागिपरेकी छन् । केही वर्षअघि भाषा आयोगको आयोजनामा दाङमा कुसुन्डा भाषाको औपचारिक कक्षासमेत सञ्चालन गरिएको थियो । तत्कालीन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आफैंले आएर कुसुन्डा भाषाबारे अध्ययन र कक्षा चलाउन सक्रियता देखाएका थिए । नातामा कमलाकी दिदी पर्ने ज्ञानीमैया कुसुन्डा आफ्नो भाषाकी अग्रज वक्ता थिइन् । उनको दुई वर्षअघि ८४ वर्षको उमेरमा निधन भएको हो । जीवितै रहेको ज्ञानीमैयाले बेलायत जान पाउने थिइन् । उनको अवसानपछि कुसुन्डा भाषाकी सक्षम वक्तामा रूपमा अब कमला एक्ली हुन् ।

ज्ञानीमैया र कमलालाई आयोगले कुसुन्डा भाषाका स्रोत व्यक्तिका रूपमा खटाएको थियो । उनीहरू त्यस सन्दर्भमा काठमाडौंसम्म पनि पुगेका थिए । आयोगले कुसुन्डा भाषा सिकाएबापत दुवैलाई मासिक ३ हजार भाषिकवृत्ति रकम प्रदान गरेको थियो । दाङमा सञ्चालन गरिएको कुसुन्डा भाषा कक्षामा सहभागी भई भाषा सिक्न कमलाकी भाउजू बेलमतीसमेत पुगेकी थिइन् । कमलाका दाजु लालबहादुरले बोल्न नसक्ने भएकाले कमलाकै पहलमा भाउजूलाई सहभागी बनाइएको अध्येता आलेले बताए । गाउँकै पुनमगरकी छोरी बेलमतीसँग एक दशकअघि विवाह गरेका लालबहादुरकी १० वर्षकी एउटी छोरी छन् ।

रोल्पाका एक्ला कुसुन्डा लालबहादुरको परिवारका लागि सरकारले घरसमेत बनाइदिएको छ । उनलाई स्थानीय सरकारले समेत सहयोग गर्दै आएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए । ‘लोपोन्मुख जाति र भाषा जोगाउन हामीले सक्ने साथ सहयोग दिँदै आएका छौं,’ अध्यक्ष बुढाले भने ।

कुसुन्डा विकास समाजले देशभर कुुसुन्डाको संख्या २ सय ७३ जना रहेको तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये दाङमा ९८ र रोल्पामा ३ जना छन् । केही वर्षअघि दाङमा भाषा कक्षा चलाउँदा रोल्पा, दाङ र प्यूठानबाट २२ जना सिक्न पुगेका थिए । सिकाउनका लागि कुसुन्डा भाषालाई चार चरणमा विभाजित गरिएको थियो । पूरै ३ सय ६० घण्टा पढाइ भएकामा पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहार गर्दा बोलिने भाषा सिकाइएको थियो । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी र तेस्रो चरणमा पाठ्यक्रममा आधारित भाषा सिकाइ थियो भने चौथो चरणमा कुसुन्डा भाषाका शब्दावली, व्याकरणसम्बन्धी जानकारी दिइएको आयोगले जनाएको छ ।

दाङको लमहीस्थित कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार वनमै रमाउने, खेतीपाती नगर्ने र जंगलमै डुलिहिँड्ने कुसुन्डाको पुर्ख्यौली चलन हो । वनमा रहँदा समूह बनाएर बस्ने, कन्दमूल खाने, धनुकाँडबाट सिकार खेल्ने र मागेर जिउ पाल्ने परम्परागत गतिविधि रहेको उनले बताए । ‘तर, अहिले भाषा जोगाउन आपत् छ,’ धनबहादुरले भने, ‘हाम्रो समाज वनबाट गाउँमा सरेपछि हाम्रा आनीबानीमा पनि फरकपन आएको छ ।’

अध्येता आलेका अनुसार वनमै बस्ने भएकाले कुसुन्डालाई ‘वनराजा’, ‘कुसुन्डा’, ‘वनकरिया’ लगायतका नामले चिनिन्छ । कुसुन्डाको बाक्लो बसोबास रहेको लमहीको कुलमोड छेउको वन क्षेत्र हो । त्यहाँ रोल्पा र प्यूठानबाट बसाइँ सरेका कुसुन्डा बस्छन् । कुसुन्डा समुदायलाई सहयोग गर्दै आएका लमही नगरका प्रमुख कुलबहादुर केसीले पहिले कुसुन्डा भाषा संरक्षण गर्न भाषा कक्षा चलाइएको र हाल जीविकोपार्जनमा सहयोग गर्दै आएको बताए । कुसुन्डाजस्तै नगर प्रमुख केसी पनि रोल्पाबाटै बसाइँ सरेर लमही झरेका हुन् ।

प्रकाशित : श्रावण २४, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

घर छाडेर जान्छन्, फर्कंदैनन्

पीडितले क्षतिपूर्ति नपाउँदा परिवारको बिजोग, मजदुरी गर्न जानेको दुर्घटना बिमासमेत हुँदैन
काशीराम डाँगी

रोल्पा — सुकबहादुर पुन ह्वीलचेयरमा ओहोरदोहोर गर्छन् । घर र आँगन नै उनको संसार बनेको छ । कुनै बेला हातपाखुरा खियाएर परिवारको रेखदेख गर्दै आएका उनी अरूको सहारामा निर्भर छन् । गाउँमा स्वरोजगारको उपाय नभएपछि काम खोज्दै उनी उवाबाट मुस्ताङ पुगेका थिए ।

२०७५ असार २२ मा दुर्घटनामा परेर गम्भीर घाइते दुई जनामध्ये सुकबहादुर एक हुन् । उक्त दुर्घटनामा १० मजदुरको मृत्यु भएको थियो । उनीहरू मुस्ताङको दामोदरकुण्ड–३ स्याङबोचेमा सडक निर्माणमा खटिएका थिए । रोल्पालीहरु आकर्षक ज्यालाको आसले बर्सेनि स्वदेश र विदेशमा मजदुरीका लागि पुग्ने गरेका छन् ।

२०७३ भदौ पहिलो साता भारतको हिमाचलस्थित रामपुरनजिक पहिरो खस्दा जिल्लाको तालाबाङस्थित रिजाबाङका लक्ष्मीराम घर्तीको परिवारै पुरियो । उक्त खबर भारतीय सञ्चारमाध्यममार्फत करिब दुई सातापछि गाउँमा पुगेको थियो । प्रशासनलाई पनि उनीहरूको ठेगाना पहिचान गर्न मुस्किल परेको थियो । ‘खबर सुनेपछि हामी मूर्छित भयौं,’ लक्ष्मीरामकी बुहारी बेबुले भनिन्, ‘तर दुःख सहनुको विकल्प थिएन ।’ आफन्त पदम घर्तीमगरका अनुसार दुर्घटनामा पर्नुभन्दा ६ वर्षअगाडि परिवारसहित लक्ष्मीराम गाउँ आएका थिए । ‘फर्केर गएपछि परिवारै पहिरोमा परेको खबर आयो,’ उनले भने, ‘कमाउन गएको एउटा परिवारै गुमाउनुपर्‍यो ।’ अहिले उनको सम्पत्ति लथालिंग छ । घर भत्कियो, जग्गा बाँझो छ ।

जिल्लाको होलेरी नजिक बाइजा गाउँबाट कामको खोजीमा प्यूठान पुगेका एकै गाउँका ७ युवाको एक वर्षअघि ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भयो । भिंगृ–स्वर्गद्वारी सडक कालोपत्र योजनामा कार्यरत उनीहरू साउने संक्रान्ति मनाएर घरबाट कार्यस्थल फर्कने क्रममा ट्र्याक्टर दुर्घटनामा परेका थिए । रोल्पाको रुन्टीगढी–५ का सागर बस्नेत, रिमबहादुर बस्नेत, कविराम बस्नेत, वीरेन्द्र बाठामगर, थमन बाठा मगर र गोवर्द्धन बुढामगरको मृत्यु भएको हो । त्रिवेणी–२ नुवागाउँका चालक कमल कुँवरको पनि घटनास्थलमै मृत्यु भएको थियो भने रोल्पा बाइजाकै विशाल थापा भने हाम फालेर जोगिएका थिए । उनीहरू ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीअन्तर्गत काम गर्थे । रुन्टीगढी–५ का वडाध्यक्ष नेपबहादुर थापाले राहतसमेत नपाएकाले कमाउने व्यक्तिको मृत्यु भएपछि अन्य सदस्यको अवस्था निकै दुःखपूर्ण भएको बताए । ‘सामान्य किरिया खर्च मात्रै पाएका थिए,’ उनले भने, ‘उनीहरूको परिवारको अवस्था अहिले दयनीय छ ।’

गत साउन ४ को राति मजदुरी गर्न बागलुङ पुगेका यहाँको गजुलका ४ जनाको विषाक्त मदिरा सेवनले मृत्यु भयो । गलकोटस्थित खानेपानी योजनामा काम गर्न पुगेको एक महिनामै उनीहरूको ज्यान गएको हो । सुनील स्मृति–५ का प्रवीण घर्ती, रेखबहादुर राना, दीपेन्द्र पुनमगर र दूधबहादुर रानाको मृत्यु भएको थियो । रवीन्द्र पुन र खेमराज घर्ती गम्भीर बिरामी भएका थिए । आफैंले पसलबाट मदिरा खरिद गरेर सेवन गरेको र त्यसबाटै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको खोजीमा विभिन्न स्थानमा पुग्ने सर्वसाधारणलाई काममा लगाउने कम्पनी र राज्यले पर्याप्त क्षतिपूर्तिको व्यवस्था नगरेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए । यसरी दुर्घटनामा ज्यान गुमाएपछि परिवारको आर्थिक अवस्था झन् खस्किएको उनले बताए । ‘गाउँमा काम दिन सकिएको छैन,’ उनले भने, ‘गाउँलेहरू मजदुरका रूपमा मुस्ताङ पुग्ने गरेका छन् । कुनै ठूलो दुर्घटना भएमा ठूलै क्षति हुन्छ ।’ प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले काम खोज्दै जिल्लाबाहिर पुग्नेको यकिन तथ्यांक नरहेको बताए । ‘अधिकांश ठेकेदारमार्फत काम जहाँ पाउँछन्, त्यहाँ पुग्छन्,’ उनले भने, ‘दुर्घटना भएपछि जानकारी आउने गरेको छ ।’

कम ज्याला पाएर पनि काम खोज्दै मुलुकभित्रैका स्थान र भारतमा समेत मजदुरी गर्न ठूलो संख्यामा जिल्लावासी जाने गरेका छन् । तर स्थानीय तह र प्रशासनले त्यसबारे कुनै तथ्यांक राख्ने गरेका छैनन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले स्थानीय तहले पूर्वाधारका योजना सञ्चालन गर्दा यहीं पनि काम पाउन सक्ने सम्भावना हुँदाहुँदै कतिपय बाहिर जाने गरेको बताए । रोल्पा नगर प्रमुख पूर्ण केसीका अनुसार बर्सेनि काम खोज्न बाहिर जानेहरूको लामो लस्कर देखिन्छ । कोरोना महामारी सुरु भएपछि घर फर्की आएकाहरूलाई व्यवस्थित गर्न निकै प्रयास गर्नुपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दक्ष र अर्धदक्ष मजदुरलाई ठेकेदार वा नाइकेले लैजाने गरेका सूचना प्राप्त भए पनि त्यसबारे सोधीखोजी नगरिएको बताए । ‘कुनै दुर्घटना भयो भने वा अन्य कारणले सूचना र अनुसन्धान गर्नुपर्ने भएमा मात्रै हामीसम्म सोधीखोजी गर्न आग्रह हुने गरेको छ । अन्यथा यसबारे कसैले सोध्दैन,’ प्रजिअ सापकोटाले भने । स्थानीय तहमार्फत सूचना संकलन गरेमा केही तथ्यांक संकलन गर्न सकिने उनको भनाइ छ । अर्कातिर स्थानीय तहले चाहेमा मजदुरलाई दक्ष बनाउन आवश्यक तालिम दिने र विवरणसमेत राख्न सकिने सम्भावना रहेको उनले बताए । ‘ठेकेदार वा नाइकेमार्फत मजदुरी गर्न जानेहरूको बिमा बने/नबनेको बारे जानकारी हुँदैन,’ उनले भने, ‘सबै मजदुरको दुर्घटना बिमा गर्ने प्रावधान कार्यान्वयन गर्न सकेमा सुरक्षाको उच्च व्यवस्था मिलाउन सकिन्छ ।’

यकिन तथ्यांक नभए पनि बर्सेनि सयौं मजदुर जिल्लाबाहिर पुगेर मजदुरी गर्छन् । केहीले सडक वा अन्य दुर्घटनामा परी ज्यानसमेत गुमाउने गरेका छन् । मजदुरको खोजी दुर्घटना भएपछि मात्रै हुने गरेको छ । जिल्लाबाट मजदुरी गर्न जानेहरूको दुर्घटना बिमा गर्ने चलन छैन । बिमा र सामाजिक सुरक्षाको व्यवस्था अभावमा पीडितलाई क्षतिपूर्तिसमेत मिल्न मुस्किल पर्दै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×