कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्लुका बिरामी देखिन थाले, कोभिड र फ्लु कसरी छुट्याउने ?

बुनु थारु

काठमाडौँ — केही दिनअघि २३ वर्षीया एक महिलामा ज्वरो आउने, घाँटीमा एकदम अप्ठ्यारो जस्तो हुने, खोकी लाग्ने लक्षण देखिए । कोरोनाको आंशकाले उनले पीसीआर गराइन् तर रिपोर्ट नेगेटिभ आयो । फ्लु जाँच गर्दा भने पोजेटिभ देखियो ।

फ्लुका बिरामी देखिन थाले, कोभिड र फ्लु कसरी छुट्याउने ?

त्यस्तैगरी दुई हप्ता अगाडि एक परिवार रुघाखोकी अनि ज्वरो आउने लक्षण देखिएको भन्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनको सम्पर्कमा आए । उनीहरुले कोरोनाका डरले ३ पटकसम्म पीसीआर गराइसकेका रहेछन् रिपोर्ट नेगेटिभ मात्र देखाइरहेको थियो । पछि फ्लु जाँच गर्दा सबैमा पोजेटिभ देखियो । डा. पुन यस्तै खालका केसहरु फाट्टफुट्ट रुपमा अस्पतालमा आउन सुरु गरेको बताउँछन् । उनका अनुसार उपत्यकामात्र होइन फ्लुका केसहरु उपत्यबाहिर पनि भेटिन सुरु गरेका छन् ।

डा. पुन भन्छन्, ‘फ्लुका पनि जोखिम छन् । फ्लुको सिजन सुरु भइसक्यो । कोरोनाले ओझेल परेको हो । कोरोना र फ्लुको लक्षण मिल्दोजुल्दो भएकाले पनि तनाव दिन सक्छ ।’ उनका अनुसार फ्लु ‘ए’ र ‘बी’ले मानिसलाई बढी सताउँछ ।

फ्लु के हो ?

फ्लु भनेको इनफ्लुएन्जा भाइरसले हुने रोग हो । फ्लुले सबै उमेरलाई प्रभावित पार्ने भएतापनि ५ वर्षमुनिका बालबालिका तथा ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दमरोगी, मधुमेह, क्यान्सर, एचआईभी एड्स, मुुटुरोगी आदि उच्च जोखिममा रहन्छन् ।

नेपालमा जनवरी–फेबु्रअरी र बर्खाको बेलामा जुलाई–अगस्ट फ्लुको सिजन हो । साधारण फ्लुले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । निमोनियादेखि अस्पताल भर्ना हुने गरी सिकिस्त बनाउन पनि सक्छ । फ्लुबाट बच्न सरसफाइमा ध्यान दिन जरुरी छ । जोखिम समूहले फ्लुको खोप लगाउन सक्छन् । यसले एक वर्षसम्म काम गर्दछ ।

फ्लु र कोभिड कसरी छुट्याउने ?

फ्लु र कोभिड दुवै श्वासप्रश्वासको रोग भएकाले मिल्दोजुल्दो भएपनि केही फरक भने पक्कै पनि रहेका छन् । दुवै फरक भाइरसबाट बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ कोरोना भाइरस र फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँदछन् । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकी तथा पखाला लाग्ने, स्वाद र गन्ध थाहा नपाउने यी दुवै भाइरसका साझा लक्षण हुन् ।

त्यसैगरी दुवै भाइरसको सर्ने लक्षण पनि उस्तै नै छन् । संक्रमित व्यक्तिको सम्पर्क आउँदा, थुकको छिटाबाट भाइरस सर्न सक्छन् । भाइरस देखिएको मान्छेले सरसफाइमा ध्यान दिने र हाच्छ्युँ आउँदा मुख छोप्ने गर्नुपर्छ ।

यी दुवै भाइरसको सर्ने अवधि फरक हुन्छ । फ्लु ३ दिन अवधिमा सर्ने हुन्छ भने कोराना भाइरस ५ देखि ६ दिनभित्रमा सर्ने गर्दछ । त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन् । रुघाखोकी लागेमा त्यति कडा हुँदैन । नाकबाट पानी बग्ने, सामान्य ज्वरो आउने, खोकी लाग्ने अनि हाच्छ्युँ आउने हुन्छ । यसका लक्षणहरु केहीदिन मात्र देखिन सक्छन् भने फ्लु लागेमा तपाईंलाई हप्तादिनभन्दा बढी पनि लक्षणहरु देखिन सक्छन् ।

कोरोनाजस्तै लक्षण देखिएमा एकपल्ट फ्लुको पनि जाँच गराउँदा ढुक्क हुन सकिने विज्ञ बताउँछन् । फ्लुको लक्षण देखिएमा घरमै झोलिलो खानेकुरा खान चिकित्सक जोड दिन्छन् ।

बढ्दै फ्लु

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक अध्ययन अनुसार सिजनल फ्लुले बर्सेनि २ लाख ९१ हजारदेखि ६ लाख ४६ हजारसम्मको मृत्यु हुने आकलन गरेको छ ।

डा. पुन भन्छन्, ‘यी दुइटै मिक्स हुँदा कति कडा होला भन्ने अझै पुष्टि भइसकेको छैन । पश्चिमा देशहरुले त ५ गुणाभन्दा बढी मृत्यु हुने भनेर आकलन गरेका थिए यी दुवै हुँदा । नेपालमा भने त्यस्तो नहुन सक्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२० मा २ हजार ९१५ नमुना परीक्षण गर्दा ‘इन्फ्लुएन्जा ए’ ६६१ जनामा देखिएको थियो ‘इन्फ्लुएन्जा बी’ ३१ जनामा देखिएको थियो ।

सन् २०२१ को ३० हप्तासम्मको तथ्यांक हेर्ने हो भने ३ हजार १६ नमुना परीक्षण भएका छन् जसमा इन्फ्लुएन्जा ए १५० जनामा देखिएको छ भने इन्फ्लुएन्जा बी ८ जनामा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको इन्फ्लुएन्जाको नेपालको तथ्यांक हेर्ने भने २१ हप्तादेखि फ्लुका बिरामीहरु बढ्दै गएको देखाएको छ ।

प्रकाशित : श्रावण २१, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?