कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
कोरोना नियन्त्रणमा उदासीनता

बढ्यो संक्रमण, बढेन अक्सिजन

कोभिड लहर फर्किएर दैनिक संक्रमण ४ हजार नाघेको छ, महामारी ओरालो लाग्दा निदाएको स्वास्थ्य प्रणाली कहिले जाग्ने हो थाहा छैन, अक्सिजन पूर्वाधार जोड्न छुट्याइएको बजेट धेरै ठाउँ खर्च नै भएको छैन, किनिएका प्लान्ट पनि त्रिपालले छोपिएका छन्  
कान्तिपुर टिम

काठमाडौँ — प्रदेश १ का १० अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट छुट्याइएकामा धनकुटा, खोटाङ र सोलुखुम्बुले प्रक्रिया नै अघि बढाउन सकेनन् । कोसी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जडान गर्न ६ करोड ८० लाख बजेटका लागि अर्थ मन्त्रालयले जेठ २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । जसमध्ये ८० लाख लागतमा अक्सिजन ट्यांक खरिदका लागि दुईपटक अस्पतालले ठेक्का आह्वान गर्‍यो तर आवेदन नपरेको भन्दै खरिद प्रक्रिया रोकिएको छ ।

बढ्यो संक्रमण, बढेन अक्सिजन

प्रदेश २ को गजेन्द्रनारायण सिंह अस्पतालमा प्लान्ट राख्न टेन्डर भइसक्यो तर उपकरण राख्ने ठाउँ छैन । प्लान्टका लागि भवन निर्माण अन्तिम अवस्थामा पुगेको मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित झाले बताए । वाग्मती प्रदेशको रामेछाप अस्पतालमा पनि भवन अभावमा प्लान्ट राख्न सकिएको छैन । सरकारले असार महिनाभित्रै प्लान्ट सञ्चालनमा ल्याउन अस्पताललाई ७५ लाख विनियोजन गरेको थियो ।

ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरे पनि अक्सिजन प्लान्ट जडान हुने टुंगो छैन । पुरानो निकालेर नयाँ प्लान्ट जडान गर्नुपर्ने भएकाले समय लागेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । यहाँ मन्त्रालय र महानगरको ३ करोड बजेटमा प्लान्ट जडान हुँदै छ ।

अर्थ मन्त्रालयले जेठ ४ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अक्सिजन प्लान्ट विस्तारका लागि स्याङ्जा अस्पताललाई डेढ करोड रुपैयाँ सुनिश्चित गर्‍यो । तर अहिलेसम्म काम हुन सकेको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले प्लान्टका लागि गत असार १५ मा आरोग्य मेडिटेकसँग सम्झौता गरेको बताए ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावमा छटपटिएर धेरैले ज्यान गुमाए । अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले अकालमा मृत्यु हुने क्रम रोक्न जिल्ला अस्पतालमा समेत अक्सिजन प्लान्ट जडानलाई प्राथमिकता दियो । कोरोना संक्रमितको उपचार सहज बनाउन अक्सिजन प्लान्ट, ट्यांक, आईसीयू, भेन्टिलेटर, पीआईसीयू, एचडीयू व्यवस्थापन गर्न अर्थ मन्त्रालयले स्वास्थ्यलाई करिब ५ अर्ब रुपैयाँको सहमति दिएको थियो । ७७ वटै जिल्ला अस्पताल र १९ वटा ठूला अस्पतालमा अक्सिजन प्लान्ट थप्न स्रोत सुनिश्चित गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २७ वटा ट्यांक जडान भइसक्नुपर्नेमा असार १५ सम्म २ वटा मात्रै जडान भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ४ वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भइसकेको बताए ।

मन्त्रालयका अनुसार विगतमा एक सातामा १५ मेट्रिक टन आपूर्ति हुने गरेकामा अहिले १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ । मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले भने, ‘भदौभित्र सबै संरचना र उपकरण जडान भइसक्नेछन् । सरकारले भदौ मसान्तसम्म अक्सिजन प्लान्ट, ट्यांकलगायतका उपकरण खरिद गरे भुक्तानी दिने निर्णय गरेको छ ।’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अपेक्षित उपलब्धि नदेखिएको बताए । ६ हजार ३ सय ७७ अक्सिजन सिलिन्डर र ५ हजार ५ सय अक्सिजन कन्सन्ट्रेटरको जोहो गरिसकेको उनले बताए ।

कात्तिक–मंसिरमा तेस्रो लहर उच्च बिन्दुमा पुग्ने आकलन गरेर असोजसम्म सम्पूर्ण संरचना बनाउने योजना अघि सारेर सरकारले बजेट पठाएको थियो । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘ठूला अस्पतालमा समेत अक्सिजन प्लान्ट थिएन । बिग्रिएकालाई सञ्चालनमा ल्याउनेदेखि थप प्लान्ट जडान गर्न बजेट पठाइएको थियो ।’ त्रिपाठीकै गृह जिल्लाको पृथ्वीचन्द्र परासी अस्पतालमा समेत अक्सिजन प्लान्ट जडानको काम सकिएको छैन । त्रिपाठीकै पहलमा अर्थ मन्त्रालयले जेठ २ गते १ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेर अक्सिजन प्लान्ट र पाइपलाइन विस्तार गर्न पत्राचार गरेको हो । प्लान्ट स्थापनाका लागि टेन्डर भएर काम सुरु भएको र भदौ मसान्तभित्र काम सकिने अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले बताए ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालमा ७५ लाखमा अक्सिजन प्लान्ट राख्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो । यसको जस सभामुख अग्निप्रसाद सापकोटा कि एमाले सांसद शेरबहादुर तामाङले लिने भन्ने हानथाप नै चल्यो । ठेक्का लागे पनि काम भएको छैन । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार प्रदेश सरकार सामाजिक तथा विकास मन्त्रालयले टेन्डर आह्वान गरेको थियो । ‘ठेकेदार र प्राविधिक टोली अक्सिजन प्लान्ट राख्ने स्थान अध्ययन गरेर फर्किएका छन्,’ चापागार्इंले भने । यो अस्पतालमा मात्रै नभई अक्सिजन प्लान्ट र ट्यांकको आवश्यकता नै नभएका अस्पतालमा समेत नेताको भनसुन र जोडबलमा योजना परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, त्यस्ता योजना कार्यान्वयन भएका छैनन् ।

तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा आईसीयू र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश कुँवरका अनुसार अक्सिजन प्लान्ट राख्ने स्थान नहुनाले भवन बनाउन थालिएको छ ।

तानसेनस्थित पाल्पा अस्पतालमा त्रिपालले छोपेर राखिएको अक्सिजन प्लान्ट । प्लान्टका लागि १ करोड ५० लाख बजेट पाएको अस्पतालले अहिलेसम्म राख्ने ठाउँसमेत बनाउन सकेको छैन । तस्बिर : माधव अर्याल/कान्तिपुर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन प्लान्ट जडान भएको छैन । प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४ वटा प्लान्ट पाइपलाइनमा छन् । यीमध्ये प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिले प्रतिदिन २ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट अस्पताललाई गत साता हस्तान्तरण गरेको छ । उक्त प्लान्ट जडान भइसकेको छैन ।

टेन्डर प्रक्रिया नै रोकियो

प्रदेश १ का १० वटा अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट सुनिश्चित भएको छ । जसमध्ये धनकुटा, खोटाङ र सोलुखुम्बुले बजेट कार्यान्वयनका लागि प्रक्रिया नै अगाडि बढाउन नसकेको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

विराटनगरस्थित कोसी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जडानका लागि ६ करोड ८० लाख बजेट सुनिश्चित गरेर गत जेठ २ गते पत्र पठाइएको थियो । जसमध्ये ८० लाख लागतमा अक्सिजन ट्यांक खरिदका लागि दुईपटक अस्पतालले ठेक्का आह्वान गरे पनि आवेदन परेन । बाँकी ६ करोडबाट आईसीयू र भेन्टिलेटर खरिदका लागि गरिएको ठेक्कामा ४ करोड ९६ लाख ९१ हजार ७८५ रुपैयाँमा आपूर्ति गरी जडान गर्ने सम्झौता गरिसकेको अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

झापाको मेची प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक खरिद तथा जडानका लागि सामाजिक विकास मन्त्रालयमार्फत १० करोड ५६ लाख ५० हजार बजेट सुनिश्चित भएको थियो । ४० लाखमा फोहोर व्यवस्थापन भवनसमेत निर्माण हुने गरी विनियोजित बजेटको ८५ दशमलव ७१ प्रतिशत कार्यान्वयन भएको अस्पतालका लेखा अधिकृत भीम लिम्बूले बताए ।

प्रदेश २ को गजेन्द्रनारायण सिंह अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा पनि प्लान्ट जडान भएको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद यादवले प्लान्टको प्राविधिक काम पूरा भएर भवन निर्माणका क्रममा रहेको बताए । गजेन्द्रनारायण सिंह अस्पताललाई ३ करोड ८० लाख र प्रादेशिक अस्पताल जनकपुरलाई ९ करोड ८० लाख उपलब्ध गराइएको छ । जलेश्वर अस्पतालमा एक साताभित्र अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ ।

संक्रमण नियन्त्रण, उपचार र व्यवस्थापनमा काम गरिरहेका अस्पताललाई थप सुविधायुक्त बनाउन स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका चार अस्पताललाई दुई महिनाअघि करिब १० करोड रुपैयाँ निकासा गरेको थियो । रामेछाप र सिन्धुपाल्चोकमा प्लान्ट निर्माणको प्रक्रिया बढिसकेको छ । हेटौंडा अस्पतालले उपकरण खरिद गरे पनि ठाउँ अभावले प्रयोगमा ल्याउन सकेको छैन ।

तस्बिर स्रोत : एम एण्ड एस म्यागजिन

धुलिखेल अस्पतालमा भने प्रयोगमा ल्याइसकेको छ  हेटौंडा उपमहानगरपालिकाको सक्रियतामा घरजग्गा व्यवसायी संघले २४ घण्टामा १६ वटा ठूला सिलिन्डर भरिने प्लान्ट स्थापना गरिदिएको छ । उद्योग संघ मकवानपुरले अक्सिजन प्लान्ट अस्पताल परिसरमा नै निर्माण गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, आकस्मिक कक्षलगायत क्षेत्रमा उपकरण खरिद गर्न ३ करोड १२ लाख रुपैयाँ उपलब्ध गराएको थियो । आवश्यक उपकरण खरिद गरिसकेको अस्पताल प्रमुख डा. रामचन्द्र सापकोटाले बताए ।

काभ्रेको धुलिखेल अस्पतालले स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त ६ करोड ८० लाख बाट प्लान्टलगायतका पूर्वाधार थपेको छ । ‘संघीय सरकारमार्फत प्राप्त अनुदानले अर्को अक्सिजन प्लान्ट स्थापना गर्न बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइसकेका छौं,’ अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले भने । अनुदानबाटै ८ वटा भेन्टिलेटर मेसिन खरिद गरिएको छ ।

जडान खर्चको खोजी

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चार वटा प्लान्ट हुने भनिएकामा एउटा पनि जडान भएको छैन । दाताले दिएको एउटा प्लान्ट पनि जडान खर्च नहुँदा रोकिएको छ । एउटा प्लान्ट जोड्न गत वर्ष असारमै ठेक्का भएको थियो । ठेकेदार कम्पनी रौताहाका सञ्चालक धर्मराज दाहालले आपूर्तिकर्ताले प्लान्ट दुई महिनाभित्र पठाइसक्ने बताए ।

पोखराको बतास फाउन्डेसनको अगुवाइमा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गर्न गत वैशाखमा अभियान चल्यो । अभियानमा ३ करोड १२ लाख रुपैयाँ संकलन भएको छ । बतासले एक महिनाभित्रै प्लान्ट ल्याउने बताए पनि हालसम्म आउन सकेको छैन । अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले १५ महिना अगाडि सम्झौता भए पनि ठेकेदार कम्पनीले प्लान्ट ल्याउन ढिलाइ गरेको बताए ।

अर्थ मन्त्रालयले गत जेठ ४ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अक्सिजन प्लान्ट विस्तारका लागि स्याङ्जा अस्पताललाई डेढ करोड रुपैयाँको बजेट सुनिश्चित गर्‍यो तर काम सुरु भएको छैन । अस्पतालका मेसु डा. रमेशप्रसाद आचार्यले प्लान्टका लागि गत असार १५ मा आरोग्य मेडिटेकसँग सम्झौता भइसकेको बताए ।

पर्वत अस्पतालमा गत कात्तिकमा जडान गरिएकोअक्सिजन प्लान्ट । तस्बिर : कान्तिपुर

बागलुङस्थित धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि गत जेठ २ गते ३ करोड रुपैयाँको बजेट सुनिश्चित भएको अर्थ मन्त्रालयको भनाइ छ । बजेट नआए पनि अस्पतालले २ करोड ३२ लाखमा आरती मेडिटेक कम्पनीसँग सम्झौता गरेको छ । भदौ मसान्तसम्म निर्माण सक्ने कम्पनीका प्रबन्ध निर्देशक सुरन गुरुङले बताए । धौलागिरि अस्पतालमा २ वर्षअघि पनि अक्सिजन प्लान्ट निर्माण भएको थियो । त्यसले आवश्यकता पूरा नभएपछि नयाँ प्लान्ट बनाउन लागिएको हो ।

तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पताललाई पनि स्वास्थ्य मन्त्रालयले बजेट सुनिश्चित गरेपछि काम थालिएको छ । भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माणका लागि श्वासप्रश्वास केन्द्रलाई ९ करोड र अक्सिजन पाइपलाइन विस्तारका लागि दमौलीलाई ३० लाख रुपैयाँको सहमति मन्त्रालयले दिएको थियो । केन्द्रमा प्लान्ट निर्माण भइरहेको कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । केन्द्रका लेखा अधिकृत बासुराज दाहालका अनुसार प्लान्टका लागि २ करोड १८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

दमौली अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम प्रक्रियामै छ । अस्पतालका मेसु डा. सुनील पौड्यालले गण्डकी प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ बजेट प्राप्त भएकाले गत माघमा अक्सिजन प्लान्टका टेन्डर निकालिएको बताए । ‘ठेकेदार कम्पनी जयशम्भु प्रालिका प्राविधिक काठमाडौंबाट नआएकाले प्लान्ट जडान हुन नसकेको हो,’ उनले भने ।

पूर्वाधार जडान सुस्त

अर्थ मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरी खरिद प्रक्रिया अघि बढाउने सहमति दिएको थियो । गत जेठ ६ मा मन्त्रालयले पठाएको पत्रमा अक्सिजन प्लान्ट खरिद, जडान र हाई डिपेन्डेन्सी युनिट (एचडीयू) जडानका लागि ३ करोड १२ लाख ७० हजार रुपैयाँ विनियोजन गरी काम अघि बढाउने सहमति दिइएको छ । प्लान्टलगायत सबै उपकरण जडान सकिएको उपकुलपति डा. संगीता भण्डारीले बताइन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मन्त्रालयले १० करोड ४७ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रादेशिक अस्पतालमा एचडीयू जडान भइसकेको र अक्सिजन प्लान्ट जोड्ने क्रममा रहेको सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले बताए । सरकारले नेपालगन्जस्थित भेरी अस्पताललाई १५ करोड बजेट पठायो । उक्त बजेटले २० वटा आधुनिक अक्सिजनसहितको आईसीयू कक्ष, १० वटा भेन्टिलेटर र अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गर्न भनिएको छ । अस्पताल प्रशासनले २० वटा आइसोलेसन कक्ष र १० वटा भेन्टिलेटर बनाइसकेको छ । अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया ढिलो सुरु भएको र अब डेढ महिनाभित्र जडान भइसक्ने मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले बताए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माणका लागि ९ करोड ८० लाख रुपैयाँको सहमति भएको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । प्रादेशिकमै पेडियाट्रिक आईसीयू भेन्टिलेटर १० बेडको बनाउन १ करोड २० लाख रुपैयाँको शोध सहमति आएको उनको भनाइ छ ।

भैरहवास्थित भीम अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट, ट्यांक, २ वटा एचडीयू निर्माणका लागि ६ करोड २५ लाख ४० हजार र पेडियाट्रिक, आईसीयू र भेन्टिलेटरका लागि ६० लाखको शोध सहमति भएको छ । तर बजेट निकास भएको छैन । अक्सिजन प्लान्ट, पेडियाट्रिक वार्ड एचडीयूमा ५ बेड थप्नेजस्ता काम भइरहेको सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए ।

उता, रोल्पा जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सबु काफ्लेका अनुसार अघिल्लो आर्थिक वर्षमा रकम सुनिश्चित भएकाले गत असारमै बोलपत्र आह्वान गरिएको थियो । आईसीयू र भेन्टिलेटरका लागि प्रदेश सरकारमार्फत संघीय सरकारले साढे ३ करोड बजेट पठाएको थियो । भदौभित्र ५ बेडको आईसीयू, २ वटा भेन्टिलेटर र ५ बेडको एचडीयू बेड जडान भइसक्ने डा. काफ्लेले बताइन् ।

पाल्पाको रामपुर अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि ७५ लाख बजेट स्वास्थ्य मन्त्रालयले पठाएको थियो । रामपुरकै लागि पाँच बेडको एचडीयूका लागि ८० लाख बजेट विनियोजन भएको छ । असारमा टेन्डर सकेर काम अघि बढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष वासुदेव भट्टराईले बताए । अर्थ मन्त्रालयले जेठमा स्वास्थ्य मन्त्रालयको मागअनुसार बजेट सुनिश्चित गरे पनि बर्दियामा निकासा भएको छैन । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभास पाण्डेयले बजेट निकासा नहुँदा अक्सिजनसहित भेन्टिलेटर निर्माण हुन नसकेको बताए ।

कर्णालीमा पौने २१ करोड, तर अस्पतालमा पुगेन बजेट

संघीय सरकारले कर्णालीका तीन अस्पताललाई अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि २० करोड ६५ लाख बजेट विनियोजन गरेको छ । तर प्रदेश सरकारमार्फत आउनुपर्ने बजेट अस्पतालसम्म पुगेको छैन ।

संघीय सरकार मातहतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र बजेट प्राप्त गरी गत आर्थिक वर्षमै प्रक्रिया अघि बढाएको छ । अर्थले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमका लागि उक्त प्रक्रिया अगाडि बढाउन बजेटसहित गत जेठमा सहमति दिएको थियो । प्रदेश अस्पतालका लागि मन्त्रालयले अक्सिजन प्लान्ट खरिद र एचडीयू जडान खरिद गर्न ६ करोड २५ लाख ४० हजार तथा भेन्टिलेटर अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्न १२ करोड ८० लाख विनियोजन गरेको छ । त्यसमध्ये १ करोड २० लाख बजेटमा आईसीयू बेड खरिदका लागि टेन्डर आह्वानको प्रक्रिया टुंगिन लागेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । ‘संघबाट पठाएको सबै बजेट आइपुगेको छैन,’ उनले भने, ‘आईसीयूको काम मात्रै अघि बढ्दै छ, एचडीयू र दुईवटा अक्सिजन प्लान्ट त पहिल्यै खरिद गरी जडान गरिसकेका छौं ।’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड ८० लाख र एचडीयू जडानका लागि अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ पठाएको छ । अस्पतालका लेखा प्रमुख मकेन्द्र शाहीका अनुसार प्रतिष्ठानले २ करोड ५५ लाख रुपैयाँमा टेन्डर गरी एचडीयू जडान गर्दै छ । २ करोड ४८ लाखमा अक्सिजन प्लान्ट जडानका लागि टेन्डर गरिएको उनको भनाइ छ ।

चौरजहारी अस्पताललाई प्लान्ट खरिद र जडानका लागि अर्थले ७५ लाख बजेटको सहमति दिए पनि उक्त बजेट आइपुगेको छैन । चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार संघले आईसीयू र भेन्टिलेटरका लागि ३ करोडको स्रोत सुनिश्चित गरे पनि बजेट आएको छैन । अस्पतालले प्रदेश सरकारको १ करोड र नगरपालिकाको १२ लाख ५० हजार बजेटले अक्सिजन प्लान्ट खरिद गरी जडान गरिरहेको छ । एक साताभित्र अक्सिजन प्लान्ट सञ्चालनमा आउने केसीले बताए ।

संघीय सरकारले कर्णालीका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्न गत २ जेठमा २ अर्ब ९५ करोड २० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । मन्त्रालयले अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि १७ करोड ८७ लाख ७० हजार बजेटसहित प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको थियो ।

योजना ८ अस्पतालमा, तयार भयो एउटामा

जेठ पहिलो र दोस्रो साता संघको अर्थ मन्त्रालयले सुदूरपश्चिमका विभिन्न अस्पतालका लागि ४० करोड ६७ स्रोत सुनिश्चितताको पत्र पठाएको थियो । उक्त रकम संघ सरकारले बैतडी र डोटीमा अक्सिजन प्लान्ट स्थापनाका लागि डेढ/डेढ करोड, डडेलधुरा अस्पतालका लागि ६ करोड ८० लाख, सेती प्रादेशिक अस्पतालका लागि बेग्लाबेग्लै गरी १३ करोड ५ लाख ४० हजार, महाकालीका लागि १२ करोड ९२ लाख ७० हजार, बाजुरा, बझाङ, अछाम र टीकापुर अस्पतालका लागि ७५/७५ लाख, डोटी अस्पतालका लागि एचडीयू बेड खरिद गर्न ८० लाख विनियोजन गरिएको पत्र पठाएको थियो । बझाङ जिल्ला अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्नेबाहेक अन्य अस्पतालले के गरेका छन् भन्ने कुनै जानकारी नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

उपत्यकामै सुस्त

निजामती कर्मचारी अस्पतालका प्राडा विधाननिधि पौडेलले सूर्य नेपालले ३ करोड ५० लाख रुपैयाँको अक्सिजन प्लान्ट जडान गरिदिने तयारी भइरहेको बताए । जडान खर्च एक करोड पनि सूर्यले नै तिर्ने भएको छ । भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले अक्सिजन प्लान्टको सामान केरुङ नाकामा अड्किएकाले जडान हुन नसकेको बताइन् । ८० लाख रुपैयाँमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता भइसकेको उनको भनाइ छ ।

नेपाल प्रहरी अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि टेन्डर प्रक्रियामार्फत कम्पनीसँग सम्झौता भइसकेको छ । कम्पनीले सामान ल्याएर जडान गर्न मात्र बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । भक्तपुरको सूर्यविनायक अस्पतालमा प्लान्टका लागि बजेट सुनिश्चित भए पनि प्लान्ट राख्ने सुरसारसमेत गरेको छैन ।

प्रकाशित : श्रावण २१, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?