कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९
कोरोना प्रभाव

४६ फिल्म अलपत्र

कलाकार, प्राविधिक र श्रमिकसहित ५० हजार जनशक्ति आर्थिक संकटमा 
रीना मोक्तान

काठमाडौँ — गीत र ट्रेलर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रियाबाट ‘म यस्तो गीत गाउँछु–२’ का सिनेकर्मी निकै हौसिएका थिए । २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो । तीन दिन बाँकी हुँदा सरकारले सिनेमा हलहरू बन्द गर्न निर्देशन दियो । त्यसपछि यो फिल्मले अझैसम्म प्रदर्शनको पालो पाएको छैन । 

४६ फिल्म अलपत्र

निर्माता अर्जुन कुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो । तर चैत ११ देखि लकडाउन घोषणा भयो । यी दुई निर्माताले पनि फिल्मको प्रदर्शन सार्नुपर्‍यो ।

कोरोना महामारीको असर यी दुई फिल्मलाई मात्रै परेको होइन । प्रदर्शनका लागि तयार ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’ लगायत दर्जनभन्दा बढी फिल्मका निर्माता अझै अलमलमा छन् । यी फिल्ममा गरेको लगानी फ्रिज भएको छ । वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ । २०७६ अन्तिममा कोरोना संक्रमण देखा पर्न सुरु भयो । उक्त वर्ष महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । २०७७ मा ७१ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेका थिए । बोर्डको फिल्म निर्माण शाखाका अनुसार २०७८ असार २३ सम्ममा ८ फिल्म दर्ता भएका छन् । यसबीच निषेधाज्ञा खुकुलो हुँदा केही फिल्म निर्माण पनि भए । तर ती सबैको प्रदर्शन अझै अनिश्चित छ ।

नेपाली सिने उद्योग ठूलो छैन । तर प्रविधि विकास र महँगीले लागत बढेर एउटैको निर्माणमा २/३ करोड लगानी पुग्न थालिसकेको निर्माता तथा निर्देशक अशोक शर्माले बताए । ‘प्रदर्शनका लागि तयार फिल्म रोकिएका छन्, लगानी जोखिममा परेर फिल्म क्षेत्र नराम्रैसँग थलिएको छ,’ उनले भने । फिल्म क्षेत्र खुल्ने टुंगो नहुनु, खुले पनि सामान्य अवस्था बन्ने/नबन्ने अनिश्चितताले अत्याएको उनले बताए । ‘फिल्म बनाउनेबित्तिकै प्रदर्शन गर्न पाए ताजा हुन्थ्यो । समय लम्बियो भने पुरानै हुन्छ । हलहरू धमाधम बन्द हुँदै छन् । ती हल टिक्नै नसकेर बन्द भएका हुन् । बन्द हुने भत्किने क्रम जारी छ,’ उनले भने ।

छायांकनमा जान तयार, बीचमै रोकिएका र प्रदर्शनका लागि तयार ८० फिल्मको आँकडा निकाल्दा १ अर्ब ५० करोड रकम फ्रिज भएर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । कोभिडपछि फिल्म क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने उनको भनाइ छ । ‘अहिले फिल्म क्षेत्रका झन्डै ५० हजार कर्मचारी ऋण गरेर जीवन चलाइरहेका छन् । कति गाउँ फर्किसके । अवस्था सामान्य हुँदा यी दक्ष जनशक्ति रहलान् कि नरहलान् ?’ उनको चिन्ता छ ।

फिल्ममा लगानी गर्नेहरूको चिन्तासँगै बन्द रहेका हलहरू कहिले खुल्ने भन्नेमा अझै अन्योल छ । फिल्म निर्माणको संख्या घट्दै गएको तथ्यांकले देखाउँछ । अवस्था यस्तै रहे कलाकार, प्राविधिक, निर्माता/ निर्देशक पलायन हुने अवस्थामा पुग्ने शर्मा बताउँछन् । ‘कोभिड महामारीअघिसम्म कति नयाँ हल खुल्ने तयारीमा थिए । ती हलवाला अब खोल्ने मुडमा छैनन्, भएकै हल अहिले बन्द भइरहे । कलाकारहरू पलायन हुने अवस्थामा छन् । वैकल्पिक बाटोमा लागेको अवस्था छ,’ उनले भने ।

सबै काम सकेर पनि फिल्म प्रदर्शन हुन नपाउँदा पौने तीन करोड रुपैयाँ फ्रिज भएको ‘म यस्तो गीत गाउँछु–२’ निर्माता एवं निर्देशक सुदर्शन थापाले बताए । ‘कोरोनाले सबैभन्दा प्रत्यक्ष असर पारेको फिल्म म यस्तो गीत गाउँछु–२ नै हो,’ उनले भने, ‘हल बन्द भएको डेढ सातामै लकडाउन नै भयो । एकदमै समस्या छ हामीलाई ।’ करोडौं लगानी लगाएर बनाएको फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माताले समस्या भोग्नुपरेको ‘चपली हाइट–३’ का निर्माता अर्जुन कुमार बताउँछन् । ‘मेरो फिल्मको प्रचार सुरु भइसकेको थियो । ४ लाख ७० हजार खर्च भइसकेको थियो । डेढ करोडमा बनेको हो फिल्म । अहिले त्यो पैसा फ्रिज भयो,’ उनले भने, ‘१/२ करोड खर्च गरेर ४/५ लाख कमाउने निर्माता हौं, हामीजस्तालाई अहिलेको अवस्थामा निकै अप्ठ्यारो छ ।’ उनका अनुसार मिति तय गरिसकेका फिल्मको विदेश प्रदर्शनको सम्झौता पनि डामाडोल भएको छ ।

‘वर्षमा एउटा फिल्म बनाउने भनेर हामी त्यहीअनुसारको लगानी गरिरहेका हुन्छौं । विकल्प नहुँदा अर्को लगानी कसरी गर्ने ? म मात्र होइन अन्य निर्मातालाई पनि धेरै अप्ठ्यारो छ,’ उनले भने, ‘कतिले त प्रचारप्रसारमा धेरै खर्च गरिसके तर फिल्मको प्रदर्शन गर्न पाएका छैनन् ।’ ऋण गरेर फिल्ममा लगानी गरेकै कारण अहिले निर्माताहरूलाई बैंकको ब्याज तिर्न गाह्रो परेको थापा बताउँछन् । ‘ऋण लिएर फिल्ममा लगानी गरियो । तर त्यो सबै फ्रिज हुँदा ब्याज तिर्नैपर्‍यो । साह्रै समस्यामा छौं,’ उनले भने, ‘फिल्मकै काम गर्नेले यही क्षेत्र बन्द भएपछि अर्को के गर्नॅ ?’

कलाकार कामविहीन

अभिनेत्री केकी अधिकारी कोभिडले कलाकार कामविहीन हुनुपरेको बताउँछिन् । ‘पहिलो लकडाउनपछि अवस्था सामान्य बन्दै जाला भनेर कतिले फिल्म गरे तर कोभिडको प्रभाव धेरै वर्षसम्म पर्ने देखिन्छ,’ उनले भनिन्, ‘सबै काम ठप्प छन् । कुनै फिल्म छायांकनमा गएको छैन । फाट्टफुट्ट म्युजिक भिडियोबाहेक अधिकांश कलाकार कामविहीन भएका छन् ।’ कोभिडकै कारण छायांकन बन्द गरेर बसेका फिल्म अब अघि बढ्लान्/नबढ्लान् भन्ने टुंगो छैन । छायांकन सुरु भएको १० दिनमै ‘२ नम्बरी’ को काम रोकियो । अहिले निर्देशक दीपेन्द्र लामालाई एउटै चिन्ता छ– दृश्यको कन्टिन्युटी । ‘अबको ६ महिनामा मेरो फिल्म रोकिएको २ वर्ष हुन्छ । २ वर्ष अगाडिको फुटेजमा कन्टिन्युटी दिन मिल्दैन । कलाकारको शरीर नै परिवर्तन भइसकेको हुन्छ । मेरो फिल्ममा बाल कलाकार थियो । उसमा केही परिवर्तन भइसक्छ । नयाँ खिच्न खर्च बढ्ने भो,’ उनले भने ।

यो लामाको मात्र होइन । महामारीकै कारण बीचमै छायांकन रोकिएका अन्य फिल्मको पनि समस्या हो । ‘अब छायांकन कहिले सुरु हुने पनि टुंगो छैन । अहिले कतिले लेखकले फिल्म लेखेर बस्नुपर्छ भन्ने खालका आदर्शका कुरा गर्छन् । तर अहिलेको प्रमुख प्राथमिकता जीवन गुजारा हो,’ उनले भने, ‘अन्य आर्थिक स्रोतबारे सोच्ने बेला भएको छ । कतिपय निर्देशक त अन्य व्यवसायतिर लागिसकेका छन् ।’

सदाका लागि बन्द हुँदै हल

खर्च धान्नै नसकेर महामारीबीच जय नेपाल र गंगा हल सदाका लागि बन्द भए । कुमारी हल बन्द भयो । झापाका दमक चलचित्र मन्दिर, कृष्ण चलचित्र मन्दिर, बुधबारेको हल, मोरङका सुकुना चलचित्र मन्दिर, बेलबारीमा रहेको शारदा चलचित्र मन्दिर, धनुषाको लवकुश चलचित्र मन्दिर, जनकपुरको रामजानकी पिक्चर्स, चितवनको टाँडीस्थित नारायणी चित्र मन्दिर सदाका लागि बन्द हुँदै छन् ।

दमौलीको उत्तरोशीला चलचित्र मन्दिर, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बागलुङको कालीगण्डकी मन्दिर, दाङको सत्यसाई चलचित्र, विष्णु चलचित्र मन्दिरसँगै रूपन्देहीको पद्मश्री चलचित्र मन्दिर, कुश्माको सिद्धेश्वर चलचित्र मन्दिर, धनकुटाको केडीभी सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेका चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान बताउँछन् । ‘निषेधाज्ञा भए पनि अरू व्यापार व्यवसाय खुलेका छन् तर हाम्रो हलमा ताल्चा झुन्डिएको छ,’ उनले भने, ‘हाम्रो व्यापार नै भीडभाडमा हुने भयो । अहिले त हल खोल्न फिल्म चाहियो । तर निर्माता हलमा फिल्म लगाउन तयार छैनन् । हुन त उनीहरूलाई पनि लगानी नउठ्ने डर छ । हलले पनि मिनिमम ग्यारेन्टी दिएर फिल्म लिन सकेनौं ।’

देशभरका १ सय ९३ हल बन्द हुँदा लगभग ५० हजार कर्मचारी बेरोजगार हुनुपरेको उनको भनाइ छ । हलवालाले घर भाडा र विद्युत् डिमान्ड शुल्कको हिसाब गर्दा ७ देखि ४० लाखसम्म तिर्दै आएका छन् । घर भाडा, बैंकको ब्याज र विद्युत्को डिमान्ड शुल्ककै कारण महामारीबीच हल सञ्चालकले अर्बौंको घाटा बेहोर्नुपरेको प्रधान बताउँछन् । ‘यातायात र होटल रेस्टुराँ खोल्नासाथ ग्राहक जाने भए । तर हाम्रो हलमा दर्शक हाउसफुल चाहिन्छ,’ उनले भने, ‘अझै सरकारले खोल्ने अनुमति दिन सकेको छैन ।’

डिप्रेसनमा जाने अवस्थामा प्राविधिक

निर्माता शर्मालाई दिनमा एक जना प्राविधिकको फोन आउँछ । केही दिनअघि मात्र एक हेयर ड्रेसरले उनलाई सोधे, ‘सर अब के हुन्छ, फिल्म बन्दैन ? डेढ वर्षदेखि काम नपाएर हाम्रो त बिजोग भइसक्यो ।’

प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई यसरी फोन गर्ने सयौं छन् । ‘प्राविधिकको अवस्था दयनीय छ । अहिले निर्माताले नयाँ फिल्म बनाउने छाँटकाँट छैन,’ अध्यक्ष लामा सुनाउँछन्, ‘कोठा भाडा तिर्न नसकेर घरभेटीबाट लुकेर हिँडिरहेका छन् । छोराछोरीको स्कुल फी तिर्न सकेका छैनन् । प्रमुख त खान नै धौधौ छ ।’

केही समयअगाडि संघले एक बोरा चामल, दाल, चिनी राहतमा वितरण गरेको थियो । तर राहत विरतण गरेको पनि तीन महिना नाघिसक्यो । अहिले प्राविधिकका रासन रित्तिएका छन् । यस्तो अवस्थामा उनीहरू डिप्रेसनमा जाने अवस्थामा पुगेको अध्यक्ष लामाले सुनाए । ‘बोर्डले ओस्कार जित्ने फिल्मलाई ८ लाख, बाटो खर्चसमेत दिने घोषणा गर्‍यो । तर ओस्कारमा फिल्म जानका लागि प्रविधि चलाउने प्राविधिकलाई पहिला मजबुत बनाउनुपर्ने । प्राविधिकका लागि कुनै नीति नबन्दा हामीलाई दुःख लागेको छ,’ उनले भने, ‘ऋण गरेर बाँचिरहेका छन् प्राविधिक अहिले । सापटी पैसा समयमै दिन नसक्दा उनीहरू डिप्रेसनमा पुगेर केही अनर्थ भइदियो भने त्यसको जवाफदेही को हुने ?’

संघमा १ हजार ५ सय प्राविधिक आबद्ध छन् । यसबीच म्युजिक भिडियो निर्माण हुँदा १० प्रतिशतले काम पाए । बाँकी कति पलायन भए त कतिले वैकल्पिक बाटो रोजे । ‘घरमा चुल्हो नबलेपछि प्राविधिकले वैकल्पिक बाटो रोजेका छन् । भोलि अवस्था सामान्य भयो भने यो क्षेत्रले दक्ष जनशक्ति पाउँदैन । स्पट ब्वाईले दैनिक पाउने ज्याला हजार हो । २ दिन काम गरेर महिनौं बस्नुपर्‍यो भने उनीहरूको चुल्हो कसरी बल्छ ?’ लामा प्रश्न गर्छन् ।

यसबीच दैनिकी चलाउन ड्रेसम्यान रवि पोखरेलले चाँगुबाट साग ल्याएर बेचे । सहायक क्यामेरापर्सन घनश्याम पुरीले चिया बेचे । कतिले खाडी मुलुकको बाटो रोजेको अध्यक्ष लामाको भनाइ छ । ‘श्रमजीवी प्राविधिकका लागि सरकारले निःशुल्क उपचार र कम्तीमा एक वर्षको घर भाडा व्यवस्था गरिदिनुपर्छ,’ उनले भने ।

निर्माता संघले विकास बोर्डमा बुझाएका प्रदर्शन रोकिएका ४६ फिल्म

१. म यस्तो गीत गाउँछु–२, २. घनचक्कर, ३. माया बस्छ कि के हो, ४. उल्झन, ५. पोखराकी काली, ६. प्रेमगीत–३, ७. मन्त्र, ८. हली, ९. हिजोआजका कुरा, १०. लक्का जवान, ११. मेरो आफ्नो, १२. आकाशे खेती, १३. शिरफूल, १४. उफ् यो मन, १५. षट्कोण, १६. नालापानी, १७. आरुषी, १८. यो माया कस्तो माया, १९. पानी फोटो, २०. माइकल अधिकारी, २१. कठपुतली, २२. देवी, २३. फेक फ्रेन्ड, २४. सम्झना बिर्सना, २५. सुस्केरा, २६. तु., २७. चालबाज, २८. सायाबुङ, २९. आप्लेङ, ३०. हाम्रो कलेज लाइफ, ३१. पर्खी बसे फर्की आउँछु, ३२. दुस्साहस, ३३. ठूलो माछा, ३४. सम्हाली राख है, ३५. गीत गजल, ३६. शिवानी, ३७. इन्काउन्टर, ३८. नीरफूल, ३९. चिसो एस्ट्रे, ४०. बद्री बहादुर, ४१. वडा अध्यक्ष, ४२. चपली हाइट–३, ४३. जारी, ४४. लप्पन छप्पन–२, ४५. निम्तो र ४६. लै बरी लै

प्रकाशित : श्रावण २१, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?