पार्वती मूर्ति फर्किएपछि यथास्थानमै प्रतिस्थापन हुनेछ : मेयर प्रजापति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्वती मूर्ति फर्किएपछि यथास्थानमै प्रतिस्थापन हुनेछ : मेयर प्रजापति

‘चार दशकअघि चोरिएको मूर्ति अंशुबर्माकालीन’
कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर, गोलमढीस्थित बीरभद्रेश्वर महादेव मन्दिरभित्रबाट हराएर अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने भएको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गोलमढी टोलबाट हराएको मूर्ति अमेरिकाको येल युनिभर्सिटीमा फेला परेको र उक्त मूर्ति फिर्ता ल्याउने प्रक्रिया जारी रहेको अवस्थाबारे नगरपालिका जानकार रहेको भन्दै मूर्ति फर्काउन नगरपालिका तथा स्थानीय वार्ड तहका निकायले पहल गर्दै आएको बताएका छन् । ‘नगरपालिकाले पुरातत्व विभाग, परराष्ट्र मन्त्रालयसहितका सरोकार सम्बद्ध निकायमा पत्राचार गरेर मूर्ति फिर्ता गर्ने पहल सुरु भइसकेको छ’,मेयर प्रजापतिले कान्तिपुरसँग भने—‘मूर्ति आएपछि उचित सुरक्षा तथा संरक्षणको प्रबन्धसहित बीरभद्रेश्वर मन्दिरमै राखिने भएको छ ।’

दशौं शताब्दीका प्रतापी राजा अंशुबर्माको कीर्ति उजिल्याउने महत्व जोडिएको कलात्मक पार्वती मूर्ती हराएको वर्षौंवर्षपछि अमेरिकाको येल युनिभर्सिटीको म्युजियम अर्काइमा फेला परेको थियो । नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितीबारे अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सार्वजनिक गरेको सूचनापछि गोलमढीबाट हराएको मूर्तिबारे जानकारी आएको हो ।

सन् ८० को दशकमा भक्तपुर, गोलमढीबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको जानकारी आएको थियो । तर, गोलमढीको बीरेभद्रेश्वर मन्दिरबाट हराएको मूर्ति बौद्धमार्गी ‘तारा’को भनेर चर्चा गरिएकोमा उक्त दाबी गलत रहेको भन्दै स्थानीय श्रद्धालुले गोलमढीबाट हराएको मूर्ति ‘पार्वती’को रहेको जनाएका छन् ।

येल युनिभर्सिटीको वेबसाइटअनुसार, सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त भएको यो मूर्ति सुरुमा स्पिन्क एण्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एण्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ जेम्स दम्पतीले यो सम्पदा पाएपछि बीचमा ‘बिक्री बाहिर’ देखिएको यो सम्पदा सन् २००२ मा माइकल एण्ड जर्जिया, न्यूयोर्कमा पुगेको देखिन्छ । एकैचोटी सन् २०१५ मा येल युनिभर्सिटीमा यो सम्पदा पुगेको देखिन्छ । तर, यो सम्पदा कसले युनिभर्सिटीलाई बुझाएको हो भन्ने स्पष्ट देखिन्न । भक्तपुरको गोलमढीबाट हराएको दशौं शताब्दीमा बनेको कलात्मक तारा(पार्वती)को मूर्ति अमेरिकाको कनेक्टिकटस्थित प्रतिष्ठित येल विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोललाई यो सम्पदाबारे जिज्ञासा राखिएकोमा उनले यो सरोकारमा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालयसँग ‘परामर्श’ जारी रहेको प्रतिक्रिया दिएकी छिन् ।

गोलमढीस्थित बीरभद्रेश्वर महादेव परिसरकै सिलालेखमा उल्लेख भएअनुसार पनि यो शिव–पार्वती मूर्ति अंशुबर्माकालीन प्रमाणित भएको छ । इतिहाविद्‌ धनब्रज्र बज्राचार्यको ‘लिच्छवीकालका अभिलेख’ (२०३०) कृतिमा यो गोलमढी शिवदेव सम्वत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापित गरिएको उल्लेख छ । युनेस्को अभिसन्धि र ‘सम्पदा उत्पत्ति मुलुक’को आधारलाई हेरेर पनि यो प्राचीन अंशुबर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्कनुपर्नेमा नगरपालिका र स्थानीय निकाय, गोलमढीवासीको जोडबल रहेको मेयर प्रजापतिले सुनाए ।

प्रकाशित : श्रावण १९, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

ब्राजिल टाइब्रेकरमा मेक्सिकोलाई पन्छाउँदै फाइनलमा

राजु घिसिङ

टोकियो — डिफेन्डिङ च्याम्पियन ब्राजिल टोकियो ओलम्पिक २०२० मा मंगलबार पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पन्छाउँदै पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इबाराकी कासिमा रंगशालामा भएको सेमिफाइनलमा एक घन्टा २० मिनेट (अतिरिक्त समयको ३० मिनेटसहित) को प्रतिस्पर्धा गोलरहित सकिएपछि भएको टाइब्रेकरमा ४–१ को जित निकाल्दै ब्राजिल ओलम्पिक स्वर्णपदक रक्षाको नजिक पुगेको हो ।

ब्राजिली गोलकिपर सान्तोसले मेक्सिकोको पहिलो प्रहारमै एडुआर्डो अगुइरेलाई असफल पारिदिए । त्यसमा सान्तोसले उत्कृष्ट बचाउ गरे । त्यसपछि जोहान भास्क्वेजको प्रहारमा बल पोष्टमा लागेपछि ब्राजिललाई फाइनल प्रवेश गर्न गाह्रो भएन ।

बर्सिलोनाका पूर्वफुलब्याक ड्यानी आलभेस, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमेरस र रेइनरले पेनाल्टी सुटआउटमा सटिक प्रहार गरेपछि ब्राजिल लगातार तेस्रोपल्ट ओलम्पिक फुटबलको फाइनलमा पुग्यो ।

निर्धारित समयमै ब्राजिल जितनजिक पुगेको थियो । तर, इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले ८२ औं मिनेटरमा गरेको हेडरमा गोलपोष्ट बाधक बनेको थियो । त्यसैले खेल टाइब्रेकरसम्म लम्बियो ।

लन्डन ओलम्पिक २०१२ मा स्वर्णको प्रतिस्पर्धामा मेक्सिकोले ब्राजिललाई २–१ ले हराएको थियो । घरेलु भूमिमा भएको रियो ओलम्पिक २०१६ मा भने ब्राजिल टाइब्रेकरमा जर्मनीलाई पराजित गर्दै पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएको थियो ।

नेयमार प्रेरित त्यो सफलतालाई आलभेसको नेतृत्वमा ब्राजिलले टोकियोमा रक्षा गर्ने अपेक्षा गरिएको छ । ब्राजिलले योकोहामा रंगशालामा शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनल (जापानविरुद्ध स्पेन) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : श्रावण १९, २०७८ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×