नौ घण्टा निरन्तर खोप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ घण्टा निरन्तर खोप

ताप्लेजुङको फुङलिङकी वरिष्ठ अहेव लक्ष्मीले एकै दिन लगाइदिइन् ९४० जनालाई कोरोनाविरूद्धको खोप
आनन्द गौतम

ताप्लेजुङ — मुहारमा मास्क र फेससिल्ड । शरीरमा पीपीई अनि हातमा पन्जा । ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाकी वरिष्ठ अहेव लक्ष्मी मावो बनेम आजकल यस्तै परिधानमा भेटिन्छिन् । जसले गत बिहीबार एकै दिन ९ सय ४० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइदिइन् । 

ताप्लेजुङको फुङलिङकी स्वास्थ्यकर्मी लक्ष्मी बनेम कोरोनाविरुद्धको खोप लगाइदिँदै । तस्बिर : आनन्द/कान्तिपुर

बिहान ९:३० बजे खोप लगाउन सुरु गरेकी बनेमका हात ६ः१५ बजेसम्म रोकिएनन्, न उद्योग वाणिज्य संघको भवनमा पाखुरा अघि सार्दै खोप लगाइमाग्न आउनेको लाम रोकियो । बिहान खाना खाएर खोप लगाउन थालेकी बनेम साँझ मात्र खोप केन्द्रबाट बाहिर निस्किइन् । दिनभरि भोक, तिर्खा नभनी खटिइरहिन् । तर यति गर्दा पनि उनले २०५८ सालमा आफैंले बनाएको रेकर्ड भने तोड्न सकिनन् । त्यतिखेर उनले दादुरा रुबेलाको खोप एकै दिन १ हजार ६४ जनालाई लगाएकी थिइन् ।

२०४६ कात्तिक १६ गते जागिरमा प्रवेश गरेदेखि खोप लगाउन थालेकी उनी आफ्नो काममा पोख्त छिन् । सुई घोच्दा साह्रै दुख्छ होला भनेर अनुहार निन्याउरो बनाउनेलाई उनले ‘लगाइसकियो अब उठ्नुहोस्’ भन्दा कतिपय छक्क पर्ने गरेका छन् । ‘नानीको हात त हलुंगो रहेछ,’ खोप लगाउन आएका कतिपयले भन्छन् । केहीले त खोप नै लगाइदिइनन् कि भनेर शंका गर्ने गरेका पनि बनेम सुनाउँछिन् । ‘दुख्छ भनेर डरले टाउको लुकाएर बस्छन्, सिरिन्जले घोचेको पत्तै पाउँदैनन् । उठ्नु भनेपछि छक्क पर्छन्,’ लक्ष्मीले अनुभव सुनाइन् । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले पनि खोप लगाउनुअघि ‘नदुखाई लगाउनु है’ भन्दै थिए । तर उनले पनि खोप लगाएको थाहै नपाइएको भन्दै बाहिरिए ।

नगरपालिकाको स्वास्थ्य शाखाकी मञ्जु गुरुङका अनुसार खोप लगाउँदा उनको सहयोगका लागि एक जना छेउमा राखिन्छ । उनले प्लास्टिकबाट खोलेर सिरिन्ज, भायल र रुवा दिन्छन् । सिरिन्ज भर्ने, सेवाग्राहीलाई खोप लगाइदिने र हातले रुवा थमाइदिएर सिरिन्ज र भायल डस्टबिनमा राख्ने काम लक्ष्मी आफैं गर्छिन् । सेवाग्राहीलाई कुर्सीमा राखेर उनी आफू भने उभिएरै खोप लगाउँछिन् । पाखुरामा लगाउनुपर्ने भएकाले कसैले कपडा खोल्न ढिला गरे उनी पर्खेर भने बस्दिनन् । अर्कोलाई बोलाएर लगाइदिहाल्छिन् ।

सबै प्रक्रिया मिले पहिलाको भन्दा अहिलेको खोप लगाउन सजिलो हुने लक्ष्मीको बुझाइ छ । ‘बीसीजी र दादुराको खोप लगाउँदा पानी र पाउडर छुट्टाछुट्टै आउँथ्यो, त्यसलाई घोल्नुपर्थ्यो र घोलेको ६ घण्टामा लगाइसक्नुपर्थ्यो,’ लक्ष्मीले थपिन्, ‘अहिलेको त बट्टा खोलेर सिरिन्जमा मात्रा मिलाउँदै लगाइदिँदा भइहाल्छ नि !’ अझ जापानी इन्सेफ्लाइटिसको खोप थालेको एक घण्टामा लगाइसक्नुपर्थ्यो । त्यही भएर पहिला मान्छे भेला पारिसक्ने र त्यसपछि मात्रै लगाउने गरेको उनले सुनाइन् । तर यही कुरा बुझाउन नसक्दा कतिपय भने खोप केन्द्रमा पुगेर पर्खायो भनेर रिसाउने गरेका थिए ।

खोप लगाउन आएकाहरू हतारिनु, पहिले लगाउन खोज्नु भने स्वाभाविक नै लाग्छ बनेमलाई । तर पालो मिच्न नदिई लगाइदिँदा विवाद नहुने उनको अनुभव छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दा भने जिल्लामा चाप निकै कम थियो । असार २५ र २६ गते उनले ४ सय ९१ जनालाई खोप दिइन् । बिहीबार भने खोप लगाउने मानिसको संख्या बढेपछि तथ्यांक राख्न र कार्ड बनाउन ६ जना कर्मचारी खटिएका थिए ।

पहिल्यैदेखि एक्लैले लगाउने र भ्याउने भएकाले अर्को मान्छे प्रयोग नगरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेल बताउँछन् । ‘खोप लगाउने स्वास्थ्यकर्मी त अरू पनि छन्,’ राजकुमारले भने, ‘म गलें, मलाई पालो चाहियो भन्नु हुन्न, थालेपछि सकेरै छोड्न खोज्नु हुन्छ, त्यही भएर अर्को मान्छे नखटाएका हौं ।’

दिनभरि उभिएर खोप लगाउँदा पनि हातखुट्टा गल्ने, शरीर दुख्ने जस्तो अनुभव नभएको बनेमको भनाइ छ । ‘बानी नै भइसक्यो, बेलुका हल्का थाके जस्तोचाहिँ हुन्छ । तर खासै वास्ता हुँदैन,’ उनले भनिन् । उनको कामको मूल्यांकन गर्दै नगरपालिकाले असार १० गते नगदसहित सम्मानसमेत गरिसकेको छ ।

प्रकाशित : श्रावण १८, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

जथाभावी डोजर लगाउँदा बाढीपहिरो

पहाडी भूभागमा ग्रेड नमिलाएर ट्र्याक खोल्दा र सडक स्तरोन्नति गर्दा बढी क्षति
माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–२, जल्पाकी टिकीसरा दर्लामीको काम गरेर वर्षभरि खान पुर्‍याउने बारी पहिरोले बगाएको छ । आम्दानीको स्रोत अम्लिसो, तेजपात, हुर्केका मकै सबै पहिरो र सडक खन्दा भलले बगाएको हो । ढोलीमाराबाट मैदान र साठीकोल लगेको सडक स्तरोन्नति गर्दा खसेको पहिराले बारी पुरिएको उनले बताइन् ।

पाल्पाको रामपुर–८ खालीवनमा पहिरोले खानेपानी ट्यांकीमा क्षति पुर्‍याएपछि मर्मत गरिँदै । तस्बिर : माधव/कान्तिपुर

‘श्रीमान्को कमाइ छैन, बारीमा भएका सबै पहिरोले पुरिदियो,’ उनले भनिन्, ‘अब के खाने हो भन्ने चिन्ताले सताउन थालेको छ ।’ दर्लामीका अनुसार माथिल्लो भागमा डाँडै थर्किने गरी डोजरले खनिएको छ । ठूला उपकरणको कम्पनले खलबलिएको जमिन वर्षायाममा पानीले गलेर बगेको हो । सडकमा जमेको पानीले खोल्सा बनाएको छ । पहिरो र भेलले ढुंगा र माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासिने, भूक्षय हुने, खोल्साखोल्सीमा बाढीले कटान गर्ने क्रम बढेको छ ।

‘बलियो पहाड थियो, अहिलेसम्म केही भएको थिएन,’ स्थानीय नीलबहादुर दर्लामीले भने, ‘माथिल्लो भागमा सडक चौडा गर्दा माटो, गेगर र ढुंगा बगाएर बर्बादै बनायो ।’ कमजोर भूबनोटका पहाडी भेगका डाँडाक्षेत्रमा जथाभावी खनिएका सडकका कारण हरेक वर्ष पहिरो खस्छ । जथाभावी फालिने डेबरेज (ढुंगामाटो) ले पनि बालीनालीमा क्षति पुगेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै ठूला उपकरण प्रयोग गरिन्छ ।

जथाभावी गरिने सडक निर्माणका क्रममा निकालिएको माटो र भल व्यवस्थापन नहुँदा विपद्को जोखिम बढेको रामपुर नगरपािलका–८, खालीवनका जुद्धबहादुर श्रेष्ठले बताए । डोजरले सडक खन्दा पहिरोको जोखिमसँगै खानेपानी ट्यांकीहरूमा क्षति पुगेको छ । पानी नपाएर खोल्सीमा धाउनु परेको छ । ‘सानो पहिरो खस्दाखस्दै ठूलै खस्यो,’ उनले भने, ‘जसबाट क्षति तल्लो तटीय क्षेत्रसम्म पुगेको छ ।’ डोजर लगाएर सडक खन्दा वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण केही पनि नहुने उनले बताए । भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुसी खनेका सडक वर्षायाममा भने विपद्को प्रमुख कारण बनेका हुन् । नाममात्रका उपभोक्ता समितिले ठूला उपकरण लगाएर सडकको नयाँ ट्र्याक बनाउने गर्छन् । सडक स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय सरकाले प्रारम्भिक वातावरणीय परीक्षणसमेत गर्दैनन् । अधिकांश सडकमा पर्खाल पनि लगाउन्नन् । वृक्षारोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापनमा ध्यान दिँदैनन् । जसले गर्दा वर्षायाममा पानी पर्नासाथ पहिरोको समस्या बढेको पूर्वखोला गाउँपालिका–२, जल्पाका नवलसिंह घर्तीले बताए । ‘सडक चौडा गर्दा इन्जिनियर, कर्मचारी कोही हुँदैनन्,’ उनले भने, ‘डोजर चालकले मनपरी खन्छन् । अनि, वर्षा हुनासाथ पहिरो खस्छ ।’

संघ, प्रदेश र स्थानीय सरकारको बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाउने परिपाटी हटेको छैन । सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत ७० बढी योजना अघिल्लो आर्थिक वर्षमा भए । १० स्थानीय तहका २ हजार बढी सडक चौडा गर्ने, स्तरोन्नति गर्ने योजना भएका छन् । सडक डिभिजनका पनि सय बढी त्यस्ता योजना छन् । हुँगीबाट फोक्सिङकोट जाने दुई–तीनवटा सडकमा बढी समस्या देखिएको छ ।

पहाडी भूभागमा ग्रेड नमिलाएर ट्र्याक खोल्ने, सडक स्तरोन्नति गर्ने काम गर्दा बढी क्षति पुगेको छ । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार सडक ट्र्याक खोल्दा केही क्षति पुगे पनि त्यसलाई वातावरण जोगाउने गरी आगामी दिनमा काम गर्ने योजना छ । माथिल्लो भेगमा खनेको सडकले तल्लो भेगमा बालीनाली पुर्ने, कालीगण्डकी करिडोर सडकमा डेबरेज बगेर आउने गुनासो आएको उनले बताए । ‘क्षति कम गर्ने गरी काम गर्ने हो,’ उनले भने, ‘कतिपय स्थानमा पहिरो खस्ने र डेबरेज बगाएर समस्या पनि ल्याएको गुनासो सुन्नुपर्छ ।’ हुँगी, असेर्दीमा अघिल्लो वर्ष माथिल्लो भागबाट बगाएर ल्याएको डेबरेजले एक जनाको मृत्युसमेत भएको थियो । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रेम बस्यालका अनुसार नयाँ ट्र्याक खोल्दा बढी समस्या देखिएको छ । तर, प्रदेश सरकारका ७० योजनामा अधिकांश चौडा गर्ने थिए । यस वर्ष २३ किलोमिटर सडकमा चौडा गर्ने थियो । अब आगामी वर्षमा ग्राभेल, नाली र टेवा पर्खालको काम गर्ने उनले बताए । ‘कतिपय सडकमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईर्ई) गरे अनुसार डेबरेज व्यवस्थापन गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘कतिपयमा प्रतिकूल असर पर्छ वा पर्दैन भन्ने कुराको अध्ययन गरिएको हुन्छ ।’

डाँडापाखो खन्ने प्रवृत्ति रोक्न प्रारम्भिक वातावरणीय परीक्षणबिना सडक चौडा गर्न, ट्र्याक खोल्न, स्तरोन्नति गर्न दिन नहुने डिभिजन वन अधिकृत मोहन पौडेलले बताए । ‘हामीले वन क्षेत्रमा सडक ट्र्याक बनाउँदा होस् वा अन्यत्र पनि यस विषयमा कुरा राख्ने गरिएको छ,’ उनले भने, ‘तर, हामीलाई अवरोध गर्ने, विकास विरोधी भन्ने गरिन्छ । त्यसैले धेरै कुरा भन्नसमेत अप्ठ्यारो लाग्छ ।’

प्रकाशित : श्रावण १८, २०७८ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×