मेलम्चीमा जब धर्ती भासियो  - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा जब धर्ती भासियो  

भ्रेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा अनेक कारण रहेको विज्ञहरुको ठम्याइ
‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो’
अब्दुल्लाह मियाँ

काठमाडौँ — सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पटक–पटक बाढी आउनुमा वर्षालाई मात्र कारण मान्न नहुने विशेषज्ञहरूको प्रारम्भिक निष्कर्ष छ । करिब ३५०० मिटर उचाइको भ्रेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा विभिन्न कारण (मल्टिपल कजेज) रहेको उनीहरूको ठम्याइ छ । 

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सबाट करिब २० किलोमिटर उत्तरमा पर्ने हेलम्बु–१ भेमाथाङस्थित पहिरो सुरु भएको ठाउँ । बाढीले बगर बनाएको हेलम्बुको चनौटे बजार (दायाँ माथि) र बाढीपछि मेलम्ची बजारबाट दोलालघाटतर्फ लागेको इन्द्रावती । तस्बिर सौजन्य : सुदर्शन आचार्य

असार पहिलो साताजस्तै शनिबार राति फेरि मेलम्चीको शिरदेखि ढुंगा, माटो, रूख, बिरुवासहितको लेदो आएर चनौटे क्षेत्रमा घर र पुल बगाएको थियो । यो क्रम अझै बढ्न सक्ने भएकाले सचेतना अपनाउन उनीहरूले सुझाव दिएका छन् । त्यस क्षेत्रको अध्ययन गर्न आइतबार घ्याङफेदी पुगेका भूगर्भविद्, हाइड्रोलोजिस्टलगायत विशेषज्ञलाई उक्त क्षेत्रका स्थानीयले केही दिनयता त्यहाँ भारी र लगातार आरीघोप्टे वर्षा (क्लाउड बस्ट) नभएको बताएका थिए ।

‘स्थानीय बासिन्दाले योभन्दा ठूलो वर्षा पहिलाका वर्षहरूमा हुने गरेको बताए,’ त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञ विष्णुप्रसाद पाण्डेले गृह मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो क्षेत्रमा वर्षा मापन केन्द्रहरू नभएकाले कुन स्तरमा वर्षा भएको हो, यकिन गर्न सकिएन । त्यसैले वर्षाले नै त्यो स्तरको क्षति निम्त्याएको हो भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।’

जल तथा मौसम विज्ञान विभागको पछिल्लो तथ्यांकले पनि पाण्डेको भनाइलाई पुष्टि गर्छ । विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार पहिरो सुरु भएको क्षेत्रभन्दा धेरै तल अर्थात् शेर्माथाङको वर्षा मापन केन्द्रले शुक्रबार ४१.४ र शनिबार ४३.६ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यस्तै, इन्दावती नजिकको धाप भन्ने स्थानमा रहेको मापन केन्द्रले शुक्रबार २२.२ र शनिबार ५.६ मिमि वर्षा रेकर्ड गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भने शुक्रबार ७८.२ मिमि वर्षा रेकर्ड भएको छ ।

बाढीले बगर बनाएको हेलम्बुको चनौटे बजार

असार पहिलो साता पनि भ्रेमाथाङ क्षेत्रबाटै सुरु भएको भीमकाय पहिरोसँगै बगेर आएको ढुंगा, माटो, रूख, बिरुवासहितको लेदोले मेलम्ची बजारसम्मै क्षति गरेको थियो । पाण्डेले पहिरो बगेर आएको मुख्य स्रोतमै पुग्न नसकेकाले कारण यही हो भनेर यकिन गर्न नसकिने बताए । हेलिकप्टर लिएर गएको हेलम्बु गाउँपालिकाका अध्यक्षसहितको टोली प्रतिकूल मौसम र जटिल भूगोलका कारण आइतबार बिहान भ्रेमाथाङबाट माथि जान सकेको थिएन ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सन् २०११ को अध्ययनले मेलम्चीमाथिको हिमाली भाग (क्याचमेन्ट) मा ४ वटा हिमताल रहेको देखाएको छ । ‘तर, ती ताल फुटेको देखिन्न, सूक्ष्म अध्ययनका लागि भ्रेमाथाङभन्दा माथिल्लो भागसम्मै पुग्नुपर्ने हुन्छ,’ पाण्डेले भने, ‘मेलम्ची खोलाको स्लोप बढ्दा भएकाले थोरै वर्षा हुँदा पनि त्यसको गति र ऊर्जा बढी हुन्छ, वर्षाले कमजोर भागलाई सोहोरेर बगाउँछ, सम्भवतः गत असार र शनिबार राति त्यही भएको हुन सक्छ ।’

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सबाट करिब २० किलोमिटर उत्तरमा पर्ने हेलम्बु–१ भ्रेमाथाङस्थित पहिरो सुरु भएको ठाउँ । तस्बिर सौजन्य : सुदर्शन आचार्य

पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आबद्ध अर्का भूगर्भविद् वसन्तराज अधिकारीका अनुसार हिमाली क्षेत्रका धेरै डाँडा विगतमा हिमनदीले बगाएर ल्याएका ढुंगा, माटो र गेग्रान जमेर बनेका हुन् । ‘त्यस्तो भागमा भूकम्पले हल्लाएर क्षतविक्षत पारेपछि थोरै वर्षा हुँदा पनि पानी भित्रैसम्म गएर गलाएको हुन्छ,’ अधिकारीले सञ्चारकर्मीसँग भने, ‘त्यही भाग ढिक्कै बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो मात्रामा गेग्रानले बढी क्षति गरेको हो ।’

तीव्र गतिमा माथिल्लो भागबाट ढुंगा/चट्टान, माटोसहितको पहिरोले खोला आसपासको भागसमेत क्षयीकरण गरेपछि ढुंगा, माटो र गेग्रानको मात्रा बढेको उनको विश्लेषण छ । खानी तथा भूगर्भ विभागका शिव बाँस्कोटाले भने असार पहिलो साता र शनिबारको बाढीलाई भेल पहिरोको संज्ञा दिए । उनले हजारौं वर्षअघि हिमनदीले बगाएर ल्याएका ढुंगा–माटोबाट बनेको भाग भूकम्पले हल्लाएर थिलथिलो बनाएपछि पहिरोको रूप लिएको उनले बताए । भूगर्भविद्हरूका अनुसार भूकम्पले हल्लाएको भाग स्थिर हुन वर्षौं लाग्छ । ‘अग्ला डाँडाहरू पहिलेका हिमनदीले ल्याएर राखेका ढुंगा–माटोलगायतबाट बनेका हुन्,’ उनले भने, ‘अहिले त्यही भाग कमजोर भएर बगेको हुन सक्छ तर मुख्य स्रोतसम्मै अध्ययन नगरी निष्कर्षमा पुग्नुहुन्न ।’

बाढीपछि मेलम्ची बजारबाट दोलालघाटतर्फ लागेको इन्द्रावती । तस्बिर सौजन्य : सुदर्शन आचार्य

हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले हिमनदीले बगाएर ल्याएको ग्रेगानबाट बनेको चौर कमजोर भएर बगेपछि तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको बताए । त्यसैगरी भूगोलविद् नरेन्द्रराज खनालले अहिलेसम्म सार्वजनिक भएका भिडियो र तस्बिर हेर्दा असार पहिलो साता र शनिबार बाढी सुरु भएको स्थल (स्रोत) अझै यकिन गर्न नसकिने बताए । ‘त्योभन्दा अझै माथिबाट पहिरो सुरु भएको हुन सक्छ,’ उनले भने, ‘बीच–बीचमा भएका पुराना पहिरोमा यो वर्ष थपिएपछि ठूलो मात्रामा ढुंगा–माटो तीव्र गतिमा तलतिर बगेको देखिन्छ ।’

विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी अध्यक्ष अनिल पोखरेलले भ्रेमाथाङभन्दा माथि नै पहिरोको स्रोत हुन सक्ने भएकाले अध्ययन जारी राखेको बताए । ‘स्रोत पुग्न ५–६ दिन हिँड्नुपर्ने देखिन्छ,’ उनले भने, ‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ भन्ने प्रमाणित भएको छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो ।’

प्रकाशित : श्रावण १८, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

न आचार न संहिता

सम्पादकीय

कूटनीतिक मर्यादा, शिष्टाचार र सम्पर्क समन्वयका लागि सरकारले तय गरेको कूटनीतिक आचारसंहितालाई पालना गर्ने निकाय भनेको सरकार स्वयं हो । अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप कूटनीतिक निकायका अधिकारीसँग गरिने भेटवार्ता वा सम्पर्कको मर्यादित अभ्यास अघि बढाउन तय भएको आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने निकाय परराष्ट्र मन्त्रालय स्वयं हो ।

तर आफैंले निर्धारण गरेको कूटनीतिक आचारसंहिताको प्रबन्ध मिलाउन मन्त्रालय कतै अलमलिएको हो कि झैं देखिएको छ । आचारसंहिताको दुहाई दिइरहेकै बेला प्रधानमन्त्री तहदेखि मन्त्रीहरू र राजनीतिक दलका प्रमुख नेताहरूले पनि आफ्नै समयतालिका वा उद्देश्यमा मनोमानीपूर्वक कूटनीतिक भेटघाट गरिरहेको पाइन्छ, जसलाई हेरेर आचारसंहिताको अर्थ र अन्तर्य पहिल्याउनै नसकिने भएको छ ।

सरकारले २०६७ सालमा पछिल्लो पटक जारी गरेको कूटनीतिक आचारसंहिता सार्वजनिक पद धारण गरेका व्यक्ति र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीका हकमा लागू हुने भनिएको छ । स्वभावतः सार्वजनिक पद धारण गरेका व्यक्ति भन्नाले संविधान तथा प्रचलित कानुन, सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेशबमोजिम सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने व्यक्ति भन्ने बुझिन्छ । यो परिभाषाअन्तर्गत स्वभावतः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारीसमेत पर्छन् । तर, अनौठो के छ भने गत वर्ष कात्तिक ५ मा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेको भेटघाटका बारेमा न संस्थागत स्मृति राखियो, न आचारको ख्याल गरियो, न यस्तो भेटघाट आदानप्रदान नै भयो । कहिले भारतीय प्रधानमन्त्रीका ‘विशेष दूत’ बनेर आएका भन्दै र कहिले ‘शिष्टाचार भेटघाट’ भनेरै ‘रअ’ का प्रमुखसँगको भेटघाटको प्रसंगलाई पन्छाउने काम गरियो । यो प्रकरणमा सधैंजसो आचारसंहिताको दुहाई दिने परराष्ट्रमन्त्री वा मन्त्रालयको पद्धतिले पनि कहीँ–कतै ‘सरोकार’ उठाउनै सकेन । सरोकार सम्बद्ध सबै निकाय तैं चुप मै चुप रहे । यस्तै प्रवृत्ति सर्वत्र छ ।

कतिसम्म भने, काठमाडौंस्थित भारतीय तथा चिनियाँ राजदूतले आफूले चाहेको र भनेको बेलामा कुनै पनि तहका राजनीतिक नेता, मन्त्री वा संघ–प्रदेशका उच्चस्तरीय पदाधिकारीसँग खुलेरै भेट्ने गरेको पाइन्छ । संघको जानकारीबेगर पनि नगरपालिकाका मेयरदेखि प्रदेशका मुख्यमन्त्रीसम्मको विदेशमा हुने गरेको ‘आमन्त्रित भ्रमण’ को सूची पनि लामै हुन्छ । यी र यस्ता भेटघाटहरूको न कतै ‘रेकर्ड’ रहन्छ, न सरोकार सम्बद्ध तहमा यस्ता भेटघाटमा उठेका एजेन्डाहरूको ‘फलो अप’ नै सम्भव हुन्छ ।

यो स्वाभाविक छ— आचारसंहिताको पालना वा कडाइका हकमा केन्द्रले जे–जस्तो आधार बनाएको छ, तलका अरू निकायले पनि अनुकरण गर्ने त्यही हो । ‘एक चीन नीति’ अनुसरण गरेको नेपाल सरकारका मन्त्रीहरूले आफूखुसी तिब्बती स्वतन्त्रता अभियानका नेतालाई बाहिरी मुलुकमा गएर भेटेको सूचना पनि सप्रमाण बाहिर आइरहेकै हुन्छ, तर कूटनीतिक संयन्त्र वा आचारसंहिताको प्रबन्धले कहीँकतै छेकबार लगाएको देखिन्न । यस्ता सूचना बाहिर आएपछि ‘मलाई झुक्याएर भेटघाटमा लगियो’ भन्ने शैलीका सनातनी जवाफबाहेक न अरू स्पष्टीकरण अथवा न कारबाहीकै केही उदाहरणहरू अहिलेसम्म देखा पर्न सकेका छन् ।

आचारसंहिताको नियमक निकाय भएकाले पनि कूटनीतिक आचारसंहिताको धज्जी उडिरहेको अवस्थामा हरेक पटक परराष्ट्र मन्त्रालयमाथि स्वाभाविक ढंगमा प्रश्न उठ्ने गरेको छ । परराष्ट्र मन्त्रालयको पद्धतिमै पछिल्लो पटक सबैभन्दा बढी प्रश्न उठ्ने भनेको कूटनीतिक आचारसंहिता र कार्यसम्पादन मूल्यांकनको प्रावधान हो । त्यसमा पनि कतिपय अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक संवेदनशीलता र गाम्भीर्यको सरोकारमा यो आचारसंहिता आकर्षित हुन्छ ।

तसर्थ, आचारसंहितालाई न ‘आचार’ न ‘संहिता’ बनाइराख्ने हो भने यस्तो देखावटी र कागजी प्रावधान हुनु वा नहुनुको कुनै अर्थ रहन्न । नेता, मन्त्री वा राजनेताले आफूलाई नियम–कानुनबाहिर गएर सिंगो पद्धतिका सामु ‘सर्वेसर्वा’ ठानिरहने अहं सोच रहिन्जेल आचारसंहिताको औचित्य हुँदैन । तसर्थ, पद्धति र संयन्त्रको कुरा गर्ने हो भने नेता–पदाधिकारीहरूले सुरुमा स्वयं आचारमा बाँधिएर यहीअनुरूप व्यवहार प्रदर्शन गर्नु जरुरी छ, जसको अनुगमन परराष्ट्र मन्त्रालयले गर्नुपर्छ ।

प्रकाशित : श्रावण १८, २०७८ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×