१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय

उनले भने, ‘साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नुपर्छ । यो किन गर्नुपरेको हो भने भदौं २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौं । विधान महाधिवेशनको लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए । उनले भने– ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौं । र, असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौं । यो पनि निर्णय भएको छ । र, विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौं ।’

एमाले स्थायी कमिटी बैठक भोलि पनि बस्ने महासचिव पोखरेलले जानकारी दिए ।

प्रकाशित : श्रावण १७, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?