कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा फेरि बाढी : पुलसहित १२ घर बगे

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ ।

मेलम्चीमा फेरि बाढी : पुलसहित १२ घर बगे

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् ।

त्यस्तै चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ । ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्,' उनले भने ।

हेलम्बु किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए । 'मेलम्ची बजारमा साइरनकै कारणले सबै सतर्क भए, मानवीय क्षति हुन पाएन,' उनले भने । बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन ढालेको थियो ।

यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो । प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् ।

बर्खा रोकिए पनि बाढीले खोलाको सतह घटबढ भइरहेकाले स्थानीय अझै त्रस्त छन् । मेलम्ची सडकखण्डबाट हेलम्बु जोड्ने मोटरेबल पुल बाढीले हानेर थप क्षतिग्रस्त बनाएको छ । 'यो पुल बगे अन्य स्थानीय तहसँग हेलम्बुको सम्पर्क पूरै टुट्ने डर छ,' स्थानीय अर्जुन भण्डारीले भने ।

तस्बिर सौजन्य : एमडी राजा


प्रकाशित : श्रावण १७, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?