१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन : ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् । 

माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन : ओली 

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । 'माधव नेपाल जस्ता आन्दोलनविरोधीहरूलाई कुनै ठाउँ छैन,' उनले भने ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो ।

आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।

ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । २०७४ सालको निर्वाचनमा अर्को पक्षले कमजोर उम्मेदवारलाई टिकट मागेको र दिनपरेकाले पनि बहुमत आउन नसकेको बताए । 'अब पार्टीमा खुट्टा तान्ने प्रवृत्तिका मान्छे छैनन्, उम्मेदवार बनाउन खोज्यो जुनचाहिँ जित्दैन त्यसैलाई उम्मेदवार बनाउन खोज्ने,' उनले भने । एमाले अहिले पनि संसदमा ठूलो पार्टी भएको उनको भनाइ थियो ।

'एमाले भित्रका गद्दारलाई लिएर सरकार ढालेको' ओलीले आरोप लगाए । उनले बाटो बिराएका नेताहरू गल्ती स्वीकारेर पार्टीमा फर्किए ठाउँ रहेको बताए। 'अरु साथीहरू गल्ती स्वीकारेर फर्कनुहुन्छ भने आउनुस्, यो पार्टी हामी सबै मिलेर बनाएका हौं गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याउला,' उनले भने ।

नेपाल पक्षमा लागेका केही नेताहरूसँग छलफल भइरहेको पनि ओलीले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?