संक्रमित ४८ दिनयताकै उच्च

१० दिनमै दोब्बरभन्दा बढी संक्रमण, ५ महिनामा २ लाख संक्रमित थपिने प्रक्षेपण 
नेपालमा पनि कप्पा भेरिएन्ट भेटियो
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना फितलो भएपछि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५ सय १८ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या जेठ २६ यताको सबैभन्दा उच्च हो । जेठ २६ मा १६ हजार ६ सय १५ जनाको पीसीआर गर्दा ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि भएको थियो । 

संक्रमित ४८ दिनयताकै उच्च

त्यसयता असार ८ मा ३ हजार ७ सय ३ जनामा कोरोना देखिएको थियो । मंगलबार यो संख्याभन्दा बढी बढेर ३ हजार ८ सय ९९ जनालाई कोरोना देखिएको हो । पछिल्ला दिन संक्रमण बढ्न थालेको छ । साउन २ मा १ हजार ८ सय ७५ संक्रमित देखिएकामा मंगलबार १० दिनमै दोब्बरभन्दा बढीले संक्रमण उकालो लागेको हो ।

परीक्षणको तथ्यांकअनुसार प्रदेश १ मा सबैभन्दा बढी संक्रमण देखिन्छ । प्रदेश १ का ९ वटा ल्याबमा २ हजार ४ सय १६ जनाको पीसीआर गर्दा ७ सय ७२ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश २ मा पीसीआर गरेकामध्ये ८.६४ प्रतिशतलाई मात्रै कोरोना देखिएको छ । प्रदेश ३ मा १९ प्रतिशत, गण्डकीमा २६ दशमलव ६३, लुम्बिनीमा १० प्रतिशत, कर्णालीमा १८ प्रतिशत र सुदूरपश्चिममा पीसीआर गरेकामध्ये १९ प्रतिशतलाई कोरोना देखिएको हो ।

कोरोना संक्रमण सिद्धिएजसरी बजार–पसलमा भीडभाड छ । सार्वजनिक यातायातमा अपनाउनुपर्ने मापदण्ड पालना भएको छैन । राजनीतिक दल र विभिन्न समूहले निषेधाज्ञा खुकुलो बनाएलगत्तै सुरु गरेको प्रदर्शन यथावत् राखेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्डमा हेलचेक्य्राइँ भएपछि संक्रमित बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘संक्रमित हुने संख्या बढेसँगै अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीको संख्या पनि वृद्धि भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘सडक र बजारमा देखिएको भीडभाड तत्काल रोकिनुपर्छ ।’

साउन १ मा ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ८ वटा मात्रै थिए । मंगलबार यो संख्या बढेर ११ पुगेको छ । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र सुर्खेतमा ५ सयभन्दा बढी सक्रिय संक्रमित थिए । पछिल्लो दिन मकवानपुर, नवलपरासी पूर्व र रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित थपिएका छन् । सुर्खेतमा भने संक्रमण घटेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले आगामी ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । मन्त्रालयले संसद्को स्वास्थ्य, शिक्षा समितिमा पेस गरेको विवरणमा ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र त्यसमध्ये ९ हजार ७ सय ९३ लाई सघन उपचार गर्नुपर्ने सम्भावना उल्लेख छ ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन, प्रतिकार्यको तयारी र कार्यान्वयनका लागि देशभरिका स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालनको तयारी गरेको समितिलाई जानकारी दिएको छ । मन्त्रालयले कोरोनाको ‘सम्भावित तेस्रो लहर’ आउने सम्भावना रहेको भन्दै केन्द्र र प्रदेशहरूमा अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ । भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न प्रत्येक प्रदेशमा कम्तीमा एक हजार सिलिन्डर र केन्द्रमा दुई हजार सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो । मन्त्रालयले खाली रहेका सिलिन्डरसमेत भरेर राख्न परिपत्र गरेको छ । अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक तथा कन्सन्ट्रेटर चुस्त र चालु अवस्थामा राख्न निर्देशन दिएको छ ।

नेपालमा पनि कप्पा भेरिएन्ट

नेपालमा बढी संक्रामक मानिएको कोभिड–१९ डेल्टा भेरिएन्टमा थप परिवर्तित रूप पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाको जिनोमिक पहिचान गर्दा सबै डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म विभिन्न भागबाट फरक उमेर समूहका व्यक्तिको नमुना संकलन गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ती नमुना सिक्वेन्सिङका लागि असार ३० मा भारत पठाइएको थियो । योसहित हालसम्म नेपालमा भेरिएन्ट अफ कन्सर्नका रूपमा अल्फा र डेल्टा भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट पुष्टि भएको छ । बढी संक्रामक यी भेरिएन्टले सबै उमेर समूहका व्यक्तिमा असर पार्ने अध्ययनहरूले देखाएका छन् ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?