तेस्रो लहरको जोखिममा बालबालिका तर छैन तयारी- समाचार - कान्तिपुर समाचार

तेस्रो लहरको जोखिममा बालबालिका तर छैन तयारी

अधिकांश अस्पतालमा पीआईसीयू र एनआईसीयू छैन
प्रशान्त माली

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सतर्क रहन सार्वजनिक अपिल गरिसकेको छ । विज्ञहरूले तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने चेतावनी दिइरहेका छन् । तर अस्पतालहरूले बालबालिकाका लागि आईसीयूलगायतको पूर्वाधार व्यवस्थापनमा तदारुकता देखाएका छैनन् ।

राजधानीकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ट्रमा सेन्टर र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोरोना संक्रमित बालबालिका उपचार गर्न छुट्टै भेन्टिलेटर र आईसीयूको व्यवस्था छैन । कान्ति बाल अस्पतालले पनि आईसीयूलगायत उपकरण थप गर्न सकेको छैन । त्रिवि शिक्षण र पाटन अस्पतालमा संक्रमित बालबालिकालाई छुट्याइएका सबै बेड भरिएका छन् ।

कान्ति बाल अस्पतालमा पीआईसीयू २०, एनआईसीयू २२ र सर्जिकल आईसीयू १० वटा छन् । जन्मेको २८ दिनसम्मका शिशुलाई एनआईसीयूमा र २९ दिनदेखि १८ वर्षसम्मका बालबालिकालाई पीआईसीयूमा राखिन्छ । कान्तिमा कोभिड–१९ का लागि ४ भेन्टिलेटर र २५ एचडीयू बेड छुट्याइएको छ । अहिले भेन्टिलेटर र एचडीयूमा १६ जना संक्रमित बालबालिका उपचाररत छन् । संक्रमण दर एक्कासि बढे अस्पतालले थेग्न नसक्ने चिकित्सकहरू बताउँछन् । अस्पतालले गएको आर्थिक वर्षमै स्वास्थ्य मन्त्रालयबाट आईसीयू र भेन्टिलेटर व्यवस्थाका लागि ६ करोड रुपैयाँ प्राप्त गरिसकेको छ । ‘बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उपचारले मात्र ज्यान जोगिने सम्भावना कम हुन्छ,’ अस्पतालका डा. आरपी बिच्छाले भने । उनले जोखिम हटाउन बालबालिकाका लागि खोप तयार हुनासाथ ल्याउने गरी पहल गर्नुपर्ने बताए । उनका अनुसार अमेरिकामा १२ देखि १८ वर्षसम्मका लागि खोप उत्पादन हुन थालेको छ भने भारतमा बालबालिकाका लागि परीक्षण हुँदै छ ।

डा. बिच्छाले भयावह स्थिति आउन नदिन प्रत्येक प्रदेशमा २५ बेड एचडीयू र १५ बेड भेन्टिलेटरसहित २ सय ५० शय्याको बाल अस्पताल स्थापना गर्न जरुरी रहेको बताए । ‘यस विषयमा मैले सरकारलाई सुझाव दिइसकेको छु,’ उनले भने, ‘जिल्लामा पनि ५ बेडको आईसीयूसहित २५ शय्याको अस्पताल स्थापना गर्नुपर्छ ।’ उनले कान्तिमा कोभिड संक्रमितका लागि १० पीआईसीयू र २५ एचडीयू थप्ने तयारीमा रहेको बताए ।

त्रिवि शिक्षण अस्पतालमा बालबालिकाका लागि ६० बेडको जनरल वार्ड छ । एनआईसीयू १४ र पीआईसीयू ८ बेडमध्ये कोभिडका लागि ४ वटा छुट्याइएको छ । अहिले सबै आईसीयू भरिएका छन् । मन्त्रालयबाट अस्पतालले आईसीयू र भेन्टिलेटर खरिद गर्न १२ करोड प्राप्त गरिसकेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आवश्यकताअनुसार उपकरण थप गर्दै लैजाने बताए ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १० बेडको पीआईसीयू छ । कोभिडका लागि भने छुट्याइएको छैन । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले महामारीको पहिलो र दोस्रो लहरमा कोभिडका लागि छुट्याइएका २५ बेडलाई आवश्यक परे संक्रमित बालबालिकाको उपचारका लागि रूपान्तरण गर्न सकिने बताए । पाटन अस्पतालमा कोभिडका लागि छुट्याइएका ५ पीआईसीयू र २ एनआईसीयू बेड भरिइसकेका छन् । नन–कोभिडका लागि ५/५ वटा पीआईसीयू र एनआईसीयू छन् । नयाँ संक्रमित बालबालिका आए फर्काउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । अस्पतालले बालबालिकासहित युवा र ज्येष्ठ नागरिक लक्षित आईसीयू व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयबाट गएको आर्थिक वर्षमा १८ करोड रुपैयाँ प्राप्त गरेको थियो । अस्पतालका रजिस्ट्रार डा. पारसकुमार आचार्यले संक्रमण उच्च हुँदै गए आवश्यकताअनुसार उपकरण थप गरिने बताए । ‘तत्काल १५ वटा पीआईसीयू थप्ने तयारीमा छौं,’ उनले भने । अहिले पाटनमा बालबालिकाबाहेक १ सय ७० जना कोभिड बिरामी उपचाररत छन् ।

मन्त्रालयले गत वर्ष वीर अस्पताललाई आईसीयू र भेन्टिलेटरसहितको बेड राख्न ३० करोड उपलब्ध गराएकामा एक सय बेड मात्र तयार छ । कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले २ सय बेडको भेन्टिलेटरसहित आईसीयू तयार गर्ने क्रममा रहेको जानकारी दिए । ‘२० प्रतिशत बेड बालबालिकालाई छुट्याउँछौं,’ उनले भने, ‘हामी निःशुल्क उपचार गर्छौं । जनशक्ति पनि पर्याप्त छ ।’ ट्रमा सेन्टरमा त बालबालिकालाई आईसीयू र भेन्टिलेटरको व्यवस्था नै छैन । निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेलका अनुसार एउटा आईसीयू बेड तयार गर्न कम्तीमा ६/७ लाख रुपैयाँ लाग्छ । ‘सरकारबाट यसका लागि बजेट प्राप्त भइसकेको छैन,’ उनले भने । उनका अनुसार आईसीयू व्यवस्थापन गर्न मनिटर, बेड, भेन्टिलेटर, पम्पजस्ता सामग्री जर्मनी, बेलायत, अमेरिका, चीनलगायत मुलुकबाट आयात गर्नुपर्छ । सामान आइपुग्न १ महिनादेखि ३ महिनासम्म लाग्छ । ‘सरकारले अहिले नै तयारी नथाले पछि आवश्यक पर्ने बेला व्यवस्थापन गर्न सकिँदैन,’ डा. पौडेलले भने । ट्रमा असार दोस्रो सातादेखि नन–कोभिड अस्पतालका रूपमा परिणत भइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालले आईसीयू र भेन्टिलेटर खरिद गर्न बजेट माग गर्न सक्ने बताए ।

कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बालबालिकाका लागि ५ वटा बेड तयार गर्ने क्रममा रहेको बताए । भेरी अस्पतालका प्रवक्ता डा. संकेतकुमार रिसालले पीआईसीयू र एनआईसीयू थप गर्न बालरोग विशेषज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए । डडेलधुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले उपकरण आउने क्रममा रहेको बताए । चिकित्सकका अनुसार शारीरिक बनावटका कारण बालबालिकामा प्रयोग हुने भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण फरक हुन्छन् । त्यसैले उपचारमा सहजताका लागि उनीहरूका लागि छुट्टै व्यवस्था गर्न जरुरी छ ।

प्रदेशस्तरीय अस्पतालले बालबालिका लक्षित आईसीयू व्यवस्था गरे/नगरेको भन्ने विषयमा मन्त्रालयमा कुनै विवरण बुझाएका छैनन् । केन्द्र र प्रदेशस्तरका ३४ वटा अस्पतालले आर्थिक वर्ष २०७७/०७८ मा आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न मन्त्रालयबाट २ अर्ब ९३ करोड ३८ लाख लिएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ करोड, भेरी अस्पतालले १२ करोड, कोसी, नारायणी, भरतपुर, धुलिखेल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँ, राप्ती एकेडेमी अफ हेल्थ साइन्स डडेलधुरा अस्पतालले ६ करोडका दरले बजेट लिएका हुन् । त्यस्तै मेची, महाकाली, जनकपुर, लुम्बिनी, सेती प्रदेशिक अस्पतालले पनि ६/६ करोड र सुर्खेत प्रदेशिक अस्पतालले १२ करोड पाएका थिए । अन्य अस्पताललाई पनि बजेट उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

सीको तिब्बत भ्रमणका तीन अन्तर्य

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बत नै चीनको दक्षिण एसिया ‘गेटवे’ भएकाले सीको भ्रमणप्रति नेपालको चासो त छँदै छ, सामरिक प्रतिद्वन्द्विता निभाउँदै आएको भारतले पनि यसलाई निकै चनाखो आँखाले नियालेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग सीमा जोडिएको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेपछि नेपालमात्रै नभएर भारत र पश्चिमा आँखाले पनि धेरै कोणबाट हेरिएको छ । कुनै पनि राष्ट्रपतिको हैसियतले तीन दशकपछिको तिब्बत भ्रमण, सन् २०१३ मा राष्ट्रपति पद सम्हालेपछि सीको पहिलो तिब्बत भ्रमण, सामरिक महत्त्वको भ्रमणलगायत अनेक कोणबाट यो भ्रमणको व्याख्या गरिएको छ । सीले अन्य प्रान्तको भ्रमण गर्दा यस्तो व्याख्या कमै मात्र हुन्थ्यो ।

तिब्बतलाई ‘संवेदनशील क्षेत्र’ को संज्ञा दिँदै पश्चिमा सञ्चारमाध्यमहरूले जबर्जस्त मसला बनाउने गरेका छन् भने बेलाबेलाका तिथिमिति र दिवसमा पश्चिमा राष्ट्रहरूले गुणदोष खुट्याउने अवसर खोजिरहेका हुन्छन् । यद्यपि पछिल्लो समय तिब्बतको स्थिर विकासले त्यस्ता उतारचढावका किस्साहरू छायामा परेका छन् ।

नेपाली सञ्चारमाध्यमले सीको भ्रमणलगत्तै तिब्बत चीनको प्राथमिकतामा परेको भन्नेखालका विश्लेषण गरिरहेका छन् । चिनियाँ राष्ट्रपतिले सन् २०१९ अक्टोबरमा नेपालको भ्रमण नगरेको भए तिब्बतसम्म पुग्नुलाई नेपालमा ठूलो ‘ग्ल्यामर’ को विषय बनाइने थियो ।

सन् २०१९ को अप्रिलमा बेइजिङमा भएको दोस्रो बेल्ट एन्ड रोड (बीआरआई) सम्मेलनपछि नेपाल पनि यसको साझेदार भएको र केरुङ–काठमाडौं रेलमार्गको विषय निरन्तर चर्चामा रहेकाले नेपालका लागि तिब्बत अर्को चासोको विषय हो । त्यसका अलावा नेपाल र तिब्बतबीचको परम्परागत भाइचाराको नाता पनि छ ।

चीनका राष्ट्रपतिले सन् २०१३ मार्चमा सत्तामा पुगेलगत्तै पूरै देशको निरन्तर हालचाल बुझिरहेको अनेक दृष्टान्त छन् । कुनै मौका पारेर देशका विभिन्न कुनामा पुगिरहेका हुन्छन् । चिनियाँहरूका नजरबाट हेर्दा यो एउटा सामान्य अभिभावकीय भूमिका नै हो । चिनियाँ सञ्चारमाध्यमले सीको यो भ्रमणलाई विभिन्न आयामबाट केलाइरहेका छन् ।

सीको तिब्बत यात्रालाई तीनवटा कोणहरू १० वर्ष, ७० वर्ष र १०० वर्षको संयोगबाट हेर्न सकिन्छ । जुलाई २१ तारिखमा तीनदिने भ्रमणका सिलसिलामा चीनका राष्ट्रपति सी विश्वको छानो तिब्बती पठारभूमिमा १० वर्षको अन्तरालमा पुगेका हुन् । यो अवधि तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वर्षगाँठसँग मेल खान्छ भने चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएको हैसियतले पार्टीको शतवार्षिकी पूरा भएपछिको पहिलो घरेलु भ्रमण पनि हो ।

१० वर्षको अन्तराल

१० वर्षअघि सन् २०११ जुलाई २१ तारिखकै दिन त्यतिखेरका उपराष्ट्रपति सी चिनफिङ लिन्चीस्थित मिलिन विमानस्थलमा उत्रिएका थिए । उही मितिमा केही प्रतिनिधिका साथ तर ‘राष्ट्रपति’ को हैसियतमा सी यस पटक तिब्बत पुगे । दशकअघि जुलाई १९ तारिखमा तिब्बतको शान्तिपूर्ण मुक्तिको ६० औं वार्षिकोत्सव ल्हासामा आयोजना गरिएको थियो । अहिले ७०औं वर्षगाँठका सिलसिलेवार कार्यक्रमहरूमा उनले संलग्न हुने मौका पाए ।

उतिखेर सीले विकासको फड्कोका साथ तिब्बतको स्थिरता र सन् २०२० सम्ममा सम्पूर्ण रूपमा समृद्ध समाज निर्माणको अभियान पूरा गर्ने अठोट व्यक्त गरेका थिए । आज तिब्बतसहित पूरै चीनले एक समृद्ध समाजको खाका कोर्दै गरिबीलाई निमिट्यान्न पारेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं राष्ट्रिय जनकांग्रेस, पार्टी केन्द्रीय समितिको छैटौं र सातौं तिब्बत कार्य बैठक सन् २०१५ र सन् २०२० का दौरान सीले तिब्बतको सैद्धान्तिक तथा व्यावहारिक मुद्दाका शृंखलाको व्याख्यासँगै रणनीतिक योजना अघि सारेका थिए । यतिखेर सीले भनेका छन्, ‘पछिल्ला वर्ष तिब्बतका सबै जातिको जीवन र आध्यात्मिक दृष्टिकोणमा ठूलो परिवर्तन भएजस्तो लाग्यो । जता पुगे पनि खुसियालीयुक्त जीवनशैली, पार्टी र देशप्रतिको कृतज्ञताभाव प्रकट भएको देखें ।’

तिब्बत मुक्तिको ७० औं वर्षगाँठ

राष्ट्रपति सीका लागि तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वर्षगाँठको बधाई ज्ञापनको अवसर बन्यो यो यात्रा । शून्य अंकमा हुने कुनै पनि वार्षिकोत्सवलाई चिनियाँहरूले भव्यसँग मनाउने कुरा अनौपचारिक रूपमा चीनभित्र प्रचलित छ । अतः पार्टी महासचिवका नाताले सीले अभिभावकीय आभास दिलाउनका लागि यो समयमा भ्रमणको साइत निकालेको हुनुपर्छ ।

सन् १९५१ मे २३ मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएर नयाँ प्रारम्भ बिन्दु बनेको थियो । ७० वर्षमा तिब्बतको अर्थ व्यवस्था, समाजको सर्वांगीण विकास, जनजीवनमा आएको सुधार, वातावरणीय संरक्षण, सहरी तथा ग्रामीण क्षेत्रबीचको सम्पर्कलगायतमा चामत्कारिक परिवर्तन आएको छ, जसको प्रमुख कारकका रूपमा सडक पूर्वाधारलाई विश्लेषकहरूले उठान गरेका छन् । तिब्बत मुक्तिअघि राजमार्ग नहुनुको अवस्थालाई सन् १९५४ मा छिङहाई–तिब्बत र सछ्वान–तिब्बत राजमार्ग निर्माणले अन्त्य गरेको थियो । त्यसपछिको क्रमिक विकासको अनुभव सीले नै गत जुन २५ तारिखदेखि सुरु भएको ४३५ किलोमिटर लिन्ची–ल्हासा विद्युतीय रेलद्वारा तीन घण्टामै ल्हासा पुगेर लिए ।

पार्टीको शतवार्षिकी लक्ष्यको मर्म र कर्म

राष्ट्रपति सीको एउटा भनाइ चीनमा निकै प्रचलित छ– ‘आफ्नो प्रारम्भिक सपनालाई नबिर्स ।’ अर्थात् लक्ष्य नभेटिउन्जेलसम्म डटेर लाग । पहिलो पटक कुन लक्ष्य तय गरिएको थियो भन्ने कुरालाई आत्मसात् गर्दै सोही मार्गचित्रमा पार्टीले संघर्ष गर्नुपर्ने धारणालाई चिनियाँ कम्युनिस्ट पार्टीले समयको मागअनुरूप चरितार्थ गर्न खोजेको देखिन्छ । चीनको आधुनिक समाजवादतर्फको नयाँ यात्रा तथा तिब्बतको विकासको नयाँ प्रस्थान बिन्दुबाट हेर्दा त ऐतिहासिक उपलब्धि नै हासिल गरेको ठहर्छ ।

पठारभूमिमा पुगेपछि राष्ट्रपति सीले तिब्बती पर्यावरण संरक्षण, ब्रह्मपुत्र, नी याङलगायत नदीहरूको संरक्षण, सर्वसाधारणको आजीविका र राज्यको प्राथमिकता, पर्यटकीय र सांस्कृतिक स्तरोन्नति, जीवन रेखा बनेको राष्ट्रिय एकताको सवाल र फेरि प्रारम्भिक सपनाको दृढतापूर्वक अवतरणलगायत विषयमा गहिरिएर र गम्भीर मुद्रामा कुराकानी गरे । चीनको परिवर्तन र विकासका विषयमा चर्चा गर्दा सीले यस्ता वाक्यहरू बारम्बार उच्चारण गर्छन् ।

नेपालसँग १ हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको तिब्बत चीनको दक्षिण एसिया छिर्ने ढोका हो । सीको भ्रमणले केरुङको रेलमार्गलाई अझ उत्साहित बनाउन सक्छ । यसको प्रथम लाभान्वित पक्ष नेपाल भएकाले नेपाली विश्लेषकहरू उत्साहित हुनु स्वाभाविकै हो । सीको भ्रमणले चिनियाँ विकासको रापताप नेपालतर्फ घुस्न सक्ने अन्तर्यबाट पनि घोत्लिन सकिएला । पश्चिमा आँखाले हेर्दा सीको तिब्बत भ्रमणका अनेकन भाष्य कथिन सक्लान् । राष्ट्रको अभिभावकले आफ्नो देशको कुनाकाप्चामा पुग्नु त दायित्व पनि हुन सक्ला । नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिले मुलुकको दूरदराज क्षेत्र भ्रमण गर्दाजस्तै अभिभावकीय भूमिकाका रूपमा सीको तिब्बत भ्रमणलाई सामान्य र सोझो अर्थमा मात्रै पनि लिन सकिन्छ ।

प्रकाशित : श्रावण १०, २०७८ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×