कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकले भन्यो– ‘बैंकका सबै सिस्टम सुरक्षित छन्, ढुक्क हुनुस्’

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । अपरिचित व्यक्तिबाट यहाँका १५ वटा बैंकको सिस्टम ह्याकिङ गरी पैसा चोरी गर्ने चेतावनी आएकोमा बैंकले सर्वसाधारणलाई सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन आग्रहसमेत गरेको छ । 

राष्ट्र बैंकले भन्यो– ‘बैंकका सबै सिस्टम सुरक्षित छन्, ढुक्क हुनुस्’

इनिसियल सेक्युरिटी एसेसमन्ट रिपोर्टका आधारमा अहिलेसम्म सबै सिस्टम सुरक्षित रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दाबी गरे । ‘अहिलेसम्म राष्ट्र बैंकको आन्तरिक सिस्टम, आरटीजीएस, बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ सिस्टम, नेपाल क्लियरिङ हाउसलगायत सबै सिस्टम सुरक्षित छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाको व्यावसायिक कारोबारमा कुनै समस्या देखिएको छैन ।’

सम्भावित जोखिमबारे पनि थप अनुसन्धान भइरहेकाले ढुक्क हुन राष्ट्र बैंकले सर्वसाधारणलाई अपिल गरेको छ । ‘बुधबारदेखि नै हामी निकै चनाखो भएर बसेका छौं,’ उनले भने, ‘यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि खोजी गरिरहेको छ । अहिलेसम्मको प्रारम्भिक सुरक्षा प्रतिवेदनका बैंक तथा वित्तीय संस्था र तीसँग सम्बद्ध सबै सिस्टम सुरक्षित छन् ।’

बुधबार नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थियो ।

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको छ ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको उनले बताए । ‘अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ भनेर फोन काट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौं । सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह गरेका छौं ।’ ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र कुनै गडबडी नदेखिएको सम्बद्ध बैंकहरूले जनाएका छन् ।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?