काठमाडौं उपत्यकामा कोरोनाका बिरामी भर्ना हुनेको अवस्था के छ ? - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा कोरोनाका बिरामी भर्ना हुनेको अवस्था के छ ? 

बुनु थारु

काठमाडौँ — निषेधाज्ञा खुकुलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाका बिरामी भर्ना हुने संख्यामा केही मात्रामा बढेको देखिएको छ । सरकारीमा बिरामीहरुको भर्नाको संख्या बढी छ भने निजीमा बिरामी घटेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक हेर्ने हो भने उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार २४१ रहेको छ । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ र ललितपुर ८७५ जना सक्रिय संक्रमित छन् ।

मंगलबारको तथ्यांक हेर्ने हो भने ५०० भन्दामाथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, नवलपरासी पूर्व, कास्की, रुपन्देही, सुर्खेत, चितवन , कैलालीसँगै काठमाडौं ,भक्तपुर र ललितपुर रहेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका फोकल पर्सन डा. प्रविन नेपालका अनुसार कोरोनाका बिरामी भर्ना भइरहे पनि ठूलो संख्यामा भने छैनन् । डा. नेपाल भन्छन्,‘पिक भएको बेला २०० बेड चलाउने र नभएको बेला १०० बेड सञ्चालन गर्ने भनेका हौँ । हाल १०० बेड नै प्याक छन् । ’ उनले औसतमा दैनिक ४ देखि ५ जना भर्ना भइरहेको बताउँदै आईसीयू भने भरिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका फोकल पर्सन राम विक्रम अधिकारीले बिरामी भर्नाको अवस्थामा केही बढेको बताए । उनका अनुसार हाल अस्पतालमा कोभिडका ९७ जना बिरामी उपचार गराइरहेका छन् । 'आईसीयू सबै भरिएको छ । साथै जेनेरल वार्डमा ६५ जना भर्ना भएका छन्,' उनले भने । अधिकारीले मृत्युदर पनि कम भइरहेको बताउँदै सरदर दैनिक १४ देखि १५ जना भर्ना हुने गरेकोमा निको हुने पनि त्यति नै संख्या रहेको बताए । पहिलेको जस्तो कोरोनाको बिरामीहरुको चाप एकदम नबढेको र इमरजेन्सीमा पनि फाट्टफुट्ट बिरामीहरु आइनै रहेको उनले जानकारी दिए ।

वीर अस्पतालमा भने बिरामीको चाप उस्तै । ३ हप्ताको आँकडा हेर्दा लगभग बिरामीको संख्या उस्तै रहेको अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले बताए । वीरमा ८० देखि ९० जना बिरामीले उपचार गराइरहेका छन् । वीरका आईसीयू पनि बिरामीले भरिएका छन् । जनरल वार्डमा अक्सिजन चाहिने बिरामी नै भर्ना भएको उनले सुनाए । अस्पतालमा दैनिक ८ देखि १० जना भर्ना हुने र ६ देखि ७ जनाको हाराहारीमा बिरामी निको हुने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जेनेरल वार्ड तथा आईसीयू भरि नै रहेको बताए । उनका अनुसार इमरजेन्सीमा दैनिक १० देखि १५ जना आइरहेका छन् भने ८ देखि १२ जना बिरामी भर्ना भइरहेका छन् ।

पाटन अस्पतालका निर्देशक डा रवि शाक्यले निषेधाज्ञा बढेसँगै बिरामीको संख्यामा केही मात्रामा वृद्धि भएको बताए । उनले भने,‘ बिरामीको भर्ना हुने संख्यामा कम आएको छैन । निषेधाज्ञाको समयमा १२ देखि १५ जना भर्ना हुने गरेकोमा हाल २५ देखि ३० जना भर्ना भइरहेका छन् । ' पाटनका आईसीयू बेडहरु पनि भरिएका छन् । पाटनमा हाल १७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

'अहिले नन कोभिडका बिरामी पनि धेरै बढेका छन् । ३७८ जना नन कोभिडका बिरामीहरु उपचार गराइरहेका होलान् साथै ओपीडीमा आउने बिरामी पनि बढेका छन् । त्यसैले पनि चुनौती थपिएको छ,' उनले भने ।

निजीमा बिरामी घट्दै

सरकारी अस्पतालमा बिरामी भर्ना भइरहँदा निजीमा भने अहिले बिरामीहरुको चाप ह्वात्तै घटेको छ । स्टार अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले हाल ७ जना बिरामीहरु उपचार भइरहेको बताए ।

नेपाल मेडिसिटी अस्पतालका सुपरिटेन्डेन्ट डा. राज राना भन्छन्,‘ निषेधाज्ञाले बिरामी कम भएका थिए । अहिले केही बढेको छ तर पहिलेको जस्तो बिरामी संख्या छैन ।’ उनका अनुसार हाल वार्ड र आईसीयू गरी २२ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

ह्याम्स अस्पताका निर्देशक डा. ज्योतिन्द्र शर्माले पनि पहिलेजस्तो फिभर क्लिनिक तथा इमरजेन्सीमा आउने बिरामी ह्वात्तै घटेको बताए । उनका अनुसार हाल अस्पतालमा ९ जना मात्र बिरामी उपचाररत छन् ।



प्रकाशित : श्रावण ५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्

जोन्सन एन्ड जोन्सन खोपको असरबारे के भन्छन् नेपाली विज्ञ ?

बुनु थारु

काठमाडौँ — कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपको लेबलमा यसले नसासम्बन्धी दुर्लभ समस्या ‘गिलान बारे सिन्ड्रोम’ निम्त्याउन सक्ने सम्भावना रहेको अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले उल्लेख गरेपछि यो खोपका विषयमा धेरै चर्चा–परिचर्चा भइरहेका छन् ।

फाइल तस्बिर : रोयटर्स

तर एफडीएका अनुसार जोन्सन खोपको यो रोगसँग सम्बन्ध भएको देखाए पनि खोपकै कारणले गर्दा यो समस्या देखिन्छ भनेर किटान गर्न सक्ने अवस्था भने छैन ।

ओम अस्पतालका कन्सलटेन्ट पिडियाट्रिक इम्युनोलोजिस्ट तथा रिम्याटोलोजिस्ट डा. धर्मगत भट्टराईका अनुसार कुनै पनि खोप साइड इफेक्टरहित हुन्छ भनेर कसैले भन्न सक्दैन । एकदमै गम्भीर तथा मृत्यु दर बढाउने खालको असर छ भने यो चिन्ताजनक हुन सक्छ ।

डा‍‍. भट्टराई भन्छन्, ‘यो सिन्ड्रोम हुने देखियो तर यसले गर्ने हानीहरु भन्दा बढी फाइदा छन् । महामारीले ज्यान जाने जोखिम र खोपको जोखिम कतिको छ हेर्नुपऱ्यो । खोपको जोखिम भन्दा फाइदा धेरै छ । खोप लगाएपछि कुनै लक्षण आए तुरुन्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । यो समस्या सञ्चो हुन्छ । उपचार सम्भव छ ।’

खोप सुुरक्षा व्यवस्था हेर्दै आएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले अमेरिकामा यो खोप पाएका १ करोड २७ लाख नागरिकमध्ये १०० जनामा यो रोगका समस्या देखिएको बताएको छ ।

सीडीसीका अनुसार समस्या देखिएकामध्ये १०० जनामा ९५ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो र एकजनाको मृत्यु भएको थियो । यो समस्या हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार व्यक्तिमा देखिने गरेको छ । समस्या देखिएका धेरैजना पूर्णरुपले ठीक पनि भएका छन्

‘गिलान बारे सिन्ड्रोम’ के हो ?

गिलान बारे सिन्ड्रोम नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरुलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ । धेरैजसो मानिसमा यो लक्षण खोप लगाएको ४२ दिनमा देखिएको छ । तर यो समस्या देखिने सम्भावना एकदम कम रहन्छ ।

हात र खुट्टामा कमजोरी तथा झमझम महसुस हुने, त्यो बढेर शरीरका अरु अंगमा पनि फैलिन सक्ने, हिडाइँमा कमजोरी, बोल्दा तथा चपाउँदा वा निल्दा गाह्रो हुने, एउटा चिजलाई दुईवटा देख्ने, आँखा चलाउन गाह्रो हुने लगायतका लक्षण देखिन सक्छन् । लक्षण देखिएमा तुरुन्त चिकित्सको सम्पर्कमा रहनुपर्छ ।

खोपको असरबारे अध्ययन गरिरहेका छौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले विश्व स्वास्थ्य संगठनबाट प्राप्त खोप भएको र औषधि व्यवस्थाले पनि मान्यता दिएकाले यसको साइड इफेक्टको बारेमा धेरै सशंकित हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘सबैले ढुक्क भएर लाउनुपर्ने हुन्छ । एफडिएले भने पनि विश्व स्वास्थ्य संगठनले यसबारेमा भनेको छैन । हामीले संगठनको कुरा मान्छौं ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्ले खोपको असरहरु तथा एन्टिबडी निर्माणबारे अध्ययन गरिराखेको जानकारी गराए । ज्ञवाली भन्छन्, ‘खोपको कुनै समान्य तथा गम्भीर लक्षण आएपनि त्यसको रेकर्ड हामीसँग आउँछ । हामीले हेर्ने गरिराखको छौं ।कोभिसिल्ड, भेरोसेल तथा जोन्सन एन्ड जोन्सनको खोपका बारेमा पनि हामी अध्ययन गरिराखेका छौं ।’ उनले अहिलेसम्म नेपालमा लगाएका खोपका गम्भीर असरहरु नदेखिएको बताउँदै खोपको असरका बारेमा तयार पारिएको अध्ययन एक हप्ताभित्र प्रकाशित गर्ने बताए ।

सोमबार जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत् १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप सहयोग गरेको छ । काठमाडौं उपत्यकाभित्र खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

प्रकाशित : असार ३१, २०७८ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×