कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा कोरोनाका बिरामी भर्ना हुनेको अवस्था के छ ? 

बुनु थारु

काठमाडौँ — निषेधाज्ञा खुकुलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाका बिरामी भर्ना हुने संख्यामा केही मात्रामा बढेको देखिएको छ । सरकारीमा बिरामीहरुको भर्नाको संख्या बढी छ भने निजीमा बिरामी घटेका छन् । 

काठमाडौं उपत्यकामा कोरोनाका बिरामी भर्ना हुनेको अवस्था के छ ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक हेर्ने हो भने उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार २४१ रहेको छ । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ र ललितपुर ८७५ जना सक्रिय संक्रमित छन् ।

मंगलबारको तथ्यांक हेर्ने हो भने ५०० भन्दामाथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, नवलपरासी पूर्व, कास्की, रुपन्देही, सुर्खेत, चितवन , कैलालीसँगै काठमाडौं ,भक्तपुर र ललितपुर रहेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका फोकल पर्सन डा. प्रविन नेपालका अनुसार कोरोनाका बिरामी भर्ना भइरहे पनि ठूलो संख्यामा भने छैनन् । डा. नेपाल भन्छन्,‘पिक भएको बेला २०० बेड चलाउने र नभएको बेला १०० बेड सञ्चालन गर्ने भनेका हौँ । हाल १०० बेड नै प्याक छन् । ’ उनले औसतमा दैनिक ४ देखि ५ जना भर्ना भइरहेको बताउँदै आईसीयू भने भरिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका फोकल पर्सन राम विक्रम अधिकारीले बिरामी भर्नाको अवस्थामा केही बढेको बताए । उनका अनुसार हाल अस्पतालमा कोभिडका ९७ जना बिरामी उपचार गराइरहेका छन् । 'आईसीयू सबै भरिएको छ । साथै जेनेरल वार्डमा ६५ जना भर्ना भएका छन्,' उनले भने । अधिकारीले मृत्युदर पनि कम भइरहेको बताउँदै सरदर दैनिक १४ देखि १५ जना भर्ना हुने गरेकोमा निको हुने पनि त्यति नै संख्या रहेको बताए । पहिलेको जस्तो कोरोनाको बिरामीहरुको चाप एकदम नबढेको र इमरजेन्सीमा पनि फाट्टफुट्ट बिरामीहरु आइनै रहेको उनले जानकारी दिए ।

वीर अस्पतालमा भने बिरामीको चाप उस्तै । ३ हप्ताको आँकडा हेर्दा लगभग बिरामीको संख्या उस्तै रहेको अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले बताए । वीरमा ८० देखि ९० जना बिरामीले उपचार गराइरहेका छन् । वीरका आईसीयू पनि बिरामीले भरिएका छन् । जनरल वार्डमा अक्सिजन चाहिने बिरामी नै भर्ना भएको उनले सुनाए । अस्पतालमा दैनिक ८ देखि १० जना भर्ना हुने र ६ देखि ७ जनाको हाराहारीमा बिरामी निको हुने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जेनेरल वार्ड तथा आईसीयू भरि नै रहेको बताए । उनका अनुसार इमरजेन्सीमा दैनिक १० देखि १५ जना आइरहेका छन् भने ८ देखि १२ जना बिरामी भर्ना भइरहेका छन् ।

पाटन अस्पतालका निर्देशक डा रवि शाक्यले निषेधाज्ञा बढेसँगै बिरामीको संख्यामा केही मात्रामा वृद्धि भएको बताए । उनले भने,‘ बिरामीको भर्ना हुने संख्यामा कम आएको छैन । निषेधाज्ञाको समयमा १२ देखि १५ जना भर्ना हुने गरेकोमा हाल २५ देखि ३० जना भर्ना भइरहेका छन् । ' पाटनका आईसीयू बेडहरु पनि भरिएका छन् । पाटनमा हाल १७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

'अहिले नन कोभिडका बिरामी पनि धेरै बढेका छन् । ३७८ जना नन कोभिडका बिरामीहरु उपचार गराइरहेका होलान् साथै ओपीडीमा आउने बिरामी पनि बढेका छन् । त्यसैले पनि चुनौती थपिएको छ,' उनले भने ।

निजीमा बिरामी घट्दै

सरकारी अस्पतालमा बिरामी भर्ना भइरहँदा निजीमा भने अहिले बिरामीहरुको चाप ह्वात्तै घटेको छ । स्टार अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले हाल ७ जना बिरामीहरु उपचार भइरहेको बताए ।

नेपाल मेडिसिटी अस्पतालका सुपरिटेन्डेन्ट डा. राज राना भन्छन्,‘ निषेधाज्ञाले बिरामी कम भएका थिए । अहिले केही बढेको छ तर पहिलेको जस्तो बिरामी संख्या छैन ।’ उनका अनुसार हाल वार्ड र आईसीयू गरी २२ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

ह्याम्स अस्पताका निर्देशक डा. ज्योतिन्द्र शर्माले पनि पहिलेजस्तो फिभर क्लिनिक तथा इमरजेन्सीमा आउने बिरामी ह्वात्तै घटेको बताए । उनका अनुसार हाल अस्पतालमा ९ जना मात्र बिरामी उपचाररत छन् ।


प्रकाशित : श्रावण ५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?