एमाले स्थायी कमिटी बैठक आइतबार बस्‍ने- समाचार - कान्तिपुर समाचार

एमाले स्थायी कमिटी बैठक आइतबार बस्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए । यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाइएको छ । उनका अनुसाार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको छ ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।

प्रकाशित : श्रावण २, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

वीरबहादुर के फेरि ‘बुद्धु’ बन्ला ?

यतिविधि धमिरा नभएका भए कसैका छातीमा विभेदको भाला रोपिँदा सबैलाई दुख्थ्यो । पीडामा कोही चिच्याउँदा सबैको आँसु चुहिन्थ्यो । समय ‘आधा हर’ हुँदा सबैको मासु आधै हुन्थ्यो । सबैतिर समय धुलिएर उडिरहेको धुलो हुँदैनथ्यो ।
गिरि श्रीस मगर

पूर्वाभासःम यहाँ जुन कथा भन्दैछु, यसको पात्र युगयुगदेखि भोकले जीर्ण–विदीर्ण थियो । 

त्यसैले ऊ, साँझबिहानमा हातमुख जोड्ने मानो चाहन्थ्यो । घाम र झरी ओत्ने एउटा छानो चाहन्थ्यो । धेरै त के पो चाहेको थियो र ? बस् रोगमा ओखतीमुलो होस् । नानीहरूले आफ्ना आँखामा अक्षर–ज्योतिको उज्यालो भर्न पाऊन् । ठूलो भएपछि आफ्नै माटोमा सानोतिनो इलम गर्न पाऊन् ।

ऊ यस्तै केही चाहन्थ्यो । स–साना उसका इच्छा थिए । स–साना उसका सपना थिए । ऊ अर्थात् वीरबहादुर ।

वीरबहादुरले आफ्नो नामलाई सार्थक तुल्याएकै हो । सयौं वर्षदेखि शोषणको दाम्लोले बाँधिएर उत्पीडनको कोर्रा खाइरहेको उसले त्यो दाम्लालाई चुँडालेर वीरता प्रदर्शन गरेकै हो । शासकले कोपर्दा–कोपर्दा सारङ्गी बनेको शरीरलाई पनि आँधीहुरीमा उभ्याएर अघि बढ्दै उसले वीरता देखाएकै हो ।

अँध्यारो सुरुङबाट निस्किएपछि उसको मुटु व्यग्रतापूर्वक धड्किरहेको थियो । उसले सोच्यो–अब ऊ स्वतन्त्र छ । सुरक्षित छ । त्यो स्वतन्त्रता र सुरक्षामा उसले खोजेको गास, बास र कपास सहज छ ।

ऊ दालभातको बारेमा सोँच्दै थियो । कार्ल माक्र्सको मुकुण्डो लगाएर कोही उसको अघि उभिन आइपुग्यो र भन्यो– ‘वीर बहादुर ! दालभात त हिजो पनि खाएकै हो नि ! यत्रो ठूलो क्रान्ति पछि दालभातको किन पीर ? अब त तिमीले ठूलो कुरा सोच्नु पर्छ ।’

त्यो ठूलो कुरा के हो । उसलाई थाहा थिएन ।

माओ, बीपी, पुष्पलाल, गणेशमान, किसुनजी, मदन–आश्रितलगायत अनेक महान् नेताहरूको मुकुण्डो लगाएर अनेकन् खेलाडीहरू वीरबहादुरको अघि उभिन आइपुगे । तिनले वीरबहादुरसँग ठूल्ठला कुरा गरे । विकासका कुरा गरे । समृद्धिका कुरा गरे । आकाश–पातालका कुरा गरे । नयाँ युगको कुरा गरे ।

वीरबहादुरले तिनका कुरा बुझेन किनभने तिनले दालभातका कुरा गरेनन् । तिनले त अजम्मरी ‘अमृत’को कुरा गरे ।

अमृतको कुरा गरेर तिनले वीरबहादुरलाई ‘बुद्धु’ बनाए । मानौं, कवि भूपिको ‘वीर’ अब ‘बुद्धु’ भयो ।

मुकुण्डो लगाएकाहरूले वीरबहादुरलाई छक्काइसकेका थिए । तिनका कालो जादूमा वशीभूत उसको मनमा ‘अमृत’को सपना अंकुरित भइसकेको थियो ।

तर अमुक ईश्वरले घडामा भरेर स्वर्गबाट कुनै अप्सरा हस्ते पठाइदिएकोे अमृत त उसको पहुँचमा थिएन । त्यसैले मुकुण्डाधारीहरूको योजनामा अमृत बनाउने विचार गर्‍यो ।

खोज्दै जाँदा थाहा पायो–जगतमै रहेछन् अमृत तत्व ।

जस्तो कि ? जस्तो कि मह !

मह जीवनका लागि साह्रै पोषणयुक्त र कल्याणकारी । जीवनदायिनी सबै पौष्टिकतायुक्त । हजारौं वर्ष नबिग्रिने । बासी नहुने ।

उसले मह बनाउने विचार गर्‍यो । ऊ सयौं हजारौं घारमा हजारौं लाखौं लिटर मह जम्मा गर्न चाहन्थ्यो ।

ऊ त्यो मह, दुनियालाई बाँड्न चाहन्थ्यो ।

तर मह बनाउनलाई ऊ आफै मौरी थिएन । त्यसैले उसका लागि मह बनाउनु परिश्रमले पहाड उचाल्नु जस्तै थियो । वा, पहाडलाई सम्याएर खेत तुल्याउनु जस्तै थियो ।

उसले हिम्मत हारेन । धेरै मिहिनेतपूर्वक आफ्नै हृदय राखेर उसले रानोमौरी छान्यो । आफ्नै रगत राखेर भालेमौरी बनायो । आफ्नै पसिना मिसाएर कर्मीमौरीहरू बनायो । अनि, मह जम्मा गर्ने जिम्मा दिएर तिनलाई घारमा पठायो । रानोमौरीको वरिपरि गोलबन्द भएर ती घारमा छिरे । ती स्वतन्त्रतापूर्वक चरनमा उडे ।

वीरबहादुरले आफ्नै रामकहानीबाट सिकेको थियो–साधारण जीवनबाट नै असाधारण उर्जा निस्कन्छ । सोँचेको थियो–उसका मौरी पनि २४ किलोमिटर प्रतिघण्टाको दरले उड्ने छन् जसरी एउटा साधारण मौरी उड्न सक्छ । एक सेकेण्डमा दुई सय पटक पखेटा चलाउने छन् जसरी एउटा साधारण मौरीले सक्छ । ती त्यति नै जाँगरिला हुनेछन् जति साधारण मौरी हुन्छन् ।

सोँचेको थियो–आम अस्तित्व नै बलशाली हुन्छ । उसका मौरीले एक पटकमा १० किलो मिटरसम्मको दूरी पार गरेर ५० देखि एक सयसम्म फूलको रस जम्मा गर्नेछन् जसरी आम मौरीले गर्छन् । एक किलो महका लागि ४० लाख फूलको रस लिनेछन् र पृथ्वीको तीन फन्को गर्न सकिने ९० माइल बराबरको यात्रा गर्नेछन् जसरी आम मौरी गर्छन् । ती त्यति नै सिर्जनशील हुनेछन् जति आम मौरी हुन्छन् । त्यति नै अथक र गतिशील हुनेछन् जति आम मौरी हुन्छन् ।

तर बिस्तारै, रानोमौरीलाई अर्को कुनै मौरी, रानो मौरीको सिंहासनमा बस्ने दाउ खोजिरहेछ भन्ने लाग्यो । एउटा घारमा दुईवटा रानो मौरी त असम्भव, अप्राकृतिक र प्रत्युत्पादक कुरा नै थियो । परिणामतः रानो मौरी बिस्तारै आशंकित भयो । आशंकाले अहङ्कारको प्रतिमूर्ति बन्यो । र, बरा ! उसको आकांक्षामा तुसारापात भयो । सपनामा बज्रपात भयो ।

बिस्तारै बिस्तारै घारभित्र शत्रु पक्षका जासुस छिर्न थाले । पुतलीको रूपमा घारमा पसेका ती झुसिलकिरा खासमा मह–शिकारी थिए । झुसिलकिरासँग रानो मौरीले गुप्त मन्त्रणा गर्न थाल्यो । रानोको वरिपरी नझुम्मिने र रानोको स्तुति नगाउने सबै रानोका शत्रु भए । रानोले आफ्ना काल्पनिक शत्रुका विरुद्ध षडयन्त्र र छलछामको गोटी चाल्न थाल्यो ।

क्रमशः रानोले कर्मीमौरीलाई प्रेम गर्न छाड्यो । कामचोर मौरीले घेरिएर बस्न रुचायो । कर्मी मौरीप्रति असहिष्णु भयो । मौरीको गोला आपसी कलहले टुटफुट भयो । छिन्नभिन्न भयो । थोरै जम्मा भएको मह पनि कामचोर मौरी र झुसिलकिराले खाएर सिध्याए ।

रानोमौरीले कर्मीमौरीलाई गतिशून्य बनायो । रानोमाथि प्रश्न उठ्यो । तर प्रश्न उठ्दा उदेक भयो । उदेक के भयो भने रानोमौरीले आफूमाथि प्रश्न उठाउनेहरूका विरुद्ध आफ्ना वरिपरि झुम्मिएका कामचोर मौरीलाई अरिङ्गाल बनेर जाइलाग्ने आदेश दियो ।

वीरबहादुरले हेर्दाहेर्दै कामचोर मौरीका पेट अभिमानले फुलेर चौडा भए । टाउको र आँखा शक्तिको नशाले रनन्न रन्केर ठूला भए । खुट्टा र पखेटा उन्मादले तन्किएर लामा भए । फूलको रस टिप्ने जिब्रो विषालु खील बन्यो ।

वीरबहादुरले विश्वास गरेको मौरीको ठूलो हिस्सा त्यसरी अरिङ्गालमा पतन भयो । अरिङ्गालको बथान यत्रतत्र जो कोहीलाई विषालु खीलले डस्दै अहङ्कारको आकाशमा उड्न थाल्यो । अरिङ्गालले कति पटक त वीरबहादुरकै निधारमा डसेर उसलाई इन्तु न चिन्तु बनायो ।

हेर्दाहेर्दै अझै उदेक भयो । रानोमौरीलाई परिक्रमा गरिबस्ने कामचोर मौरी फूलको खोजीमा निस्किनै छाडे । परागसेचन गरेर उत्पादन प्रक्रियामा भाग लिन छाडे । बरु महाजन र व्यापारीका जुठ्यानमा लडीबुडी गर्न थाले । कमिशनखोर र भ्रष्टले तयार पारेको विषाक्त चास्नीमा डुबुल्की मार्न थाले । चास्नीमा डुबेपछि मोटाएर चिल्लिए । पेट पुटुस्स बाहिर निस्कियो । शरीर सोलोडोलो नरम र सर्लक्क सेतो भयो । चास्नीको तापले झुरो भएको तिनका पखेटा भने चास्नीकै चिपचिपेका कारण यत्रतत्र चप्किएर छुटीगए ।

रानोमौरीका कामचोर मौरी पखेटाविहीन भए । उड्न नसक्ने भए ।

हे बरै ! ती त ठूलाठूला धमिरा भए ।

बिस्तारै रानो मौरी, रानो रहेन । धमिराको सरदार बन्यो । रानोको स्तुतिगानमा रमाउने मौरी यत्रतत्र धमिराका स्वरूपमा देखिन थाले । अनेक संरचनाहरूलाई धुल्याउने धुल्याहाको रूपमा देखिन थाले ।

वीरबहादुरको मह–सपना, आस्था र विश्वासभरि धमिरा सलबलाउन थाले । दुनियाँका सिर्जना र सपना, इच्छा र सम्भावनालाई धुल्याएर धमिराले यत्रतत्र सर्वत्र अहङ्कारको ढिस्को उठाउन थाले । वीरबहादुरको भूगोलभरि धमिरै धमिरा भए ।

वीरबहादुर साँच्चै नै कवि भूपिको ‘बुद्धु’ पात्र बन्यो ।

भोगः

सुनौला मह भण्डार जम्मा गर्न पठाएका मौरीहरू यति विध्वंशक बन्लान् भनी वीरबहादुरले कल्पनाधरि गरेको थिएन । अक्कबक्क वीरबहादुर देख्छ– धमिराले स्वप्नील धरोहरहरूमा विध्वंश–धुलोको ढिस्का उठाइरहेका छन् । ऊ सुन्छ– धमिराको सरदार ती ढिस्कालाई समृद्धिको धरहरा भनिरहेछ । प्रगतिको भिउ–टावर भनिरहेछ ।

वीरबहादुर देख्दैन कर्मीमौरीहरूको एकताबद्ध श्रम र सीप

देख्दैन घारमा सुनौला महको भण्डार ।

देखिनुपर्ने कुरा देखिएको छैन । नदेखिनुपर्ने भने जबर्जस्त रूपमा देखिएको छ ।

वीरबहादुर थक्थकाउँछ –साह्रै अनपेक्षित भयो । मौरीहरू धमिरा भए ! त्यस्तो भयो !

ऊ चिउँडोमा हात राखेर सोच्छ–त्यस्तो नभएको भए, यस्तो कहाँ देखिन्थ्यो होला र ? अग्ला–अग्ला सिंहासनहरू शायद यति कुरुप र जीर्ण देखिने थिएनन् । ज्ञानविज्ञानका किताब धुलिसात् हुने थिएनन् । घोषणापत्र र सिद्धान्तका ठेलीहरू माटोमा परिणत हुने थिएनन् । सर्वत्र विध्वंशको धुलो उड्ने थिएन । यति कुरुप होइन, वर्तमानको अर्कै चित्र हुन्थ्यो । बाहिर त्यही देखिन्थ्यो जे भित्र हुन्थ्यो ।

तर त्यस्तो भयो ! वीरबहादुर सोँच्छ– बाबै ! धमिरा छन् ! सर्वत्र रगरग गरिरहेका छन् !

अनि न ऊ असह्य दुखेर पनि नदुखेजस्तो गरी सहन बाध्य छ । डिलमै आएको आँसुलाई पनि बलात् आँखाभित्रै फर्काउन विवश छ । खुट्टा काटिइसकेपछि पनि दौड प्रतियोगितामा सामेल हुन श्रापित छ । हात काटिइसकेपछि पनि बलात् पटक–पटक ‘स्वस्तिक छाप’ ठोकेर धमिराकै ब्यालेट बक्समा भोट हाल्न अभिशप्त छ ।

यतिविधि धमिरा नभएका भए कसैका छातीमा विभेदको भाला रोपिँदा सबैलाई दुख्थ्यो । पीडामा कोही चिच्याउँदा सबैको आँसु चुहिन्थ्यो । समय ‘आधा हर’ हुँदा सबैको मासु आधै हुन्थ्यो । सबैतिर समय धुलिएर उडिरहेको धुलो हुँदैनथ्यो ।

र, त्यही धुलोले बिझाएर वीरबहादुरको आँखा पोल्दैनथ्यो । छाती पोल्दैनथ्यो । हावा सफा हुन्थ्यो । पानी सफा हुन्थ्यो । मौसम सफा हुन्थ्यो । मौसमको सुन्दर रङ्ग देख्ने आँखा सफा हुन्थ्यो ।

र, सबै सबै छ्याङ्गै देखिन्थे । देखिन्थे–तुइनमा झुण्डिइरहेका नानीहरू देखिन्थे । डुबानमा छट्पटिइरहेका पुछारको देहातहरू देखिन्थे । पहिरोले लछारेका गाउँहरू देखिन्थे । क्रूर बजारले लुटिरहेकाहरूका पीडा र आक्रोश देखिन्थ्यो । वर्षौंदेखि भुइँचालोको खण्डहरमा छट्पटाइरहेको घाउ देखिन्थ्यो ।

देखिन्थे–खोप र उपचारको पर्खाईमा छट्पटिएका बाजेबज्यैको लाइन देखिन्थे । जलिरहेको बाती जस्ता आमाहरू त्यसैमा थपिन्थे । मुगलानमा भासिएका बाबाहरू देखिन्थे । भरिया नानीहरू देखिन्थे । उखुको कोलमा पेलिएका किसान देखिन्थे । आधुनिक मिलमा पिसिएका श्रमिकहरू देखिन्थे । कथित ‘सडक मानवविहीन सहर’ मा भोका नाङ्गा देखिन्थे ।

वीरबहादुर सोँच्छ–धमिरा नभएका भए ती सबै सबै देखिन्थे ।

तर धमिरा छन् । र, माथिदेखि तलसम्म धमिराबाहेक अरु कोही देखिएका छैनन् ।

मौरीबाट धमिरामा परिवर्तनलाई क्रमागत विकास (इभोलुसन) भन्न सकिँदैन । क्रान्ति (रिभोलुसन) त झन् भन्नै सकिन्न । तब के हो यो ? के यो प्रतिक्रान्ति (एन्टी–रिभोलुसन) हो ?

अनेकन् मुकुण्डोधारीहरूबाट ‘बुद्धु’ बनाइएको वीरबहादुरलाई यो कुरा थाहा छैन ।

उसलाई त थाहा छ– यो धमिराले भोग गरिरहेको समय हो । उसका शरीरमा धमिराहरू रगरगाइरहेछन् ।

उसलाई थाहा छ–आफ्नै रामकहानी बिर्सेर चुपचाप बस्यो भने ऊ, धमिराले उसको शरीरलाई मसिनो गरी धुल्याउनेछन् । अन्ततः उसको शरीरलाई माटोको ढिस्कामा परिणत गरिदिनेछन् ।

माटोबाट जन्मेको शरीर बिलाउने त माटोमा नै हो नि ! तर असमयमै माटोको ढिस्को बन्नु वीरबहादुरलाई कुनै हालतमा स्वीकार्य छैन ।

सोँच्छ–मौरीबाट जन्मिएका धमिरा ‘वंशानुगत धमिरा’ भन्दा अनियन्त्रित खतरनाक हुँदा रहेछन् ।

‘वंशानुगत धमिरा’ भन्दा असिमित विध्वंशकारी हुँदा रहेछन् ।

मान्छे–चिन्तनः

वीरबहादुर आफैलाई प्रश्न गर्छ– उसले त्यति मिहिनेतपूर्वक घारमा पठाएका मौरी के साँच्चै नै मौरी थिए ?

एउटा अनिश्चित पश्चाताप, ग्लानि र क्षोभले डस्न थाल्छ उसलाई ।

शारीरिक बनावट, संगठन–संरचना, बासस्थानको बनोट, प्रजनन प्रक्रिया, विकासक्रम र कार्यशैलीमा धेरै समानता हुने भएकाले अस्थायी पखेटावाला धमिरालाई नै उसले मौरी ठानेको पो थियो कि ?

वीरबहादुर आफैले उठाएका प्रश्नहरूले थिचिएको थियो ।

उता किताबमाथि धमिराको आक्रमण सर्वत्र फैलिरहेको थियो । ठीक त्यहीबेला एउटा पुरानो पुस्तकालयमा धमिराले किताब माथि धावा बोल्यो । त्यो एक जीव विज्ञानको किताब थियो । पानाका केही पंक्तिहरू मात्र देखिए । लेखिएको थियो– मौरी र धमिरा दुबै आर्थोपोड्स वर्गका प्रजाति हुन् ।

मतलब समानता !

अरु पनि केही पंक्तिहरू देखिए । त्यसमा लेखिएको थियो– तर मौरी र कमिला हाइमेनोपटेरा उपगणमा पर्छन् । धमिरा र साङ्ला आइसोपटेरामा पर्छन् ।

मतलब असमानता !

धमिरा र साङ्ला ! कस्तो दिगमिग लाग्ने है ?

खासमा वीरबहादुरले घारमा पठाएका धमिरा थिएनन् । ती मौरी नै थिए । र, वीरबहादुर यो कुरामा ढुक्क पनि थियो ।

र, यदि ती मौरी थिए भने उपगण नै फेरिएर धमिरा बन्नु सम्भव छैन । ती खासमा मौरी नै थिए । मौरीको आवरणमा धमिरा थिएनन् ।

तर वीरबहादुरलाई लाग्छ– मौरीबाट धमिरा जन्मनु त उदेकै भयो ! ऊ उदेकको चक्रव्यूहमा रिंगिरहन्छ ।

बरा ! उसलाई थाहा छैन–खासमा उसको उदेक जायज छैन ।

किन उदेकिनु ?

ग्रीकदेखि भारतीय मिथकहरूमा, कोरियनदेखि जापानी लोक कथाहरूमा, चीनिदेखि नेपाली दन्त्यकथाहरूमा देवता श्रापित भएर मान्छे बन्छ । मान्छे श्रापित भएर ढुंगा बन्छ । राजा श्रापित भएर व्वाँसो बन्छ । किशोरी श्रापित भएर कोइली बन्छे । सर्प मान्छे बन्छ । माछो स्त्री बन्छ । आदि । इत्यादि ।

भनेपछि–मौरी किन धमिरा बन्न सक्दैन ?

वीरबहादुरको युग कुनै मिथकीय युगभन्दा फरक त छैन । यस्तो युग जहाँ जे पनि सम्भव हुन सक्छ । मिथकीय युगमा अनेकन मेटामर्फोसिस र जैविक रुपान्तरण सम्भव हुन्छन् । त्यसैले उसले पठाएका मौरीहरू खासमा मौरी भएर पनि धमिरा बनेका थिए । समयक्रममा ‘प्रभु’ले तिनलाई धमिरामा रुपान्तरित हुने श्राप (वरदान ?) दिएको थियो । अन्ततः ती धमिरा भए ।

धमिरा भएपछि तिनले भएभरका काठपात खान थाले । जङ्गल खान थाले । माटो खान थाले । ढंगा खान थाले । नदी खान थाले । ज्ञानविज्ञान र विचार खान थाले । सिद्धान्त, आदर्श र सपना खान थाले ।

वीरबहादुर धमिराको यो अनवरत् भक्षण देखिरहेछ । ऊ अनुमान गर्छ–यो भक्षण साह्रै खतरनाक छ । त्यसैले धमिराबाट मुक्तिको प्रश्न जल्दोबल्दो प्रश्न हो ।

कुनै बेला उसैले बनाएका मौरी आज धमिरा बने । यी धमिरा फेरि मिहिनेती मौरी बन्लान् भन्ने आशा मरिसकेको छ ।

धमिराको विध्वंशले जन्माइरहेको चिन्ताबीच क्लान्त वीरबहादुर आफ्नो हैसियत अनुसार सोँच्छ–अब नयाँ रानो मौरी बनाउनु पर्छ । नयाँ नर मौरी बनाउनु पर्छ । नयाँ कर्मीमौरी जन्माउनु पर्छ ।

धमिराको सरदारलाई लाग्छ– यो चिन्तन आज एक पराजित चिन्तन हो !

तर इतिहासलाई थाहा छ–समय नै मिथक बाँचिरहेको बेला वीरबहादुर पराजित चिन्तन बोकेर धेरै समय हिँड्ने छैन । एकदिन ‘अमृत’ मोह त्यागेर उसको चिन्तन ‘मौरी’ बाट मान्छेमा सर्नेछ ।

मुकुण्डोधारीहरूले वीरबहादुरलाई, के फेरि ‘बुद्धु’ बनाउन सक्नेछन् ?

प्रकाशित : श्रावण २, २०७८ १५:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×